विश्वकर्मा पूजाको अवसरमा चैतन्यमा अन्तर्राष्ट्रियस्तरीय फुटसल उद्घाटन - Chaitanya News
  • 2026-09-17
  • 18:36:31
  • बिहिबार,आश्विन ०१, २०८३
  • विश्वकर्मा पूजाको अवसरमा चैतन्यमा अन्तर्राष्ट्रियस्तरीय फुटसल उद्घाटन

    विश्वकर्मा पूजाको अवसरमा चैतन्यमा अन्तर्राष्ट्रियस्तरीय फुटसल उद्घाटन

    धनगढी-चैतन्य पाठशाला धनगढीले विश्वकर्मा पूजाको अवसर पारेर चैतन्य लाईफ स्किल ल्यावमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरीय फुटसलको उद्घाटन गरेको छ । फुटसलको उद्घाटनसँगै आजदेखि उक्त फुटसल पूर्ण रूपमा सञ्चालनमा आएको विद्यालयले जनाएको छ ।

    विद्यार्थी तथा युवाहरूलाई खेलकुदसँग जोड्दै शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्यले अत्याधुनिक सुविधासहित फुटसल निर्माण गरिएको विद्यालयको भनाइ छ । अध्ययनसँगै खेलकुदलाई पनि शिक्षाको महत्वपूर्ण अंगका रूपमा अघि बढाउने उद्देश्यअनुसार फुटसल सञ्चालनमा ल्याइएको हो ।

    विश्वकर्मा पूजाको अवसरमा आयोजित विशेष कार्यक्रममा फुटसलको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटनसँगै चैतन्य पाठशालाको खेलकुद पूर्वाधारमा थप महत्वपूर्ण उपलब्धि थपिएको र अन्तर्राष्ट्रियस्तरको मापदण्डलाई ध्यानमा राखेर निर्माण गरिएको फुटसलमा विद्यार्थीहरूले नियमित प्रशिक्षण, अभ्यास तथा विभिन्न खेलकुद गतिविधि सञ्चालन गरिने साथै विद्यालयका अतिरिक्त बाह्य खेलाडी तथा समूहहरूले समेत आवश्यक प्रक्रियामार्फत फुटसलको प्रयोग गर्न सक्ने व्यवस्था गरिने चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

    चैतन्य पाठशालाले पछिल्लो समय शैक्षिक गतिविधिसँगै खेलकुद, सिर्जनात्मकता, नेतृत्व विकास र व्यावहारिक शिक्षालाई समेत प्राथमिकता दिँदै आएको छ । नयाँ फुटसलको सञ्चालनले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै प्रतिभावान खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा विद्यालयले गरेको छ ।

    विद्यालयका अनुसार फुटसललाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्दै विद्यार्थीको प्रतिभा पहिचान, प्रशिक्षण तथा विभिन्न प्रतियोगिताका लागि आवश्यक वातावरण तयार गरिने र यसले विद्यालयमा अध्ययनरत विद्यार्थी मात्र नभई स्थानीय खेलप्रेमीका लागि समेत नयाँ खेलकुद अवसर सिर्जना गर्ने विश्वास गरिएको अध्यक्ष जोशीको भनाई रहेको छ ।

    विश्वकर्मा पूजाको शुभ अवसरमा नयाँ खेलकुद पूर्वाधार सञ्चालनमा ल्याउन पाउँदा विद्यालय परिवार उत्साहित बनेको र चैतन्यले शिक्षा र संस्कारसँगै खेलकुदलाई पनि विद्यार्थीको समग्र विकासको आधारका रूपमा अघि बढाउदै आएको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले जनाएका छन् ।


    साथै पाठशालाले विद्यार्थीको वहुआयामिक व्यक्तित्व विकास र वृहत अवसरका लागि स्विमिङपूल, स्केट पार्क, चैतन्य लाईफ स्किल ल्याव, चैतन्य भोकेशनल ल्याव र चैतन्य स्पोर्टस एकेडेमि पनि स्थापन गरेको छ ।