अध्ययन भिसा सिफारिस प्रकरणः कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन - Chaitanya News
  • 2026-08-01
  • 20:11:56
  • शनिबार,साउन १६, २०८३
  • अध्ययन भिसा सिफारिस प्रकरणः कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

    अध्ययन भिसा सिफारिस प्रकरणः कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

    काठमाडौँ– शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको सम्भावित संलग्नताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

    मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिले अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको भूमिका, जिम्मेवारी तथा प्रक्रियागत कमजोरीबारे अनुसन्धान गर्नेछ।

    मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा गठित समितिमा उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनासम्बन्धी आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली रहेको प्रारम्भिक रूपमा देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो। यससँगै मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ।

    समितिले कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा अध्ययन भिसा सिफारिस प्रक्रियाका कमजोरीबारे विस्तृत अध्ययन गर्नेछ।

    यसअघि पनि अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

    मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै अनुसन्धान प्रतिवेदनका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने स्पष्ट गरेको छ।