एक–दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन, निरन्तर प्रयास गरिरहनुपर्छ सफलता अवश्य मिल्छ : विमल गौतम - Chaitanya News
  • 2026-06-07
  • 21:46:38
  • आइतबार,जेठ २४, २०८३
  • एक–दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन, निरन्तर प्रयास गरिरहनुपर्छ सफलता अवश्य मिल्छ : विमल गौतम

    एक–दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन, निरन्तर प्रयास गरिरहनुपर्छ सफलता अवश्य मिल्छ : विमल गौतम

    चैतन्य खबरले शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृतसँग अन्तर्वार्ताको सेसन सुरु गरेको छ। शाखा अधिकुत सम्म आईपुग्दा कसरी तयारी गर्नु भएको थियो र कसरी तयारी गर्दा सफलता प्राप्त हुन्छ भन्ने विषयमा केन्द्रित रहेर चैतन्य खबरको लागि निर्मला कडायतले भरखरै शाखा अधिकुतमा पास हुनुभएका शाखा अधिकृत विमल गौतमसँग गरेको संवादको सम्पादित अंश:

    तपाईं भरखर शाखा अधिकृत पास हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ?
    राजपत्राङ्कित तृतीय श्रेणीमा सिफारिस हुन पाउँदा एक प्रकारको उत्साह छ सँगसँगै जिम्मेवारी पनि थपिएको महशुस गरेको छु। जति जति माथिल्लो पदमा पुगिन्छ उति उति जिम्मेवारी पनि बढ्दै जान्छ। एउटा पहाड उक्लिएपछिको अर्को त्यो भन्दा अग्लो पहाडतर्फ हिँड्दै गरेको भान भइरहेको छ।

    यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नु हुन्थ्यो?

    तयारी गर्ने सबैको आ(आफ्नै तरिका हुन्छ। लोकसेवाको तयारी भनेको निरन्तर नवीन खोज नै हो। पढ्ने नै हो अरू कुनै उपाय यसमा हुँदैन। पढ्दा मैले आधिकारिक पुस्तकहरू बढी पढ्ने गर्थेँ। ऐन, नियमावली, कार्यविधि, योजना लगायतका विषयहरू वास्तविक स्रोतबाट नै पढ्ने गर्दथेँ। पढ्दा महत्वपूर्ण लागेका विषयहरूको टिपोट गर्ने र त्यसलाई कुन उत्तरमा राख्न सकिन्छ भनेर सोच्ने गर्थेँ। अघिल्ला वर्षहरूमा सोधेका प्रश्नहरूको खोजी गर्ने र समाधान गर्ने गर्दै आफ्नो पढाईलाई अघि बढाएको थिएँ। समय राखेर उत्तरको समाधान गर्ने त्यसपछि कति समयमा कति लेख्न सकिन्छ भनेर अनुमान गर्ने गर्थेँ। उत्तर लेखिसकेर त्यसभन्दा तल खालि भाग राख्ने पछि उत्तरसँग दाँज्दै किताबबाट महत्वपूर्ण लागेका उत्तरमा राख्नुपर्ने तर छुटेका विषयहरूको टिपोट गर्थेँ र अर्कोपटक त्यसलाई समावेश गर्ने गर्थेँ। परिक्षामा लेख्नुपर्ने हुँदा घरमा पनि सोहि अनुसार लिखित अभ्यास गर्नुपर्छ।

    अध्यनका लागि कुन र कति समय छुट्याउनु हुन्थ्यो?

    अध्ययनको समय पनि व्यक्ति अनुसार फरक हुन सक्छ। कोही राति धेरै समय बस्ने र विहान ढिलो उठ्ने कोही विहान छिटो उठ्ने र बेलुका चाँडै सुत्ने पनि हुन्छन्। यहि समय पढ्नुपर्छ यति नै पढ्नुपर्छ भन्ने त छैन तरपनि म विहानको समयलाई उपलब्धिमूलक समयको रूपमा लिने गर्छु। विहान चाँडै उठ्ने अनि पढ्ने गर्नाले पढेका कुरालाई सम्झिन सहज हुने गर्दथ्यो। कम्तिमा एउटा विषयलाई २ घण्टा हुने गरी समय छुट्याउनुपर्छ। छ सात घण्टाको समय दैनिक पढियो भने राम्रो हुन्छ। विषयको गम्भीरतालाई हेरेर समय छुट्याउन सकिन्छ। आफ्नो क्षमता पनि हेर्नुपर्छ यस्तो कुरामा कसैलाई थोरै समयमा पनि धेरै विषयवस्तुको ज्ञान हुन सक्छ कसैलाई धेरै मेहनत गर्नुपर्ने पनि हुन्छ। समयको विभाजन आफ्नो क्षमता हेरेर गर्न सकिन्छ। म औसत विद्यार्थी भएकोले मेरो लागि छ सात घण्टा पढ्नुपर्थ्यो।

    लोकसेवा तयारीका कलास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ?

    लोकसेवाको तयारी आफैँले गर्ने हो तर सुरुवातमा विषयवस्तुको ज्ञान र पढाईको तरिका थाहा पाउन तयारी कक्षाको महत्वपूर्ण भूमिका हुन्छ। तयारी कक्षा नै लिनुपर्छ तयारी कक्षा विना अघि बढ्नै सकिँदैन भन्ने चैँ होइन। आफैँले तयारी गरेर कुनै तयारी कक्षा नलिएरै पनि कतिपय साथीहरूले पास गर्नुभएको छ। तर सम्भव भएसम्म आफ्नो पढाईको स्तर र ज्ञान व्यवस्थापनका लागि तयारी कक्षाका परिक्षाहरू, विज्ञ सरहरूका अनुभवहरू, साथीहरूका कुराहरूले महत्वपूर्ण भूमिका खेल्छन्। परिक्षा लक्षित कतिपय पुस्तकहरू राम्रा पनि छन् कतिपय पुस्तकहरू भने स्तरीय नहुन पनि सक्छन्। पाठ्यक्रमलाई आधार मानि लेखिएमा कतिपय पुस्तकहरूको गुणस्तर भने आफैँले परीक्षण गर्नुपर्छ। गुणस्तरीय पुस्तकहरू तयारीका लागि महत्वपुर्ण हुन्छन्।

    अध्यन गर्दा कस्ताखाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाँले कस्ता सामाग्रीलाई बढी प्राथमिकता दिनुहुन्थ्यो?

    पढाईको सिलसिलामा सकेसम्म आधिकारिक पुस्तक, विभिन्न मन्त्रालयका वेभसाईटहरू संवैधानिक आयोग तथा अन्य विषयसँग सम्बन्धित आयोगका वेभसाइटहरू, विज्ञका लेखहरू र पत्रपत्रिकामा आएका समाचार र विचारहरू हेर्ने गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, विश्वव्यापी मूल्य मान्यता लगायतका विषयहरू हेर्नुपर्छ । अहिले लिखित पत्रलाई नै बढी महत्व दिएको हुनाले लिखितको नै अभ्यास बढी गर्नुपर्छ । प्रथम पत्रको हकमा भने दोहोर्‍याई रहने, समसामयिक गतिविधिमा ध्यान दिने, टिपोट गर्ने निरन्तर अभ्यास गर्ने लगायतका कार्य गर्नुपर्छ ।

    लोकसेवाप्रति युवा आकर्षण कस्तो देख्नुहुन्छ?

    पछिल्लो समय लोकसेवाप्रति युवाको आकर्षण बढिरहेको छ। स्थायित्व, सुरक्षा, वृत्ति विकास, सेवाभाव जस्ता कुराहरूले यस क्षेत्रमा आकर्षण देखिएको हो भन्ने मलाई लाग्छ। अझ महत्वपूर्ण कुरा त यसको छनौट प्रक्रियाको निश्पक्षता हो। लोकसेवाको परिक्षा पास गर्ने मान्छेलाई मेहनत गर्ने मान्छेका रूपमा समाजले चिन्ने हुँदा पनि यसक्षेत्रमा आकर्षण बढेको हो।

    लोकसेवा तयारी गरिरहेका परिक्षार्थीहरुलाई कस्तो सन्देश दिन चाहनु हुन्छ?

    लोकसेवाको तयारी गरिरहँदा मनमा अनेक अन्यौलताहरू हुन्छन्। धेरै प्रकारका सोचहरू आउँछन् त्यसमा नकारात्मक सोच पनि पर्छ तर तयारीका चरणमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ। दिमागलाई शान्त राख्नुपर्छ। यसका लागि ध्यानको अभ्यास पनि गर्न सकिन्छ। भन्ने बुझ्नुपर्छ। एक दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन। असफलताले मानिसलाई परिपक्व बनाउँछ। म आफैँ पनि तीन पटक चार ठाउँमा बैकल्पिक परेको हो। अघिल्लो वर्षको शाखा अधिकृतको नतिजा आउँदा पनि म वैकल्पिकमा नै परेको थिएँ। तर मैले यसलाई सकारात्मक रूपमा लिएँ र निरन्तर लक्ष्यमा केन्द्रित रहेँ। यो सबै समय हो र यी वितेर जानेछन् एक न एक दिन लक्ष्यमा पुगिनेछ भन्ने मेरो विचार थियो। अविचलित पाइलाहरूले नै गन्तव्यमा पुर्‍याउँछन्। चाँडै हार मान्नु हुँदैन हामीले प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ नतिजामा ध्यान दिनुहुँदैन। प्रक्रिया सहि भयो भने नतिजा पनि सहि हुन्छ। प्रक्रियामा नै त्रुटी भयो भने नतिजा सहि हुँदैन। यसकारण आफ्नो सकारात्मक कुरा, नकारात्मक कुरा, आफ्नो विज्ञता र कमजोरीको मूल्याङ्कन आफैँले गर्नुपर्छ र कमजोरीलाई सुधार गर्दै जानुपर्छ। आफुलाई मनपर्ने विषय र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गर्नुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ। पढाईलाई जिस्काउनु भने हुँदैन। हातमा किताब भएको वेला ध्यान पनि किताबमा नै हुनुपर्छ। आफ्नो ध्यान भड्काउने कुरालाई छेउमा राख्नुहुँदैन। आफैँमा अनुशासित हुनुपर्छ। यो सबै समय हो समयसँगै सबै कुरा राम्रो हुँदै जान्छ तर मेहनत गर्न चैँ छोड्नुहुँदैन भन्ने भाव मनमा हुनुपर्छ। कतिपय मानिसहरूको हतोत्साहित भइहाल्ने बानी हुन्छ कतिपय अरूको कुरा सुनेर कठिन छ म सक्दिन होला भन्ने मानसिकता लिएर बस्ने पनि हुन्छन् कतिपय गफ बढि गर्ने र अरूलाई निराश बनाउनेहरू पनि हुन्छन्। यो मानवीय गुण हो यसलाई चिन्नुपर्छ र आफुलाई अविचलित बनाउनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा सबैकुरा आफैँले गर्ने हो अरूले त भन्ने मात्रै हुन् थालनी आफैँबाट हुनुपर्छ।