मानव आचरण र व्यवहार सुधार - Chaitanya News
  • 2026-04-28
  • 16:24:14
  • मंगलबार,बैशाख १५, २०८३
  • मानव आचरण र व्यवहार सुधार

    मानव आचरण र व्यवहार सुधार

    तोमनाथ उप्रेती:

    उपसचिव, नेपाल सरकार:

    अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो । यो ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो,उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो ।आध्यात्मिक बौद्धिकता विवेकबाट प्रेरित हुन्छ ।  स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ ।

    अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।

    आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ । आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन ( आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।धर्मले सत्य बताउँछ । यसो गर्नुहुन्छ र यसो गर्नु हुककदैन। आध्यात्मले अन्वेशण गर्दछ कि यी संपूर्ण भनाईहरूनै अन्तिम सत्य हुन् त रु अर्थात प्राणी र पृथ्वीको कसरि ऊत्पति भयो भन्ने कुरा हरेक धर्मले अलग अलग ब्याख्या गरेपनि आध्यात्मिक चिन्तनले एऊटा सत्यको नजिक पुग्ने प्रयाश गर्छ ।

    आध्यात्म स्वतन्त्र छ । पुराना कहावत वा भगवानहरूको अर्ति ऊपदेशमा मात्र आफूलाई समाहित बनाऊनुपर्छ भन्ने छैन। आफैंले स्वतन्त्र चिन्तन द्वारा आफ्नैलागि आध्यात्मिक बाटो निर्माण गर्नसकिन्छ । यध्यपि त्यस्ता अर्ति र ऊपदेशलाई ऊत्प्रेरणा स्वरूप ग्रहण गर्न सकिन्छ (सदैव त्यहि नै अन्तिम सत्य हो भन्ने होईन । समय सापेक्ष आत्म समिक्षा सहितको निर्णय नै आदर्श जीवनशैली हो । अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ । यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्शणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।

    अधिकार र जिम्मेवारीहरू मिलाएर व्यावहारिक जीवनमा निरन्तर सुधार ल्याउन अध्यात्मको मार्गदर्शन महत्त्वपूर्ण भूमिका खेल्दछ । संस्कार, आचरण र व्यवहार सँगसँगै एक स्वस्थ समाजको निर्माणका लागि अध्यात्मले अवश्यक मार्गदर्शन र प्रेरणा प्रदान गर्दछ । संस्कार र व्यवहारलाई सुधार्ने क्रममा अध्यात्मिक अभ्यासहरूले मानिसलाई आफूलाई जान्ने, आत्मिक बल र उच्च नैतिक मूल्यका साथ जीवन यापन गर्न प्रोत्साहित गर्छ। यसले समाजमा व्यक्तिगत र सामूहिक स्थायित्वको संवर्धन गर्न मद्दत गर्दछ ।

    संस्कार भन्नाले मानिसको व्यवहारमा समाहित हुने केही उचाइका मानवीय मूल्य र आस्थाहरूलाई जनाउँछ। यी संस्कार मानिसको बचपनदेखि नै विकसित हुन्छन् र तिनीहरूले व्यक्तिको व्यक्तित्वको निर्माण गर्छन्। अध्यात्ममा आधारित संस्कारहरूले मानिसलाई आफ्नो कर्तव्य र दायित्वहरूको सही मूल्यांकन गर्न मद्दत गर्दछ । अध्यात्मिक शिक्षाले व्यक्तिलाई सत्य, अहिंसा, प्रेम, करुणा, सहनशीलता, आस्था र आत्मसंयमजस्ता उच्च गुणहरूको अभ्यासमा लाग्न प्रेरित गर्दछ। जब एक व्यक्ति यी आदर्शहरू आफ्नो जीवनमा आत्मसात गर्छ, तब उसले समाजमा आचरणका दृष्टिकोणबाट सकारात्मक परिवर्तन ल्याउन सक्छ ।अध्यात्मिक संस्कारहरूले मानिसको अन्तरात्मालाई शुद्ध बनाउँछ। शुद्ध मन र विचारले मात्र व्यक्ति आफ्नो व्यवहार र आचरण सुधार्न सक्दछ। संस्कारका यी मूलतत्त्वहरूले व्यक्ति र समाजबीचको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछन्, जसका कारण नैतिक समाजको निर्माण सम्भव हुन्छ। अध्यात्मिक अभ्यासहरूले मानिसलाई जीवनका सही उद्देश्यहरूको खोजीमा मद्दत गर्दछ र उनले आफ्ना कार्य र आचरणलाई साँचो मार्गमा स्थापित गर्न सक्छन्।

