कैलाली– सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरू कुष्ठरोग निवारणमा जुटेका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका र कञ्चनपुरको पुर्नवास नगरपालिकापछि अहिले कैलालीको कैलारी गाउँपालिकामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू भएको छ। कैलारी गाँउपालिकाको आयोजना तथा एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा कैलारी गाउँपालिका–१ बाट अभियान सुरू भएको हो। कार्यक्रमअन्तर्गत मुल बिरामीको गोपनियता कायम राखेर, बिरामीको परिवार, छिमेकी र समूदायका सम्पर्क व्यक्तिहरूलाई एक खुराक रिफाम्पिसिन (औषधी) खुवाउने गरिएको छ।
कैलारी गाउँपालिकाका अध्यक्ष राम समझ चौधरी, उपाध्यक्ष भगवती कुमारी चौधरी, वडा नम्बर–१ का अध्यक्ष ध्वज हरिपाल बोहरा, स्वास्थ्य शाखा प्रमुख नरेश चौधरी र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले शरीरको जाँच गरेपश्चात् एक खुराक रिपाम्पिसिन खाएर अभियानको शुभारम्भ गरे। एक खुराक रिफाम्पिसिनले कुष्ठरोगको किटाणु (माइक्रोबेक्टेरियम लेप्रे) लाई निष्कृय पार्दछ र रोग लाग्नबाट बचाउँदछ।
कैलारी गाउँपालिकाका अध्यक्ष राम समझ चौधरीले कैलारी गाउँपालिका कुष्ठरोग मुक्त गाउँपालिका बन्ने दिशामा अघि बढेको बताए। गाउँपालिकामा अझै पनि कुष्ठरोगका नयाँ बिरामीहरू पत्ता लाग्ने क्रम जारी रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले घरदैलो अभियानमा आर्थिक तथा प्राविधिक सहयोग गरेकोमा एनएलआर नेपाल र एनएनएसडब्ल्यूएलाई धन्यवाद दिँदै प्रत्येक व्यक्तिहरूलाई आफ्नो शरीरको जाँच गरी एक खुराक औषधी खाएर अभियानलाई सफल पार्न आग्रह गरे।
![]()
कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले ब्ल्याङ्केट एप्रोजमा संचालित यस अभियानको मुख्य उद्देश्य समाजमा लुकेर बसेका बिरामीलाई उपचारको दायरामा ल्याउने र प्रभावित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई रोग नलागोस् भनेर एक खुराक रिपाम्पिसिन औषधी खुवाउने रहेको बताए। उनले कैलारी गाउँपालिकामा हाल १४ जना कुष्ठरोगका बिरामीहरू उपचाररत रहेकोले पालिकामा उच्च जोखिमा रहेको जानकारी दिए। उनले पालिकाका बढी प्रभावित सबै स्थानहरूमा अभियान सञ्चालन गरिने बताए।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले नेपाललाई कुष्ठरोग मुक्त बनाउनमा पालिकाहरूको ठुलो भूमिका रहने बताए। उनले पालिकाको नेतृत्वमा सञ्चालन भईरहेको यस अभियानमा एनएलआर नेपाल र एनएनएसडब्ल्यूए सदैव सँगै रहेको बताए। उनले एक खुराक औषधीले आफु, आफ्नो परिवार, छिमेकी र समुदायलाई जोगाउन सकिने भएकोले सबैले अनिवार्य रूपमा औषधी खानै पर्ने बताए।
एनएनएसडब्ल्यूए समावेशी विकास तथा कुष्ठरोग रोकथाम कार्यक्रमका संयोजक राजिब अवस्थीले सन् २०३० सम्ममा कुष्ठरोग मुक्त देश बनाउने नेपाल सरकारको लक्ष्यलाई साकार पार्न एनएलआर नेपाल र एनएनएसडब्ल्यूएले स्थानीय पालिकासँगको समन्वयमा तीव्र रूपमा अभियानहरू सञ्चालन गरिरहेको बताए। उनले घरदैलो अभियानका क्रममा समाजमा लुकेर बसेका नयाँ बिरामीहरू पत्ता लागिरहेको बताए। उनले समाजमा लुकेर बसेका बिरामीलाई उपचारको दायरामा ल्याइने र प्रभावितको सम्पर्कमा आएका व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाइने भएकाले यो अभिनयान प्रभावकारी हुने विश्वास व्यक्त गरे।
![]()