विद्युत निर्यातबाट ३० अर्ब आम्दानी गर्ने सरकारको लक्ष्य, भारत र बंगलादेशमा बिक्री बढ्दै - Chaitanya News
  • 2026-11-06
  • 18:36:06
  • शुक्रबार,कार्तिक २१, २०८३
  • विद्युत निर्यातबाट ३० अर्ब आम्दानी गर्ने सरकारको लक्ष्य, भारत र बंगलादेशमा बिक्री बढ्दै

    विद्युत निर्यातबाट ३० अर्ब आम्दानी गर्ने सरकारको लक्ष्य, भारत र बंगलादेशमा बिक्री बढ्दै

    काठमाडौँ– नेपालले चालु आर्थिक वर्षमा भारत र बंगलादेशमा विद्युत निर्यात गरेर ३० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा करिब २९ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरेको नेपालले यस वर्ष निर्यात परिमाण र आम्दानी दुवै बढाउने अपेक्षा गरेको हो ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा हालसम्म करिब २४ देखि २५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पछिल्ला तीन–चार महिनायता प्रत्येक महिना औसत पाँच अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भइरहेको जानकारी दिएका छन् ।

    उनका अनुसार यस वर्ष नदीमा पानीको बहाव राम्रो भएकाले जलविद्युत उत्पादनमा वृद्धि भएको छ । भोटेकोसीमा आएको बाढीले केही आयोजनामा क्षति पुर्‍याए पनि अनुकूल वर्षाका कारण विद्युत उत्पादन बढ्न सहयोग पुगेको छ । यसले निर्यात आम्दानीसमेत बढाउने प्राधिकरणको अपेक्षा छ ।

    नेपालले आन्तरिक माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत भारत र बंगलादेशमा बिक्री गर्दै आएको छ । भारतमा द्विपक्षीय सम्झौताअन्तर्गत हरियाणा र बिहार राज्यमा विद्युत बिक्री गरिन्छ भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    यसैगरी, बंगलादेशसँग भएको पाँचवर्षीय सम्झौताअनुसार नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत निर्यात गर्ने व्यवस्था छ । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते उक्त सम्झौता भएको थियो ।

    तर गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएपछि बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको थियो । उक्त घटनाले भारतको हरियाणा राज्यतर्फ हुने विद्युत निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो ।

    बाढीबाट प्रभावित आयोजनाको विकल्पमा अन्य आयोजनाबाट उत्पादित विद्युत निर्यात गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत भारतको हरियाणा र बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि केही दिनअघिदेखि निर्यात पुनः सुरु भएको श्रेष्ठले बताए ।

    उनका अनुसार विपद्का कारण केही जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुगे पनि वैकल्पिक आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको ऊर्जा व्यापारका लागि महत्वपूर्ण उपलब्धि हो ।

    प्राधिकरणले यस वर्ष जलविद्युत उत्पादन अनुकूल रहेकाले भारत र बंगलादेश दुवैतर्फ विद्युत बिक्री बढ्ने विश्वास गरेको छ । गत वर्षको २९ अर्ब रुपैयाँको निर्यात आम्दानीलाई उछिन्दै चालु आर्थिक वर्षमा ३० अर्ब रुपैयाँभन्दा बढीको विद्युत निर्यात गर्ने लक्ष्य प्राधिकरणको छ ।

    विद्युत उत्पादनमा हुने वृद्धि र क्षेत्रीय बजारमा निर्यातको दायरा विस्तार हुँदै जाँदा नेपालको अतिरिक्त विद्युत व्यवस्थापनमा सहजता आउने तथा ऊर्जा व्यापारबाट हुने आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ ।