काठमाडौँ– साताको कारोबारमा सेयर बजारमा झिनो सुधार देखिएको छ। दिनभर उतारचढावपूर्ण रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अन्तिम समयमा सम्हालिँदै २.६४ अङ्कले बढेर २६५५.२२ बिन्दुमा पुगेर बन्द भएको छ।
कारोबारको मध्याह्नतिर २६६२ बिन्दुसम्म उक्लिएको बजार त्यसपछि केही दबाबमा परेको थियो। यद्यपि, अन्तिम समयमा भएको सुधारले बजारलाई हरियो अवस्थामा बन्द गराएको हो।
आज बजारमा ३३६ वटा स्क्रिप्सको कारोबार भएको छ। कुल ३३ हजार २१५ वटा कारोबारमार्फत १ करोड ७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा बढ्ने कम्पनीको संख्या घट्नेको तुलनामा बढी देखिएको छ। आज १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटाको घटेको छ भने १४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
उपसमूहतर्फ अधिकांश समूहमा सुधार देखिएको छ भने अन्य समूहमा सामान्य गिरावट आएको छ।
आजको कारोबारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स सर्वाधिक कमाउने कम्पनी बनेको छ। कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता १ हजार १९२ रुपैयाँ पुगेको छ। अन्य कम्पनीको सेयर मूल्यमा भने एकल अङ्कको उतारचढाव देखिएको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।