काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेश जाने युवाको संख्या बढे पनि यस विषयमा विगतजस्तो बहस र आलोचना नभएको बताएका छन्।
आज (आइतबार) एमालेका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अघिल्लो वर्ष यही अवधिमा बिदेसिने क्रमलाई लिएर ठूलो चर्चा भएको तर अहिले संख्या अझ बढ्दा पनि त्यस विषयमा सार्वजनिक प्रतिक्रिया कम देखिएको दाबी गरे।
उनले विगतमा युवालाई विदेश पठाउने विषयलाई अस्वाभाविक रूपमा प्रस्तुत गरिएको भन्दै अहिले भने विदेश जानुलाई व्यक्तिगत अधिकारका रूपमा व्याख्या गर्ने प्रवृत्ति देखिएको उल्लेख गरे।
ओलीले राजनीतिक स्वार्थअनुसार विषयवस्तुको व्याख्या परिवर्तन गर्ने प्रवृत्तिले जनहित प्रभावित हुने बताएका छन्। उनले तथ्य र वास्तविकतालाई सही रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउँदै भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएका विषयलाई सच्याउने जिम्मेवारी संसद्को पनि भएको बताए।
संसद्ले कानुन निर्माणका लागि आवश्यक संख्यात्मक शक्ति नभए पनि जनताका सरोकार र हितका विषय उठाउने महत्वपूर्ण थलो भएको ओलीको भनाइ थियो। उनले जनतासँग सम्बन्धित विषयमा प्रभावकारी आवाज उठाउन सांसदहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।