समाजको उत्थान र सुधारका लागि मानवीय मूल्य र शिक्षाको प्रभाव - Chaitanya News
  • 2026-05-24
  • 20:51:52
  • आइतबार,जेठ १०, २०८३
  • समाजको उत्थान र सुधारका लागि मानवीय मूल्य र शिक्षाको प्रभाव

    समाजको उत्थान र सुधारका लागि मानवीय मूल्य र शिक्षाको प्रभाव

    तोमनाथ उप्रेती
    उपसचिव ,नेपाल सरकार

    मानव मूल्यले कुनै पनि विषयवस्तुमा दिइने महत्वलाई जनाउँछ जुन व्यक्ति वा समाजका रुचि, चाहना र आवश्यकतामा आधारित हुन्छ। इमानदारी, प्रेम, दया, सद्भाव, करुणा, विश्वास, बौद्धिकता, र सहयोगीपन जस्ता गुणहरू मानवीय मूल्य हो जसले मानिसलाई अन्य प्राणिहरू भन्दा श्रेष्ठ र चेतनशील बनाएको छ। नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय समयसँगै स्थापित हुनुपर्छ । यी मूल्यहरू सार्वजनिक व्यवस्थापनलाई स्वच्छ, पारदर्शी र निष्पक्ष बनाउन महत्त्वपूर्ण छन्।

    अध्यात्मवाद र मानव मूल्यको अभ्यासले जीवनलाई अर्थपूर्ण र सार्थक बनाउँछ र यसका लागि परिवार, समाज, शैक्षिक संस्थाहरू र अन्य सञ्जालहरूको भूमिका महत्वपूर्ण हुन्छ। सार्वजनिक प्रशासनमा नैतिक र सामाजिक मूल्यहरूको कार्यान्वयनले सुशासन र विकास सम्भव बनाउँछ।
    राजनीतिक र प्रशासनिक विकृतिहरू जस्तै नातावाद, कृपावाद र चाकरी चाप्लुसीलाई रोक्नका लागि सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मानवीय मूल्य, नागरिक शिक्षा र अध्यात्मवादको योगदान महत्त्वपूर्ण छ। यसले मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ अग्रसर गराउने छ। मानव मूल्यले मानिसलाई अन्य प्राणिहरू भन्दा उत्कृष्ट र सम्मानजनक बनाउँछ। यी मूल्यहरूमा इमानदारी, प्रेम, दया, सद्भाव, करुणा, विश्वास, निप्पक्षता, बौद्धिकता, र सहयोगीपन जस्ता गुणहरू समावेश छन्, जसले मानवलाई चेतनशील र सर्वश्रेष्ठ बनाउँछ। तथापि, आधुनिक प्रविधिको विकास र समाजमा बढ्दो आधुनिकता र व्यावसायिकताले मानवीय मूल्यमा गिरावट ल्याएको छ, जसलाई विभिन्न समाजहरूले चिन्ताको रूपमा लिएका छन्।

    नेपाली समाजमा पनि यो समस्या स्पष्ट देखिन्छ, जहाँ गलत संस्कार र प्रवृत्तिहरू बढ्दै गएका छन्। समाजमा धर्म र संस्कृतिको नाममा गरिने राजनीतिले देश र समाजलाई नकरात्मक प्रभाव पारिरहेको छ। यस स्थितिमा, सकारात्मक सोचको विकास गर्न र समाजलाई सही शिक्षाको माध्यमबाट व्यवस्थापन गर्न आवश्यक छ।

    मानव मूल्यको महत्वलाई बुझेर त्यसलाई शिक्षा, समाज र जीवनका सबै पक्षहरूमा लागू गर्न आवश्यक छ। शिक्षा भनेको मानवीय मूल्यहरूको अभिवृद्धि गर्नु हो, जसले सत्य, धर्म, शान्ति, प्रेम र अहिंसा जस्ता मूल्यहरूको अभ्यास र कार्यमा लागू गर्न सक्षम बनाउँछ। यस्ता मूल्यहरूले मानिसलाई एक शिक्षित र इमानदार व्यक्तिको रूपमा प्रस्तुत गर्न मद्दत पुर्याउँछ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ।

