काठमाडौँ– भनिन्छ, सपना देख्नेहरूको सहरमा सबैभन्दा सुन्दर सपना ती हुन्, जसले परिवारको वर्षौँदेखिको दुखलाई एकै झट्कामा खुसीमा बदलिदिन्छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का शिव सुनारको कथा पनि ठ्याक्कै त्यस्तै छ । १० वर्षभन्दा बढी समयदेखि बुवा खाडीको प्रचण्ड गर्मीमा पसिना बगाइरहँदा, काठमाडौँमा सङ्घर्ष गरिरहेका छोरा शिवले एउटा यस्तो उपहार तयार पारे, जसले सात समुद्र पारि रहेका बुवाको सारा थकान मेटाइदियो ।
शिव सुनार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रशासन सेवा (तह–६) मा देशभरबाट १ नम्बर मा नाम निकाल्न सफल भएका छन् । यो सफलता केवल एउटा सरकारी जागिर मात्र होइन, यो त एउटा मध्यम वर्गीय परिवारको सपना, बुवाको त्याग र एक युवाको अनवरत मेहेनतको प्रतिफल हो।
शिवको बाल्यकाल नुवाकोटको ग्रामीण परिवेशमा बित्यो । गाउँकै सरकारी विद्यालयबाट शिक्षा आर्जन गरेका उनले कक्षा १० सम्मको अध्ययन त्यहीँ पूरा गरे । सरकारी स्कुलमा पढे पनि उनको पढाइप्रतिको लगाव भने असाधारण थियो । एसएलसीमा उनले आफ्नो विद्यालय, पालिका र सरकारी विद्यालयहरूमध्ये जिल्लामै उत्कृष्ट स्थान (डिस्ट्रिक्ट टप) हासिल गरे।
पढाइमा म सानैदेखि अलि गम्भीर थिएँ, तर भविष्यमा के बन्ने भन्ने स्पष्ट मार्गचित्र थिएन, शिवले भने । एसएलसीपछि उच्च शिक्षाका लागि उनी काठमाडौँ छिरे । एउटा मध्यम वर्गीय परिवारका लागि राजधानीको खर्च धान्न सजिलो थिएन । त्यसैले उनले घरबाट पैसा माग्नुको साटो आफैँ केही गर्ने निर्णय गरे ।
काठमाडौँ आएपछि उनले आफ्नो जीविकोपार्जनका लागि विभिन्न निजी क्षेत्रमा काम गरे । मैले सानैदेखि काम गर्न थालेँ । कहिले सञ्चार क्षेत्र त कहिले अन्य निजी कम्पनीहरूमा,उनी भन्छन् । रेडियो अन्नपूर्णमा कार्यरत रहँदा उनलाई सहकर्मी लक्ष्मी परियारले लोकसेवाको बाटो देखाएकी थिइन् ।
आफ्नो खर्च आफैँ जुटाउँदै, काम र पढाइलाई सँगै लैजानु शिवका लागि कम चुनौतीपूर्ण थिएन । तर उनको मनमा एउटै कुरा खेलिरहन्थ्यो, बुवा परदेशमा हुनुहुन्छ, उहाँको सपना पूरा गर्नुछ र नेपालमै बसेर केही गरेर देखाउनु छ ।
बुवाको पसिना र छोराको सङ्कल्प
शिवका बुवा लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा कार्यरत हुनुहुन्छ । परिवारको उज्वल भविष्यका लागि बुवाले परदेशमा बगाएको पसिना नै शिवका लागि ऊर्जाको मुख्य स्रोत बन्यो ।
बुवाले परदेशमा दुःख गरिरहँदा मलाई नेपालमा बसेर केही ठुलो उपलब्धि हासिल गर्नु थियो, शिव भन्छन् । उनी बुवालाई अब परदेशको दुःखबाट मुक्त गर्न चाहन्थे । र, त्यसका लागि उनले रोजेको बाटो थियो, लोकसेवा ।
सफलताको सिंढीः तह–४ देखि तह–६ सम्म
शिवको लोकसेवा यात्रा एकै पटकमा सफल भएको भने होइन । सुरुमा उनले नायब सुब्बाको परीक्षा दिएका थिए, तर गणितमा राम्रो भए पनि समय व्यवस्थापन गर्न नसक्दा सफल हुन सकेनन् । तर हार मान्ने उनको स्वभाव थिएन ।
नायब सुब्बामा असफल भएको १७ दिनपछि नै खाद्य संस्थान (अहिलेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी) को परीक्षा थियो। उनले रातदिन नभनी मेहेनत गरे र चौथो तहमा नाम निकाल्न सफल भए । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए।
त्यसपछि उनले स्नातक तह पूरा गरे र पाँचौँ तहमा पनि सफल भए । तर उनको लक्ष्य अझै माथि थियो । अन्ततः उनले अधिकृत स्तरको (तह–६( परीक्षामा देशभरबाट पहिलो स्थान हासिल गरेर आफ्नो क्षमता प्रमाणित गरे।
जब नतिजा आयो र शिवको नाम १ नम्बरमा देखियो, उनको खुसीको सीमा रहेन । यो सफलता मेरो मात्र होइन, यो मेरो परिवार, मेरा गुरुहरू र मलाई विश्वास गर्ने सबैको जित हो,उनी भन्छन् ।
उनले यो उपहार आफ्ना बुवालाई समर्पित गरेका छन् । वर्षौँदेखि परदेशमा दुःख गरिरहेका बुवाका लागि छोरा अधिकृत हुनु र त्यो पनि देशभरमै पहिलो हुनुभन्दा ठुलो गर्वको कुरा अरू के हुन सक्छ र ?
मेहेनतको कुनै विकल्प छैन । यदि तपाईँसँग स्पष्ट लक्ष्य र त्यसलाई प्राप्त गर्ने दृढ इच्छाशक्ति छ भने, अभावले तपाईँको बाटो छेक्न सक्दैन,उनी थप्छन्, परदेशमा रहेका बुवाहरूको सपना पूरा गर्न हामी युवाहरूले नेपालमै केही गरेर देखाउनुपर्छ।