मुलुक संघीयतामा छ। नेपालको संविधान भाग ५ को धारा ५६ मा उल्लेख भएनुसार राज्यको संरचना र राज्यको बाँडफाँड अनुरुप मुलुकमा ७५३ स्थानीय तह छन्। स्थानीय सरकारको सचिवको भूमिका प्रमुख प्रशासकीय अधिकृतले निर्वाह गरिरहेका छन्। पालिकाभित्रका सेवालाई जनतासमक्ष पुर्याउने काम उनीहरूले नै गरिरहेका छन्। मुलुक संघीयतामा गए पनि सबै पालिकामा समानुपातिक विकास छैन। केही पालिकाहरूमा भौगोलिक विकटता र सीमित स्रोत साधनकबीच काम गरिरहेका छन्। पालिकामा कर्मचारी अभाव छ। अन्य थुप्रै समस्या छन्। यसै विषयमा केन्द्रीत रहेर रौमाई गाउँपालिका उदयपुरका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठसँग चैतन्य खबरका लागि निर्मला कडायतले संवाद गरेकी छन्
तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो?
मैले रौतामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको चार महिना भयो।
यो चार महिना अवधिमा तपाईंले जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनु भयो?
मैले यता जनप्रतिनिधिको राम्रो सहयोग पाइरहेको छु। सहजताका साथ नै हामीले सेवा प्रवाह गरिरहेका छौं।
पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ?
पालिकामा जनताका अपेक्षा त धेरै छन्। तर, विशेष अपेक्षा भनेको कर्मचारीबाट प्रदान हुने सेवा छरितो होस् भन्ने नै हो। समयमा र झन्झटरहित ढंगबाट सेवा पाउँदा जनता खुसी हुन्छन्। हामी सोही अनुरुप काम गरिरहेका छौं। जनतालाई सेवा लिँदा कुनै दुस्ख र सास्ति नहोस् भन्नेमा हामी सचेत छौं।
तपाईंले पालिकामा प्रशासकीय कुशल व्यवस्थापन कसरी गरिरहँनु भएको छ?
हामीले पालिकामा प्रशासनिक टिमको कुशल व्यवस्थापन राम्रोसँग गरिरहेका छौं। सबैको आ–आफ्नो जिम्मेवारी तोकेका छौं। र, सोही अनुरुप काम पनि भइरहेको छ।
कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?
हाम्रो पालिकामा कर्मचारीको त समस्या नै छ। प्राविधिक क्षेत्रका कर्मचारीको त झनै समस्या छ। यसले हामीले अपेक्षित रुपमा सेवा प्रवाह गर्न सकिरहेका छैनौं। कर्मचारी अभावका कारण पनि जनताले चाहे अनुसारको सेवा पाइरहनु भएको छैन। कर्मचारीको अभाव छ भन्दैमा हामीले कुनै सेवा रोकेको वा सेवाग्राहीलाई सास्ति दिएको अवस्था छैन। हामीसँग भएको जनशक्तिबाट नै व्यवस्थापन गरिरहेका छौं।
के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ लाग्छ?
दरबन्दी अनुसार कर्मचारी पूर्ति भइदिएमा, कार्यलय आउने सडक, अन्य पूर्वाधारहरू सहज भइदिएमा हामी कर्मचारी र सेवाग्राही दुवै सहज हुन्छ।
अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका विद्यार्थीलाई के भन्न चाहानु हुन्छ?
पहिलो कुरा त पढे लेखेका मानिसलाई लोकसेवामा विश्वास हुन सकिरहेको अवस्था छैन। यदि तपाईंहरू लोकसेवा पढ्दै हुनुहुन्छ र लोकसेवा पास गरेर नेपालमा नै केही गर्छु भन्ने सोच्नु भएको छ भने लोकसेवाप्रति विश्वाश गर्न जरुरी छ। नेपालमा नै केही गर्छु सोच्नेहरूका लागि सबैभन्दा उत्तम विकल्प लोकसेवा नै हो।
तपाईंलाई कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ?
हार मान्नु हुँदैन। आत्मविश्वासका साथ पढ्नुपर्छ। पहिलो पटकमा नै त कोही सफल हुनसक्छ कोही असफल हुन सक्छ। तर, निरन्तर प्रयास गरिरहनुपर्छ। लगनशिलता हुनुपर्छ। धैर्यता हुनुपर्छ। नियमित कलास लिइरहनु पर्छ। यति गरेपछि लोकसेवामा पक्कै सफलता लिल्छ।