मिलरको अविजित ९३ रन पनि कर्णालीलाई जिताउन असफल, सुदूरपश्चिम ३९ रनले विजयी - Chaitanya News
  • 2026-11-06
  • 17:18:14
  • शुक्रबार,कार्तिक २१, २०८३
  • मिलरको अविजित ९३ रन पनि कर्णालीलाई जिताउन असफल, सुदूरपश्चिम ३९ रनले विजयी

    मिलरको अविजित ९३ रन पनि कर्णालीलाई जिताउन असफल, सुदूरपश्चिम ३९ रनले विजयी

    काठमाडौं– दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै विस्फोटक ब्याटिङ गर्दै अविजित ९३ रन बनाए पनि कर्णाली याक्सले जित निकाल्न सकेन । शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।

    सुदूरपश्चिमले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनमै सीमित भयो। कर्णालीको ब्याटिङमा मिलर एक्लैले संघर्षपूर्ण प्रदर्शन गरे पनि अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली हार बेहोर्न बाध्य भयो।

    मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित नटआउट ९३ रन बनाए। उनलाई दीपक डुम्रेले १८ रन जोड्दै केही साथ दिए। तर अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

    सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायके र अविनाश बोहराले समान एक विकेट हात पारे।

    यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

    सुदूरपश्चिमको सुरुवात राम्रो रह्यो। ओपनर सैफ अली जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। विनोदले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए भने जैबले २४ बलमा ४ चौका र एक छक्काको मद्दतमा ३५ रन जोडे।

    त्यसपछि ब्रान्डन म्याकमुलेनले २४ र इशान पाण्डेले २३ रनको योगदान दिए। कप्तान दीपेन्द्र सिंह ऐरीले १० तथा आरिफ शेखले ११ रन बनाए।

    अन्तिम ओभरहरूमा थरिन्दु रत्नायके र स्कट कुगेलेइनले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। रत्नायकेले १२ बलमा ३ चौका र एक छक्कासहित अविजित २२ रन बनाए। कुगेलेइनले ६ बलमा २ चौका प्रहार गर्दै नटआउट १३ रन जोडे। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा मात्रै ५७ रन जोडेको थियो।

    कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट हात पारे।

    यस जितसँगै पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेल खेलेको कर्णाली भने लगातार दोस्रो हारपछि चार अंकसहित पाँचौँ स्थानमा झरेको छ।