काठमाडौँ– बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। घटस्थापनाबाट सुरु भएको नौदिने धार्मिक अनुष्ठानअन्तर्गत आज भक्तजनले चन्द्रघण्टाको उपासना गरी वीरता, निर्भयता र सौम्यताको कामना गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार पार्वतीको सौन्दर्यपूर्ण स्वरूप मानिने चन्द्रघण्टाको पूजा गर्नाले साधकमा साहस र निर्भयतासँगै विनम्रता तथा शान्त स्वभावको विकास हुन्छ। देवीको शिरमा अर्धचन्द्रको आभूषण घण्टजस्तो देखिने भएकाले उनलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रमा उल्लेख छ। श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीलाई आसुरी प्रवृत्ति र हिंसाको विनाश गरी सज्जनको रक्षा गर्ने शक्तिका रूपमा व्याख्या गरिएको छ। त्यसैले उनको आराधनालाई नकारात्मक प्रवृत्तिमाथि विजय र सकारात्मक गुणको विकाससँग जोडेर हेरिन्छ। नवरात्रका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी मन्दिरमा भक्तजन पूजा आराधनाका लागि पुगिरहेका छन्। त्यस्तै, उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना र दाङको अम्बिकेश्वरीलगायत शक्तिपीठमा पनि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ। यसपछि चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने धार्मिक परम्परा छ।


