हिमाली क्षेत्रका जलवायु चुनौती उठाउन परराष्ट्र मन्त्री खनाल कोप–३१ मा सहभागी हुँदै - Chaitanya News
  • 2026-11-06
  • 17:59:03
  • शुक्रबार,कार्तिक २१, २०८३
  • हिमाली क्षेत्रका जलवायु चुनौती उठाउन परराष्ट्र मन्त्री खनाल कोप–३१ मा सहभागी हुँदै

    हिमाली क्षेत्रका जलवायु चुनौती उठाउन परराष्ट्र मन्त्री खनाल कोप–३१ मा सहभागी हुँदै

    काठमाडौँ– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र र हिमनदीमा परेको प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारीसहित परराष्ट्र मन्त्री शिशिर खनाल शनिबार टर्किए प्रस्थान गर्ने भएका छन्।

    संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खनाल टर्किए जान लागेका हुन्।

    परराष्ट्र मन्त्रालयका अनुसार टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा मन्त्री खनालले नेपालको प्रतिनिधित्व गर्नेछन्। उनले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन पूर्ण बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, नोभेम्बर ११ र १२ मा हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्।

    सम्मेलनमा नेपालले हिमाली क्षेत्र र हिमनदीमा जलवायु परिवर्तनले निम्त्याएका चुनौती, विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता उठाउने तयारी गरेको छ।

    यसैक्रममा नेपालसहित ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा पर्वतीय क्षेत्रका साझा चुनौतीबारे उच्चस्तरीय कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा हिमनदी तथा हिमक्षेत्रको संरक्षण, तापक्रम वृद्धिबाट सिर्जित जोखिम, पर्वतीय समुदायको उत्थानशीलता र दिगो वित्तीय व्यवस्थापनबारे छलफल हुनेछ।

    ‘पर्वतीय एजेन्डालाई अघि बढाउने : हिमनदी, हिमक्षेत्र, जलवायु जोखिमप्रतिको उत्थानशीलता, साझा जिम्मेवारी र दिगो वित्तीय व्यवस्थापन’ विषयक कार्यक्रममा मन्त्री खनाल सहभागी हुने मन्त्रालयले जनाएको छ।

    खनालले सम्मेलनका अन्य उच्चस्तरीय बैठक तथा विषयगत कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। साथै विभिन्न मुलुकका समकक्षी मन्त्री तथा विशिष्ट प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

    नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सञ्जय आचार्य र कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित सरकारी अधिकारीहरू सहभागी हुनेछन्।

    संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वार्षिक सम्मेलनमा हरितगृह ग्यास उत्सर्जन कटौती, जलवायु अनुकूलन, जलवायु वित्त, ऊर्जा रूपान्तरण तथा जलवायुजन्य क्षति र नोक्सानीका विषयमा सदस्य राष्ट्रहरूबीच छलफल हुने गर्दछ। यस वर्षको सम्मेलनले जलवायुसम्बन्धी प्रतिबद्धता कार्यान्वयनलाई प्राथमिकता दिएको छ।

    जलवायु परिवर्तनको प्रभावबाट प्रभावित नेपालजस्ता पर्वतीय मुलुकका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग, हिमनदी संरक्षण र विपद् जोखिम व्यवस्थापनका विषय सम्मेलनमा महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।

    मन्त्री खनाल सम्मेलनका निर्धारित कार्यक्रम सम्पन्न गरी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।