एक–एक रुपयाँ उठाएर पाइलट बन्ने सपना पुरा गरिरहेका दीपेन्द्र घिसिङ - Chaitanya News
  • 2026-07-17
  • 12:03:43
  • शुक्रबार,साउन ०१, २०८३
  • एक–एक रुपयाँ उठाएर पाइलट बन्ने सपना पुरा गरिरहेका दीपेन्द्र घिसिङ

    एक–एक रुपयाँ उठाएर पाइलट बन्ने सपना पुरा गरिरहेका दीपेन्द्र घिसिङ

    काठमाडौं– सपना सबैले देख्न पाइन्छ । पुरा पनि गर्न सकिन्छ । बस हार मान्नु हुँदैन । यो भनाई अहिले दोलखाका दीपेन्द्र घिसिङ जस्तै युवाका लागि मात्रै होइन् ।सारा नेपालीका लागि प्रेरणाको स्रोत बनेको छ ।

    बाल्यकालदेखि पाइलट बन्ने सपना देखेका घिसिङले पैसा छैन भनेर कहिले हार मानेनन् । एक रुपयाँ अभियानबाट सुरु गरेको उनको यात्रा अहिले आकास छुने मोडमा पुगेको छ ।

    गरिबका कारण कक्षा १२ पछि कलेज भर्ना गर्न नसकेका दोलखाको बैतेश्वर गाउँपालिका–२ मूललाबारीका २२ वर्षीय दीपेन्द्र घिसिङ जनताबाट एक–एक रुपयाँ रकम उठाएर अन्तत् पाइलट बन्न सफल भएका छन् । सानैमा बुबाले आमालाई छाडेर अर्कै बिवाह गरेपछि उनि एक्ला भए । जसोतसो मामाले पढाएका उनले पालइलट बन्ने सपना देखे ।

    कक्षा १ देखि १०सम्म नियमित अध्ययन गरेका उनले आर्थिक कारणले कक्षा ११ र १२ को बीचमै पढाई छाडे । कलेजले सम्पूर्ण शुल्क तिरे कक्षा ११ र १२ कै परिक्षाको निम्ति परिक्षा दिन सकिने बताएपछि कलेज नपढी परिक्षा दिए र उत्तीर्ण पनि भए । त्यसपछि बाकीको पढाई सुरु गर्न उनीसँग पैसाको थिएन । पैािको अभाव भएपछि उनि शिक्षण पेसामा संलग्न भए ।

    लक्ष्य हासिल गर्न पैसा नै सबैथोक होइन भनेर प्रमाणित गर्न उनी आफु पाइलट बन्न चाहेको बताउँछन् । गरिब, दुर्गम गाउँको विद्यार्थीले उच्च शिक्षा हासिल गर्न सक्दैन भन्ने भ्रम चिर्न उनले एक रुपयाँ संकलन अभियान सञ्चालन गरे । जहाँ उनलाइ धेरै व्यक्तिहरुको साथ र सहयोग मिल्यो ।

    दृढ इच्छाशक्ति भएमा प्रतिकूल अवस्थामा पनि सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् अहिले दीपेन्द्र घिसिङ ।

    आर्थिक अवस्था कमजोर भएका घिसिङले पाइलट बन्ने आफ्नो सपनालाई चन्दा उठाएरै भए पनि साकार बनाइरहेका छन् । सपनाको उडानलाई सफलताको सँघारमा ल्याउन घिसिङले निकै ठुला चुनौतीको सामना गर्नु प्रर्यो र अहिले तेही चुनौतीको सामाना पार गर्दै पाइलट बन्न सफल पनि भए।

    बुबाले दोस्रो विवाह गरेपछि आमासँगै मामाघरमा बसेर पढेका उनी ८ कक्षा सकेर काठमाडौँ आए । त्यसपछि आफन्तकोमा बसेर उनले लुभुस्थित बालकुञ्ज माध्यमिक विद्यालयमा पढ्न थाले । २०७४ सालमा एसईई दिएका उनी ३।७५ जीपीएसहित उत्तीर्ण भए ।

    एसईईमा राम्रो अंक आएपछि विज्ञान विषय पढ्ने योजना बनाएका घिसिङले आमासँग यसबारे सल्लाह गरे । दोस्रो विवाह गरेर अर्काको घरमा गइसकेकी आमाले उनलाई ठोस जवाफ दिन सकिनन् । त्यसपछि उनले बुबासँग कुरा राखे । बुबाले आफूसँगै बसेर पढ्न उनलाई सल्लाह दिए ।

