काठमाडौं– धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफूले दलीय आबद्धताभन्दा जनप्रतिनिधिको भूमिकालाई प्राथमिकतामा राखेको बताएका छन्। आज (आइतबार) मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै राजनीतिक दलको रोजाइभन्दा नागरिकको हितलाई केन्द्रमा राखेको आशय व्यक्त गरेका छन्।अहिलेको अस्थिर राजनीतिमा हमालको यो स्ट्याटसले सबैको ध्यान तानेको छ ।
वि.सं. २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारका रूपमा धनगढी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए। त्यो निर्वाचन धनगढीका लागि मात्र होइन, सुदूरपश्चिमकै राजनीतिका लागि चासोको विषय बन्यो। कारण स्पष्ट थियो,मुख्य राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमाले लगायतका शक्तिशाली संगठनलाई पराजित गर्दै एउटा स्वतन्त्र उम्मेदवारले उपमहानगरको नेतृत्व हात पार्नु।
निर्वाचन परिणामले हमालप्रतिको जनविश्वासलाई स्पष्ट रूपमा देखायो। उनले २६ हजार ८६५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मतमा चित्त बुझाउनुपर्यो। नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द तेस्रो स्थानमा सीमित रहे।
यो नतिजा केवल अंकगणितीय जित थिएनस यो परम्परागत दलीय राजनीतिप्रतिको असन्तोष र वैकल्पिक नेतृत्वप्रतिको जनआकांक्षाको प्रतिबिम्ब थियो।
पार्टीभन्दा परको राजनीति:
मेयर हमालको विशेषता के हो भने उनि काम बढी गर्छन् चर्चामा कम आउँछन् । उनले निर्वाचित भएपछि पनि कुनै राजनीतिक दलसँग औपचारिक आबद्धता जनाएका छैनन्। जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । आन्दोलनकै बलमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन घोषणा गर्यो । सोही अनुसार फागुन २१ गतेका लागि मतदानको तयारी भइरहेको छ।
२०७९ को स्थानीय चुनावमा स्वतन्त्रबाट जितेका केही मेयरले राजीनामा दिँदै प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बन्न दलीय राजनीतिमा प्रवेश गरे । यसैबिच काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साह (बालेन) मेयर पदबाट राजिनमा दिएर प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत झापा–५ बाट केपी ओलीसँग भिड्दैछन् । भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि श्रम संस्कृति पार्टी खोलेर सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्दैछन् ।
तर गोपाल हमालको बाटो फरक देखिन्छ। उनले पदमै रहेर स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्ने निधो गरेका छन्। यसले उनलाई “स्थानीय शासनमै केन्द्रित रहने स्वतन्त्र मेयर”को रूपमा परिचित गराएको छ।
अहिले भरखरै केहि बेर अघि मात्रै मेयर हमालल फेसबुकमा लेखेको एउटा छोटो स्टाटसले राष्ट्रिय स्तरमै चर्चा पाइरहेको छ । “सबैले पार्टी रोजे, मैले जनता।”
यो स्टाटसले उनको राजनीतिक सोच, प्रतिबद्धता र जनप्रतिनिधिको भूमिकाप्रतिको बुझाइलाई एकै वाक्यमा समेट्छ। उनले बारम्बार दोहोर्याउँदै आएका छन् कि आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण धनगढीवासीको प्रतिनिधि हो।
प्रशासनिक अभ्यास र प्राथमिकता:
मेयर हमाल निर्वाचित भएयता उपमहानगरपालिकाको प्रशासनिक सुधार, सेवा प्रवाह, पूर्वाधार विकास र पारदर्शितामा जोड दिँदै आएका छन्। उनका समर्थकहरू भन्छन्—उनी निर्णयमा छिटो, काममा व्यावहारिक र भाषणमा कम विश्वास गर्ने नेता हुन्।
धनगढीमा सडक सुधार, सरसफाइ, बजार व्यवस्थापन, नगर प्रहरीको सक्रियता, डिजिटल सेवा विस्तारजस्ता क्षेत्रमा उपमहानगरले देखाएको सक्रियता मेयर हमालको कार्यशैलीसँग जोडेर हेरिन्छ। यद्यपि, आलोचकहरू भने केही योजनाहरू पर्याप्त दीर्घकालीन नभएको र समन्वय कमजोर रहेको टिप्पणी पनि गर्छन्।
दलविहीन भएर शासन सम्भव छ ?
नेपालको राजनीतिक संरचना मूलतः दलीय प्रणालीमा आधारित छ। संघ, प्रदेश र स्थानीय तीनै तहमा दलहरूको प्रभाव व्यापक छ। यस्तो अवस्थामा कुनै राजनीतिक दलको समर्थनबिना नगर सञ्चालन गर्नु चुनौतीपूर्ण मानिन्छ। तर गोपाल हमालको कार्यकालले देखाएको छ—राजनीतिक इच्छाशक्ति, जनसमर्थन र प्रशासनिक समझदारी भए स्वतन्त्र भएर पनि शासन सम्भव छ।
उनले नगरसभा, कार्यपालिका र कर्मचारी संयन्त्रसँग सन्तुलन कायम गर्दै काम गरिरहेका छन्। कतिपय अवस्थामा दलीय प्रतिनिधिहरूसँग मतभेद भए पनि उनले संवाद र सहमतिमार्फत समाधान खोज्ने प्रयास गरेको देखिन्छ।
जनताको अपेक्षा:
स्वतन्त्र मेयर हुनुको अर्को पाटो भनेको अत्यधिक जनअपेक्षा हो। दलसँग नजोडिएको नेतृत्वप्रति नागरिकको अपेक्षा पनि असाधारण हुन्छ। “अब त बहाना छैन” भन्ने मानसिकता जनतामा देखिन्छ। मेयर हमाल पनि यो दबाबबारे सचेत देखिन्छन्। उनका सार्वजनिक अभिव्यक्तिमा बारम्बार “जवाफदेहिता”, “इमानदारी” र “सेवा”जस्ता शब्द दोहोरिन्छन्। उनी आफूलाई राजनीतिज्ञभन्दा बढी सेवकका रूपमा प्रस्तुत गर्न रुचाउँछन्।
धनगढी सुदूरपश्चिम प्रदेशको प्रमुख आर्थिक तथा प्रशासनिक केन्द्र हो। यहाँको राजनीति सधैं राष्ट्रिय दलहरूको प्रभावमा रहँदै आएको थियो। यस्तो ठाउँमा स्वतन्त्र उम्मेदवारको जितले स्थानीय राजनीतिक संरचनामा ठूलो सन्देश दिएको छ—मतदाता अब केवल पार्टीको झण्डा हेरेर मतदान गर्न चाहँदैन।
अहिलेको अवस्थामा मेयर हमालले राष्ट्रिय राजनीतिमा प्रवेश गर्नेबारे औपचारिक संकेत दिएका छैनन्। उनी आफूलाई पाँच वर्षको कार्यकाल सफलतापूर्वक पूरा गर्ने लक्ष्यमा केन्द्रित रहेको बताउँछन्। तर नेपाली राजनीतिमा “कहिल्यै नहुने” भन्ने कुरा दुर्लभ हुन्छ। यदि उनले धनगढीमा प्रभावकारी काम देखाउन सके भने, भविष्यमा उनी पनि राष्ट्रिय राजनीतिको बहसमा आउने सम्भावना नकार्न सकिँदैन। तर अहिलेका लागि, उनले रोजेको बाटो स्पष्ट छ—पार्टी होइन, जनता।