    आचरण व्यवस्थापनमा अध्यात्मको योगदान अनिवार्य हुन्छ। आचरण भनेको बाह्य व्यवहार, व्यक्तित्व र शैली हो जसले मानिसको आन्तरिक अवस्था र संस्कारलाई प्रतिबिम्बित गर्दछ। यदि एक व्यक्ति आफ्नो आचरणमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छ भने, उसले अध्यात्मिक दृष्टिकोणलाई स्वीकार्नु आवश्यक हुन्छ । अध्यात्मले मानिसलाई आत्मनियन्त्रण र आन्तरिक शक्तिको महत्त्व बुझाउँछ । आत्मनियन्त्रण भनेको व्यक्ति आफ्नो चित्त र भावनाहरूको नियन्त्रण गर्न सक्नु हो, जसले उसको आचरणलाई सकारात्मक र अनुशासित बनाउँछ । यसका लागि ध्यान र साधनाको अभ्यास महत्त्वपूर्ण भूमिका खेल्दछ। ध्यानले मानिसलाई मानसिक शान्ति प्रदान गर्छ र यसका माध्यमबाट व्यक्ति आफ्नो आन्तरिक स्थितिलाई पवित्र राख्न सक्छ । जब मानिस आफ्नो आचरणलाई विचारशील र सकारात्मक बनाउँछ, तब समाजमा शान्ति र सुव्यवस्था कायम हुन्छ । आध्यात्मिक आचरणले समाजमा समानता र भाईचारेको भावना पनि प्रवद्र्धन गर्दछ। जब व्यक्तिहरू आत्मिक मार्गदर्शनको पालन गर्छन्, तब उनीहरू केवल आफूलाई मात्रै होइन, अपितु अरूसँग पनि सहनशील र सम्मानजनक व्यवहार गर्छन्। यसले समाजमा व्याप्त विभाजन र दुश्मनीलाई कम गर्न मद्दत पुर्याउँछ र समाजको एकता र समृद्धिमा योगदान पुर्याउँछ।

    व्यवहार सुधारमा अध्यात्मले अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्दछ। व्यवहार भनेको एक व्यक्तिको बाह्य क्रियाकलाप, उन्नति र प्रतिक्रियाहरू हो। यसका आधारमा समाजमा व्यक्तिको छवि र प्रतिष्ठा निर्माण हुन्छ। व्यवहारमा सुधार ल्याउनका लागि अध्यात्म मार्गदर्शनका रूपमा काम गर्न सक्छ। अध्यात्म मानिसलाई आफ्नो पवित्र आन्तरिक अवस्थालाई बुझ्न र त्यसको आधारमा व्यवहार गर्न प्रेरित गर्दछ । जब मानिस आफ्नो अन्तरात्माबाट मार्गदर्शन प्राप्त गर्छ, तब उसले आफूलाई शान्त र सन्तुलित राख्न सक्छ। त्यस्तै, उनले आफ्ना क्रियाकलाप र प्रतिक्रियाहरूलाई विवेकपूर्ण र विचारशील ढंगले सञ्चालन गर्न सक्दछ। यसको परिणामस्वरूप, समाजमा सकारात्मक वातावरण सिर्जना हुन्छ जसले हरेक व्यक्तिको आत्मसम्मान र प्रतिष्ठा कायम राख्न मद्दत पुर्याउँछ। अध्यात्मिक अभ्यासहरूले व्यक्तिलाई रचनात्मक, सकारात्मक र सहनशील व्यवहारको दिशा दिइराख्छ। उदाहरणका लागि, ध्यान, प्रार्थना र आत्मचिन्तनका अभ्यासहरूले व्यक्तिको मनलाई शान्त राख्न, आक्रोश र तनाव कम गर्न मद्दत पुर्याउँछन्। यसले मानिसलाई आफूलाई नियन्त्रणमा राख्न र समाजका विभिन्न परिस्थितिहरूसँग सकारात्मक व्यवहार गर्न सक्षम बनाउँछ।