    घिसिङ बौद्धको अरुणिमा कलेजमा भर्ना भएर पढ्न थाले । घरमा बुबा र कान्छी आमाबाट राम्रो व्यवहार भएन । त्यसपछि उनी ग्वार्कोमा एउटा कोठा भाडामा लिएर बस्न थाले । कोठा भाडा, खाना खर्च जुटाउन उनले एउटा स्कुलमा पढाउनुका साथै आफन्तको रेस्टुरेन्टमा वेटरको काम गर्न थाले । यस क्रममा उनी कलेज जान पाएनन् ।

    त्यसपछि उनले पाइलट पढ्ने योजना बनाए । आर्थिक अवस्था राम्रो नरहेकाले उनले ‘एक रुपैयाँ अभियान’ को सोच बनाए । एक रुपैयाँ सङ्कलन अभियान थालेपछि सहयोग आउन थाल्यो । सबैसँग एक–एक रुपैयाँ सहयोगका लागि खुला आह्वान गरेका उनले यसरी सङ्कलित रकमबाटै पाइलट कोर्स अध्ययन थाले ।

    एक वर्ष अगाडि पाइलटको कोर्स गर्न घिसिङ फिलिपिन्स गएका थिए । अध्ययनकै क्रममा उनले विमान उडाउन थालिसकेका छन् । पहिलो उडानमा उनलाई क्याप्टेन रोनाल्ड रेई क्यारियनले गाइड गरेका थिए । उनले आरपी–सी २८४१ विमान सफलतापूर्वक उडान गरे ।

    पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी साटे । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, ‘पहिलो उडानमा फ्लाई इन्स्टुमेन्ट मात्रै देखाउनुहुन्छ र त्यसबारे बुझाउनुहुन्छ होला भन्ने लागेको थियो, तर सरले टेकअफदेखि सबै काम मलाई नै गर्न लगाउनुभयो ।’

    उनले अहिलेसम्म ४० मिनेट जति उडान भरेका छन् । सिमुलेटरको हिसाबले भने उनले ५ घण्टा जति उडान गरिसकेका छन् । नेपालमा समेत जोड्दा उनको उडान समय ४५ घण्टा जति भइसकेको छ ।

    नेपालमा उनले गीता एभिएसनमार्फत एक वर्षको क्लास लिएका थिए । त्यही क्लासले गर्दा उनलाई फिलिपिन्समा सजिलो भयो । हाल उनी फिलिपिन्सको फास्ट एभिएसन एकेडेमीबाट पढिरहेका छन् ।

    करिब चार महिना समय लाग्ने ग्राउण्ड क्लास उनले लगभग ४५ दिनमै सके । ‘ग्राउण्ड क्लास सकिन करिब ४ महिना लाग्छ, तर मैले लगभग ४५ दिनमा सकाएँ । त्यो भनेको विद्यार्थीले कतिको चाँडो क्याच गर्छ भन्ने कुरा हो,’ उनले भने, ‘स्कुलले हाम्रो लागि नै फ्लाइटहरू राखिदिने, हाम्रो लागि नै क्लास राखिदिने गर्दैन । हामीले अनुरोध गर्नुपर्छ । आफूले जति छिटो प्रगति गर्न सक्यो, त्यति नै चाँडो क्लास सकिने हो । त्यही कारणले मेरो ग्राउण्ड क्लास चाँडै सकियो ।’

    घिसिङले ग्राउण्ड क्लासको परीक्षामा समेत ९८ प्रतिशतसम्म अंक ल्याएका छन् । उनीसँगै अन्य साथीहरू भने अझै पनि त्यही ग्राउण्डको क्लास लिइरहेका छन् ।
    पाइलट पढ्न करिब ८० लाख जति खर्च हुन्छ । घिसिङसँग त्यत्रो पैसा थिएन । पैसा नभए पनि उनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो ।

    त्यसका लागि उनले नेपालमा ‘एक–एक रुपैयाँ अभियान’ थाले । त्यही अभियानमार्फत उनले ५३ लाख रुपैयाँ सङ्कलन गरे ।