    सत्य, सत्व्यवहार, शान्ति, पे्रम र अहिंसाजस्ता मानवीय मूल्यहरू राम्ररी बुझेर व्यवहारमा ल्याउन र अरूलाई पनि त्यो कुरा बुझाउन र व्यवहारमा ल्याउन पे्ररित गरी जीवनमा सुख र शान्ति पाऊन् भन्ने चाहन्छौँ । यी र माथिका सबै गुणहरू एकै शब्द– उत्कृष्टताभित्र पर्छन् । उत्कृष्टता प्राप्त गर्नका लागि बालक सिकाइ–पद्धतिमार्फत जानुपर्छ ।।समाजको चाहनाअनुसार शिक्षाका केही लक्ष्यमध्ये राम्रो श्रेणीमा उत्तीर्ण हुनु, नाम चलेको विद्यालयमा भर्ना पाउनु, धेरै पैसा कमाउने नोकरी पाउनु, अरूसँग सुमधुर सम्बन्ध हुनु र आत्मविश्वास बढ्नु हुन् । तर, हाम्रो जीवनमा शिक्षा चार कुराहरूमा आधारित छः जान्नका लागि शिक्षा, गर्नका लागि शिक्षा, जिउनका लागि शिक्षा, बन्नका लागि शिक्षा ।तसर्थ हामीलाई एउटा यस्तो शैक्षिक प्रणाली चाहिएको छ, जुन नैतिकता, पे्रम, विश्वास र आपसी सहयोगमा आधारित होस् । जहाँ शिक्षकलाई उदाहरणीय बन्न जोड दिइन्छ । जसले अभिभावकको प्रतिबद्धता र सहभागितालाई जोड देओस् र जसले बालकलाई सूचना थुपार्नेमात्र नभएर रूपान्तरणमा बढी जोड देओस् । मानवीय मूल्यमा आधारित शिक्षाले यिनै कुराहरूलाई लक्ष्यका रूपमा लिएको छ । हामीले अध्यापन गर्ने सबै विषयमा मानवीय मूल्यहरू समाहित गर्न सकियो भने त्यसको परिणाम शैक्षिक सफलतामा मात्र सीमित नभई, बालबालिकाको चौतर्फी विकासको उत्कृष्ट समिश्रण हुनेछ ।

    वर्तमान शिक्षा प्रणालीले मस्तिष्क र हातमा प्रशस्त जोड दिएको छ । तर, प्रवृत्ति विकासमा लागि हृदयमा दिनुपर्ने खुराक पुगेको छैन । हृदयलाई पवित्र बनाउनका लागि तथा हामीमा असल गुणहरूको विकास गर्नका लागि मानवीय शिक्षाको आवश्यकता पर्छ । शिक्षाले मानिसमा ज्ञान, समय र संयमतासहित हृदयमा करुणा र सेवाभाव जगाउन सक्नुपर्छ । त्यसैले शिक्षा जानकारीका लागि होइन, रूपान्तरणका लागि हुनु पर्दछ । यसले जीवनको उद्देश्य ‘मानवीय उत्कृष्टताको प्रस्फुटन’ गराउँन सक्नु पर्दछ । यसले हरेकको बानी र चरित्रमा रूपान्तरण ल्याउन सक्नुपर्छ ।