    अध्यात्मको महत्त्वपूर्ण पक्ष भनेको सकारात्मक मानसिकता र सोचको विकास हो। जब व्यक्ति सकारात्मक मानसिकतासँग जीवन यापन गर्छ, तब उसका क्रियाकलाप र आचरण पनि सकारात्मक हुन्छ । अध्यात्मले व्यक्तिलाई आफ्नो लक्ष्य र उद्देश्यप्रति ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्दछ। यसले व्यक्तिलाई आत्मविश्वास र आन्तरिक बल प्रदान गर्छ, जसले गर्दा उसले कठिन परिस्थितिहरूमा पनि सही निर्णय लिन सक्छ । ध्यान र साधनाको अभ्यासले व्यक्तिलाई आत्मनिरीक्षण गर्न मद्दत पुर्याउँछ। यसले मानिसलाई आफूमा सुधार गर्नका लागि आवश्यक कदमहरू चाल्न प्रेरित गर्दछ। जब एक व्यक्ति आफ्ना कमजोरीहरूलाई स्वीकार गर्छ र तिनीहरूमा सुधार ल्याउँछ, तब उसका आचरणमा सकारात्मक परिवर्तन आउँछ।

    समाजमा नैतिक र व्यावहारिक सुधारका लागि अध्यात्मको मार्गदर्शन आवश्यक छ। अध्यात्मले प्रत्येक व्यक्ति र समुदायलाई आफ्ना कर्तव्य र जिम्मेवारीका प्रति सचेत बनाउँछ। यसले समाजमा असल मूल्य र सिद्धान्तहरूको पालन गर्न प्रेरित गर्दछ, जसले दुराचार र भ्रष्टाचारको अन्त्य गर्न मद्दत पुर्याउँछ। अध्यात्मिक शिक्षाले मानिसलाई केवल आफ्नो लागि होइन, अपितु समाजका लागि पनि कार्य गर्न प्रेरित गर्दछ। यसले दान, सहयोग, सहनशीलता र आत्मबलको महत्त्व बुझाउँछ, जसले समाजमा सामूहिक सुधार ल्याउँछ। जब प्रत्येक व्यक्तिले अध्यात्मिक मूल्य र सिद्धान्तहरू अपनाउँछ, तब समाजको सम्पूर्ण आचरण नै सुधारिन्छ र त्यो समाज अझै अधिक समृद्ध र सुखी बन्न सक्छ।

    अन्त्यमा, कहिल्यै नसुल्झने रहस्य बनेको  प्रकृति , ईश्वर , र मानव जीवनको खोजलाई  सुल्झाउने र यसलाई एकै सुतिमा बाध्न सुझाउने तत्व नै अध्यात्म ज्ञान हो  अध्यात्म मार्गबाट मानव जीवनलाई  प्रयोग गरी यसमा रहेको चेतनालाई परम चेतनामा समाहित गराउन सकिन्छ । ईष्र्या, द्वेष, घृणा, प्रतिशोधले समाजलाई पथभ्रष्ट बनाउछ ।अध्यात्म मार्गले संस्कार, आचरण र व्यवहार सुधारका लागि अत्यन्त महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्दछ। यसले व्यक्तिलाई आत्मिक शान्ति र उच्च नैतिक मूल्यहरूको अभ्यासमा संलग्न गराउँछ। जब समाजका प्रत्येक सदस्यले अध्यात्मिक मूल्य र आचरणलाई अपनाउँछन्, तब समाजमा एकता, शान्ति र समृद्धि वृद्धि हुन्छ। यसैले, अध्यात्म मार्गमा आधारित जीवन यापन गर्ने माध्यमले नैतिक प्रशासन, सामाजिक सुधार र समग्र मानवता सुधारका लागि सकारात्मक योगदान पुर्याउँछ। यसले जीवनको सार्थकता र उद्देश्यको उत्तर खोज्नुको साथ साथै सत्य ज्ञान र जीवनकमा परमात्माको वास्तविक अनुभूतिको मार्ग अवलम्बन गर्दछ । त्यसैले भन्ने गरिन्छ , सबै धार्मिक व्यक्ति अध्यात्मिक नहुन पनि सक्छन तर अध्यात्मिक व्यक्ति सबै धार्मिक स्वभावका हुन्छन ।जीवनमा ईष्र्या, द्वेष, घृणा, क्रोध , प्रतिशोध व्यवस्थापनका लागि अध्यात्म मार्ग अवलम्वन गर्नु अपरिहार्य रहेको छ ।(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् )