यू–१९ एसिया कपमा नेपालको खराब सुरुवात, भारतसँग लज्जास्पद हार - Chaitanya News
  • 2026-11-06
  • 16:47:44
  • शुक्रबार,कार्तिक २१, २०८३
  • यू–१९ एसिया कपमा नेपालको खराब सुरुवात, भारतसँग लज्जास्पद हार

    यू–१९ एसिया कपमा नेपालको खराब सुरुवात, भारतसँग लज्जास्पद हार

    काठमाडौं– यू–१९ एसिया कप क्रिकेटमा नेपालको सुरुवात निराशाजनक बनेको छ। शुक्रबार भएको समूह ‘ए’ को खेलमा भारतले नेपाललाई १० विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

    नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो। भारतका आर्यवीर सहवाग र कप्तान लक्ष्य रायचन्दानीले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो। नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ९३ बलमा एक चौका र एक छक्का प्रहार गरे। त्यस्तै, आशिष लुहारले २९ तथा निरजकुमार यादवले २० रन बनाए।

    नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा भारतका आर्यवीर सहवागले अविजित ७० रन बनाए। उनले ५२ बलमा सात चौका र चार छक्का प्रहार गरे। कप्तान लक्ष्य रायचन्दानीले ६३ बलमा सात चौकासहित अविजित ५३ रन जोडे।

    दुवै ब्याटरले पहिलो विकेटका लागि १२९ रनको अविजित साझेदारी गर्दै भारतलाई जितसम्म पुर्‍याए। भारतीय ब्याटरविरुद्ध नेपाली बलर प्रभावहीन देखिए। कुनै पनि नेपाली बलरले विकेट लिन सकेनन्।

    यस जितसँगै भारतले समूह चरणमा दुई अंक जोडेको छ। पहिलो खेलमै पराजित भएको नेपालको आगामी यात्रा भने चुनौतीपूर्ण बनेको छ। नेपालले अब समूह चरणमा यूएई र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।