काठमाडौँ– नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद अन्त्य गर्दै पार्टी एकता कायम गर्ने उद्देश्यसहित शेरबहादुर देउवा समूह (नियमित महाधिवेशन पक्षधर) ले पाँच बुँदे सहमति प्रस्ताव सार्वजनिक गरेको छ। आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत देउवा पक्षले पार्टी नेतृत्वसमक्ष अघि सारेका प्रस्ताव सार्वजनिक गरेको हो।
निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपसभापति विश्वप्रकाश शर्मामार्फत प्राप्त प्रस्तावमाथि छलफलपछि जेठ १८ गते नै आफ्नो पक्षले पाँच बुँदे समझदारी प्रस्ताव पठाएको जानकारी दिए। पत्रकार सम्मेलनमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेताहरूको उपस्थिति रहेको थियो।
प्रस्तावअनुसार चौधौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गर्दै सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख गरिएको छ। साथै, गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।
देउवा पक्षले पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै पन्ध्रौँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने, महाधिवेशनसँग सम्बन्धित समितिहरूमा वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्नुपर्ने तथा विवादअघि टुङ्ग्याइएका सबै क्रियाशील सदस्यलाई स्वतः महाधिवेशनमा सहभागी हुने व्यवस्था मिलाई डिजिटल इन्ट्री सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखेको छ।
विश्वकर्माले डिजिटल इन्ट्रीलाई नवीकरणसँग जोडेर महाधिवेशनमा सहभागी हुने अधिकार प्रभावित गर्न नहुने बताए। उनले पार्टी एकताका लागि आफ्नो पक्षले आवश्यक लचकता देखाएको दाबी गर्दै संस्थापन पक्षले पहिलाका सहमतिभन्दा फरक प्रस्ताव ल्याएर एकता प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाए।