धुलिखेल– महिला नेतृत्व र नेपालको वर्तमान अवस्था विषयक संवादका महिला बक्ताहरूले नेपाली समाजको पुरुष प्रधान चरित्रका कारण अझै पनि महिला नेतृत्वमा पुग्न नसकिरहेको बताएका छन्।
काठमाडौंको शङ्खमुलस्थित चैतन्य एकेडेमीले धुलिखेल लज रिसोर्टमा आयोजना गरेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।
प्रतिनिधि सभा सदस्य सोविता गौतमले पुरुष प्रधान समाजको चरित्र नेपाली समाज, राजनीति र संघ सस्थामा झल्किँदै आएको टिप्पणी गरिन्। समावेशीताको कुरा गर्दा हाम्रा निकाय कति समावेशी रुपमा उपस्थित भएका छन् भन्ने हो। त्यो देखिँदैन। चाहिने नेतृत्व हो। नेतृत्वमा मस्तिष्कको कुरा मात्रै हुन पर्ने हो। मस्तिष्कले काम गर्न सक्छ वा सक्दैन हेर्नुपर्ने हो। यहाँ त महिला पुरुष हेरिन्छ,उनले भनिन्।
व्यूरोक्रेसी, राजनीति र विभिन्न संघ संस्थामा महिलालाई अवसर दिन नपाए हुन्थ्यो भन्ने भावना व्याप्त रहेको उनले बताइन्।

यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतको अनुभव पनि उनको भन्दा फरक छैन। उनले पनि नेतृत्व भन्ने वित्तिकै राजनीतिक छवि दिमागमा आउने र त्यो गलत भएको बताएकी छन्।
राजनीति नेतृत्व भए झैँ प्रत्येक संस्थाको नेतृत्व पनि नेतृत्व नै हो। हामीले साँघुरो रुपमा बुझ्यौं। महिलाहरूलाई अवसर नै दिन चाहेनौं, उनले भनिन्।

यो सँगै नायिक सुरक्षा पन्त पनि नेपाली चलचित्र क्षेत्र समेत यो सोचबाट अछुतो रहन नसकेको बताउँछिन्। होइजम भन्ने वित्तिकै नायकको अनुहार मात्र अगाडि आउने समाजमा महिला कलाकारलाई निकै बढी संघर्ष गर्नुपर्ने उनको अनुभव छ।

उनले लिंग नभएर मान्छेको क्षेमतालाई हेरिनुपर्ने धारणा राखेकी छन्। उक्त सेसनको सहजीकरण वरिष्ठ कवि नवराज लम्सालले गरेका थिए।
