रास्वपा सांसद कार्कीको प्रश्न:‘पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ ? गोठगाउँमा छ कि विराटनगरमा?’ - Chaitanya News
  • 2026-06-12
  • 18:40:18
  • शुक्रबार,जेठ २९, २०८३
  • रास्वपा सांसद कार्कीको प्रश्न:‘पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ ? गोठगाउँमा छ कि विराटनगरमा?’

    रास्वपा सांसद कार्कीको प्रश्न:‘पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ ? गोठगाउँमा छ कि विराटनगरमा?’

    काठमाडौँ– आज (शुक्रबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन तथा सञ्चालनमा देखिएको बेथितिबारे प्रतिनिधि सभामा प्रश्न उठाएका छन्।

    “पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ रु गोठगाउँमा छ कि विराटनगरमा रु हेर्दा थाहा पाउन नै गाह्रो भइरहेको छ,” उनले भने, “अहिलेसम्म पनि केही डिनका कार्यालय र परीक्षा व्यवस्थापन कार्यालय विराटनगरबाट सञ्चालन भइरहेका छन्।”

    कार्कीले विश्वविद्यालयअन्तर्गत रहेको शिक्षण अस्पतालको अवस्था पनि चिन्ताजनक रहेको बताए। स्थानीयवासीले अस्पतालमा चिकित्सक नियमित रूपमा नआउने र नबस्ने गुनासो गर्ने गरेको उल्लेख गर्दै उनले त्यसका कारण बिरामीको आकर्षणसमेत घटेको बताए।

    “स्थानीयवासी भन्छन्, डाक्टर आउँदैनन्, बस्दैनन्, त्यसैले बिरामीहरू पनि आउँदैनन्। डाक्टरहरू भने आईसीयू र भेन्टिलेटरजस्ता आधारभूत सुविधा नभएको गुनासो गर्छन्,” उनले भने।

    उनले पूर्वाञ्चल विश्वविद्यालयका समस्या केवल आर्थिक अभावका कारण मात्र नभई व्यवस्थापकीय कमजोरीका कारण पनि उत्पन्न भएको बताए। विश्वविद्यालयको बेथितिले मोरङ मात्र नभई कोशी प्रदेश र समग्र देशकै प्रतिष्ठामा असर पुगेको उनको भनाइ थियो।

    “पूर्वाञ्चल विश्वविद्यालयको बेथितिले मोरङ क्षेत्र नम्बर ३ र ४, कोशी प्रदेश तथा समग्र नेपालकै स्वास्थ्य क्षेत्रलाई लज्जित बनाएको छ,” उनले भने, “यस विषयमा सरकारको गम्भीर ध्यान जाओस् भन्ने अपेक्षा र विश्वास व्यक्त गर्दछु।