परदेशमा रहेका बुवालाई छोराको ऐतिहासिक उपहारः जब शिवले बुवालाई अधिकृत भएको सुनाए - Chaitanya News
  • 2026-04-28
  • 16:56:23
  • मंगलबार,बैशाख १५, २०८३
  • परदेशमा रहेका बुवालाई छोराको ऐतिहासिक उपहारः जब शिवले बुवालाई अधिकृत भएको सुनाए

    परदेशमा रहेका बुवालाई छोराको ऐतिहासिक उपहारः जब शिवले बुवालाई अधिकृत भएको सुनाए

    काठमाडौँ– भनिन्छ, सपना देख्नेहरूको सहरमा सबैभन्दा सुन्दर सपना ती हुन्, जसले परिवारको वर्षौँदेखिको दुखलाई एकै झट्कामा खुसीमा बदलिदिन्छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का शिव सुनारको कथा पनि ठ्याक्कै त्यस्तै छ । १० वर्षभन्दा बढी समयदेखि बुवा खाडीको प्रचण्ड गर्मीमा पसिना बगाइरहँदा, काठमाडौँमा सङ्घर्ष गरिरहेका छोरा शिवले एउटा यस्तो उपहार तयार पारे, जसले सात समुद्र पारि रहेका बुवाको सारा थकान मेटाइदियो ।

    शिव सुनार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रशासन सेवा (तह–६) मा देशभरबाट १ नम्बर मा नाम निकाल्न सफल भएका छन् । यो सफलता केवल एउटा सरकारी जागिर मात्र होइन, यो त एउटा मध्यम वर्गीय परिवारको सपना, बुवाको त्याग र एक युवाको अनवरत मेहेनतको प्रतिफल हो।

    शिवको बाल्यकाल नुवाकोटको ग्रामीण परिवेशमा बित्यो । गाउँकै सरकारी विद्यालयबाट शिक्षा आर्जन गरेका उनले कक्षा १० सम्मको अध्ययन त्यहीँ पूरा गरे । सरकारी स्कुलमा पढे पनि उनको पढाइप्रतिको लगाव भने असाधारण थियो । एसएलसीमा उनले आफ्नो विद्यालय, पालिका र सरकारी विद्यालयहरूमध्ये जिल्लामै उत्कृष्ट स्थान (डिस्ट्रिक्ट टप) हासिल गरे।

    पढाइमा म सानैदेखि अलि गम्भीर थिएँ, तर भविष्यमा के बन्ने भन्ने स्पष्ट मार्गचित्र थिएन, शिवले भने । एसएलसीपछि उच्च शिक्षाका लागि उनी काठमाडौँ छिरे । एउटा मध्यम वर्गीय परिवारका लागि राजधानीको खर्च धान्न सजिलो थिएन । त्यसैले उनले घरबाट पैसा माग्नुको साटो आफैँ केही गर्ने निर्णय गरे ।

    काठमाडौँ आएपछि उनले आफ्नो जीविकोपार्जनका लागि विभिन्न निजी क्षेत्रमा काम गरे । मैले सानैदेखि काम गर्न थालेँ । कहिले सञ्चार क्षेत्र त कहिले अन्य निजी कम्पनीहरूमा,उनी भन्छन् । रेडियो अन्नपूर्णमा कार्यरत रहँदा उनलाई सहकर्मी लक्ष्मी परियारले लोकसेवाको बाटो देखाएकी थिइन् ।

    आफ्नो खर्च आफैँ जुटाउँदै, काम र पढाइलाई सँगै लैजानु शिवका लागि कम चुनौतीपूर्ण थिएन । तर उनको मनमा एउटै कुरा खेलिरहन्थ्यो, बुवा परदेशमा हुनुहुन्छ, उहाँको सपना पूरा गर्नुछ र नेपालमै बसेर केही गरेर देखाउनु छ ।

    बुवाको पसिना र छोराको सङ्कल्प

    शिवका बुवा लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा कार्यरत हुनुहुन्छ । परिवारको उज्वल भविष्यका लागि बुवाले परदेशमा बगाएको पसिना नै शिवका लागि ऊर्जाको मुख्य स्रोत बन्यो ।

    बुवाले परदेशमा दुःख गरिरहँदा मलाई नेपालमा बसेर केही ठुलो उपलब्धि हासिल गर्नु थियो, शिव भन्छन् । उनी बुवालाई अब परदेशको दुःखबाट मुक्त गर्न चाहन्थे । र, त्यसका लागि उनले रोजेको बाटो थियो, लोकसेवा ।

    सफलताको सिंढीः तह–४ देखि तह–६ सम्म

    शिवको लोकसेवा यात्रा एकै पटकमा सफल भएको भने होइन । सुरुमा उनले नायब सुब्बाको परीक्षा दिएका थिए, तर गणितमा राम्रो भए पनि समय व्यवस्थापन गर्न नसक्दा सफल हुन सकेनन् । तर हार मान्ने उनको स्वभाव थिएन ।

    नायब सुब्बामा असफल भएको १७ दिनपछि नै खाद्य संस्थान (अहिलेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी) को परीक्षा थियो। उनले रातदिन नभनी मेहेनत गरे र चौथो तहमा नाम निकाल्न सफल भए । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए।

    त्यसपछि उनले स्नातक तह पूरा गरे र पाँचौँ तहमा पनि सफल भए । तर उनको लक्ष्य अझै माथि थियो । अन्ततः उनले अधिकृत स्तरको (तह–६( परीक्षामा देशभरबाट पहिलो स्थान हासिल गरेर आफ्नो क्षमता प्रमाणित गरे।

    जब नतिजा आयो र शिवको नाम १ नम्बरमा देखियो, उनको खुसीको सीमा रहेन । यो सफलता मेरो मात्र होइन, यो मेरो परिवार, मेरा गुरुहरू र मलाई विश्वास गर्ने सबैको जित हो,उनी भन्छन् ।

    उनले यो उपहार आफ्ना बुवालाई समर्पित गरेका छन् । वर्षौँदेखि परदेशमा दुःख गरिरहेका बुवाका लागि छोरा अधिकृत हुनु र त्यो पनि देशभरमै पहिलो हुनुभन्दा ठुलो गर्वको कुरा अरू के हुन सक्छ र ?

    मेहेनतको कुनै विकल्प छैन । यदि तपाईँसँग स्पष्ट लक्ष्य र त्यसलाई प्राप्त गर्ने दृढ इच्छाशक्ति छ भने, अभावले तपाईँको बाटो छेक्न सक्दैन,उनी थप्छन्, परदेशमा रहेका बुवाहरूको सपना पूरा गर्न हामी युवाहरूले नेपालमै केही गरेर देखाउनुपर्छ।