विपद् व्यवस्थापनको प्रभावकारिताका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा डा. उप्रेतीको जोड - Chaitanya News
  • 2026-11-06
  • 14:58:25
  • शुक्रबार,कार्तिक २१, २०८३
  • विपद् व्यवस्थापनको प्रभावकारिताका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा डा. उप्रेतीको जोड

    विपद् व्यवस्थापनको प्रभावकारिताका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा डा. उप्रेतीको जोड

    काठमाडौँ–  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि नै तयारी र क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।

    ललितपुरमा शुक्रबार आयोजित ‘राइजिङ फोरम द रोयर’ कार्यक्रममा बोल्दै उनले विपद्का बेला तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन वडा र गाउँपालिकास्तरका विपद् व्यवस्थापन समितिहरू सक्षम र सक्रिय हुनुपर्नेमा जोड दिए।

    उनका अनुसार विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी स्थानीय तहबाटै सुरु हुनुपर्छ। स्थानीय तहले व्यवस्थापन गर्न सक्ने खालका विपद्का लागि आवश्यक अधिकार, स्रोत र साधन उपलब्ध गराउँदै अधिकारको विकेन्द्रीकरण गर्नुपर्ने उनको भनाइ छ।

    डा. उप्रेतीले विपद् आएको पहिलो सातालाई खोज, उद्धार र मानव जीवनको रक्षामा केन्द्रित गर्नुपर्ने उल्लेख गरे। उनले विगतका विपद्का अनुभव सुनाउँदै सडक सञ्जाल अवरुद्ध भएका कठिन भूगोलमा समेत हेलिकप्टरको प्रयोग गरेर १३ हजार ५०० भन्दा बढी मानिसको ज्यान बचाउन सफल भएको जानकारी दिए।

    राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले सुरुदेखि नै सहजीकरण गरेको बताउँदै उनले प्रारम्भिक पाँच दिनमै एसएमएस र ह्वाट्सएपमार्फत अनुमति दिने व्यवस्था गरिएको बताए। रसुवामा सडक सम्पर्क विच्छेद भएपछि नुवाकोट हुँदै हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याउनुपरेको उनको भनाइ थियो।

    उनले विपद्का बेला राहतको नाममा अनावश्यक गतिविधि गर्ने र राहत पर्यटनलाई प्रोत्साहन गर्ने प्रवृत्ति नियन्त्रण गर्दै नेपालमा लामो समयदेखि कार्यरत तथा समाज कल्याण परिषद्मा दर्ता भएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राहत वितरणमा सहजीकरण गरिएको पनि स्पष्ट पारे।

    विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच जिम्मेवारी र समन्वय स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उप्रेतीले स्थानीय तहको क्षमताभन्दा ठूलो विपद् आएमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी विपद् व्यवस्थापन ऐनले स्पष्ट गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए।

    उनले कठिन परिस्थितिमा अहोरात्र खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गर्दै विपद् व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थालाई व्यवहारमा उतार्न नीति निर्माता र सम्बन्धित निकायलाई आग्रह गरे।

    विगतका विपद्बाट प्राप्त मुख्य सिकाइ नै स्थानीय तहको विपद् व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउनु रहेको उल्लेख गर्दै उनले विपद् सामना गर्न पूर्वतयारी, सक्षम समिति र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा राखे।