    मानव केवल भौतिक अस्तित्व मात्र होइन, तर माया, दया, करुणा, रीस, आवेग, घृणा र आक्रोश जस्ता विभिन्न भावना र गुणहरूको मिश्रण हो। मानव समाजले आफूलाई बाँच्न र अस्तित्वको बोध गर्न राज्यव्यवस्था, मूल्य र मान्यताहरू सिर्जना गर्यो, जसले मानिसको अहंकार र महानता बोधको प्रयासलाई मार्गदर्शन गरेको छ। समाजले तयार गरेका मूल्य र मान्यताहरूमा आधारित भएर केही मानिस महान् बनिसकेका छन् भने अन्य मूल्यहीन छन्।
    आजको शिक्षा प्रणालीलाई व्यापारको रूपमा रूपान्तरण गरिएको छ, जहाँ मानवीय मूल्य र अस्तित्वको संरक्षणको बीचमा संघर्ष चलिरहेको छ। शिक्षा केवल डिग्री प्राप्ति मात्र होइन, वास्तविक जीवनको मूल्य बोध र संघर्षमा सम्हाल्ने कला सिकाउनुपर्छ। शिक्षा मानवीय संवेदनामा आधारित हुनुपर्छ र यसका माध्यमबाट जीवनमा इमानदारी, जिम्मेवारी, र श्रमको मूल्य सिकाउनु पर्छ।

    शिक्षालाई मानव यन्त्र निर्माण गर्ने कारखानामा रूपान्तरण गरिरहेको छ, जसले मानवीय मूल्यको रक्षा गर्न संघर्ष गर्नु पर्छ। अबको युद्ध मानव मूल्यको पक्षमा र मानव यन्त्र निर्माण गर्ने पक्षधरहरूको बीचमा हुनेछ। यसमा हामीलाई मानव मूल्यको पक्षमा दृढ भएर उभिन आवश्यक छ।
    मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता,वुद्धि ,विवेक,चेतना,आदर,सत्कार, प्रेम, स्नेह आदि मानवीय गुणहरू समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ । वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्वपुर्ण मानक मानिन्छ । मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन् । समाजमा रहेका अनेक किसिमका विकृति विसङ्कती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्दछ। मानवीय मूल्यमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ । अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ । यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ ।

    मानव मूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्वहरूको संयमित उपयोग र सिङ्को जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ । मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ । “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।“ यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । सवको हाम्रो समृद्धि यसै नारावाट निर्देशित हुनु पर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको सर्वजन हिताय,सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ । विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँंग जोड्नु आवश्यक छ । मानवीय जीवनको महत्वपूर्ण पक्षहरु सत्य, अहिंसा, प्रेम,दया, शान्ति र करुणालाई मानवीय मूल्यको रुपमा विश्वले स्वीकारेको छ । मानवीय मूल्यहरु नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन् ।

    हाम्रो समाजको सम्पन्नता भनेको आपसी सद्भाव र भाइचारा व्यवहार नै हो । सद्भाव सम्पत्ती भन्दा धेरै गुणा शक्तिशाली हुन्छ । आर्थिक रुपले हामी पछाडि रहेकोमा द्विविधा छैन तर यति हुँदा हुँदै पनि सुखि र खुशि अवस्थामा नेपालीहरू रहिरहन सक्नु भनेकै सद्भाव र एकापसको सहयोग नै हो । धनले मात्र मानव आवश्यकता परिपूर्ति गर्न सक्दैन । हाम्रा बानी व्यवहार नै यसका प्रमुख जिम्मेवार हुनेछन् ।

    नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । यी संस्थाहरुले मानिसलाई नैतिक मुल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन जोड दिन्छ । पारिवारिक मूल्य मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गदर्छ । मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपहरु समेत परिवारबाटै प्राप्त गर्दछ । अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ । परिवार कुनैपनि व्यक्तिको नैतिक मुल्य र मान्यता सिक्ने पहिलो महत्वपुर्ण पाठशाला हो । परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरुको जीवनशैली तथा उनीहरुले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ । त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारिक सिकाईको महत्वपुर्ण भूमिका हुन्छ । त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ । सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणहरुलाई व्यवहारमा नै प्रयोग गर्न उत्पे्ररित गराउनु पर्छ । बालबालिकालाई परिवारमा असल व्यवहार र असल चरित्र निर्माण गर्ने खालको पारिवारिक वातावरणको निर्माण गर्नुपर्छ । समाजका आधारभूत मान्यता र चरित्रहरुबारे जानकारी गराउने, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने जस्ता गतिविधि गर्ने तथा परिवारको मूल्य प्रणालीलाई नैतिक र आदर्श बनाई त्यसको अनुसरण गर्न लगाउने कार्य गरिनु पर्छ । समाजमा विद्यमान असमानताको व्यवहार गलत हो भन्ने भावनाको विकास गराउने कार्य पनि त्यतिकै महत्वपूर्ण भएकोले यसतर्फ हाम्रो प्रयास जरुरी पर्छ । व्यक्तिको मूल्य प्रणालीमा परिवर्तन गराउने र समाजका सवैलाई समान व्यवहारको प्रर्दशन गर्ने संस्कार सिकाउने कार्यमा परिवारलाई जिम्मेवार वनाइनु पर्दछ ।

    समाजको संरचना पारिवारिक सिकाइबाट निर्धारण हुन्छ, जसले मानिसको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था र सामाजिक गतिविधिहरूलाई प्रभाव पार्छ। समाजमा नैतिक मूल्य र संस्कारको विकास परिवारको उपयुक्त वातावरणमा हुन्छ, जसले व्यक्तिको मानसिक वृद्धि र सकारात्मक आचरणलाई प्रवर्द्धन गर्छ। असल सिकाई, सामाजिक अभियान र शिक्षा मार्फत समाजमा विभेदको अन्त्य गर्न र नैतिक आचार्यलाई बढावा दिन महत्त्वपूर्ण छ।

    पारदर्शिता, समानुभूति, सहिष्णुता, र नैतिकता सार्वजनिक प्रशासनलाई सशक्त र भ्रष्टाचारमुक्त बनाउनका लागि अत्यावश्यक छन्। यद्यपि, अहिलेका विकृतिहरू र भ्रष्टाचारका कारण नैतिकता र अनुशासनको ह्रास भएको छ। सार्वजनिक पदाधिकारीको आचरण अनुकरणीय हुनु आवश्यक छ, ताकि उनीहरूले समाज र नागरिकका लागि उदाहरणीय कार्य गर्न सकून्।

    अध्यात्मवाद एक विज्ञान हो जसले जीवनको उद्देश्य र कर्तव्यको खोजी गर्छ, र मानवीय मूल्यहरूलाई महत्त्व दिन्छ। यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ र जीवनलाई अर्थपूर्ण बनाउन मार्गदर्शन गर्छ। नेपालका संविधानले धर्म, मानवीय मूल्य र कानूनी त्रिकोणलाई महत्त्व दिएको छ, जसले सार्वजनिक प्रशासनलाई पारदर्शी र समावेशी बनाउँछ।

    नेपालले लोकतान्त्रिक संघीय शासन प्रणालीमार्फत राष्ट्रहित, शान्ति, विकास र समृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ। यसका लागि सामाजिक न्याय, आर्थिक समानता, भ्रातृत्व, सहकार्य, समावेशिता र अन्य सामाजिक(राजनीतिक मूल्यहरूको अवलम्बन गर्नु आवश्यक छ। नेपाली समाजका परम्परागत मानवीय मूल्य र विचारले सामाजिक–राजनीतिक मूल्यलाई बलियो बनाउन मद्दत पुर्याउँछन् र राज्य र नागरिकबीचको सम्बन्ध सुधार्छ। लोकतान्त्रिक प्रणालीमा राज्य र नागरिक दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ।

    सर्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, विश्वसनीय, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ । राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरुको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मानवीय मुल्य, मुल्यमा आधारित शिक्षा, नैतिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ ।  (उप्रेती अध्यात्म, प्रशासन र  व्यवस्थापनमा कला चलाउछन् )