ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा पूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त - Chaitanya News
  • 2026-06-12
  • 18:40:19
  • शुक्रबार,जेठ २९, २०८३
  • ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा पूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त

    ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा पूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त

    काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्य (स्वतन्त्र सञ्चालक) मा पूर्व सचिव एवं पूर्व आयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छिन्।

    आज (शुक्रबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहबीच सञ्चालक समितिमा स्वागत गरेको बैंकले जनाएको छ।

    सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव हासिल गरेकी भट्टराईले नेपाल सरकारका विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन्। उनी राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त हुन भने नेपाल सरकारको सचिवका रूपमा समेत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्।

    भट्टराईले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायमा रही काम गरेको अनुभव छ।

    उनले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छिन्। साथै अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एन्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट नन–प्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेकी छिन्।