सुदूरपश्चिमले कर्णालीसामु राख्यो १७७ रनको लक्ष्य - Chaitanya News
  • 2026-11-06
  • 15:19:28
  • शुक्रबार,कार्तिक २१, २०८३
  • सुदूरपश्चिमले कर्णालीसामु राख्यो १७७ रनको लक्ष्य

    सुदूरपश्चिमले कर्णालीसामु राख्यो १७७ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको हो।

    सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाउने क्रममा ओपनर सैफ अली जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे। विनोदले २२ बलमा २७ रन बनाउँदा जैबले २४ बलमा ४ चौका र १ छक्कासहित ३५ रनको योगदान दिए।

    त्यसपछि भने सुदूरपश्चिमले लगातार विकेट गुमाउन पुग्यो। ब्राण्डन म्याकमुलेनले १६ बलमा २४ तथा इशान पाण्डेले १३ बलमा ३ छक्कासहित २३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी १० र आरिफ शेख ११ रनमा पवेलियन फर्किए।

    अन्तिम ओभरहरूमा भने सुदूरपश्चिमले आक्रामक ब्याटिङ गर्दै स्कोर बढायो। थरिन्द्र रत्नायकेले १२ बलमा ३ चौका र १ छक्काको मद्दतमा अविजित २२ रन बनाए। त्यस्तै स्कट कुगेलेइनले ६ बलमा २ चौकासहित अविजित १३ रन जोडे।

    सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा मात्रै ५७ रन जोड्दै कर्णालीसामु चुनौतीपूर्ण लक्ष्य खडा गरेको हो।

    कर्णालीका लागि मार्क वाटले सर्वाधिक २ विकेट लिए। नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक–एक विकेट हात पारे। अब १७७ रनको लक्ष्य पछ्याउँदै कर्णाली याक्सले जवाफी ब्याटिङ गर्नेछ।