काठमाडौं– चीनले हालैको बाढीबाट प्रभावित नेपालको पुनर्निर्माण तथा विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको प्रश्नको जवाफ दिँदै नेपाललाई पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने बताएका हुन्। नेपालले हालैको बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमार्फत आर्थिक स्रोत जुटाउने तयारी गरिरहेको सन्दर्भमा चीनको यस्तो प्रतिबद्धता आएको हो। सम्मेलनमा सहयोग गर्ने सङ्केत गरे पनि चीनले हालसम्म सहयोग रकम भने सार्वजनिक गरेको छैन। प्रवक्ता गुओले बाढीबाट भएको ठूलो क्षति र पुनर्निर्माणका चुनौतीप्रति चीन जानकार रहेको उल्लेख गर्दै विपद् प्रभावित नेपाली नागरिकको जीवन सामान्य बनाउन सहयोग गर्ने बताए। उनले यसअघि प्रदान गरिएको आपत्कालीन सहायताबाहेक प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न तथा उनीहरूको दैनिकी र आर्थिक गतिविधि पुनः सञ्चालन गर्न चीनले सहयोग गर्ने स्पष्ट पारे। चीनले पुनर्निर्माणमा मात्रै नभई भविष्यमा हुन सक्ने प्राकृतिक विपद्का जोखिम न्यूनीकरण गर्न नेपालको क्षमता अभिवृद्धिमा समेत सघाउने जनाएको छ। यसका लागि विपद् रोकथाम तथा व्यवस्थापनसम्बन्धी क्षमता विकासमा सहयोग गर्ने गुओको भनाइ छ। नेपालमा बाढीपहिरोको विपद् देखिएलगत्तै चीनले उद्धार तथा राहतका काममा सहयोग गरेको थियो। चीन र नेपाल हिमाल तथा नदीले जोडिएका मित्रवत् छिमेकी रहेको उल्लेख गर्दै गुओले उत्तरी नेपालमा ठूलो गेग्रानको बाढी आएपछि चीनले तत्काल आपत्कालीन सहायता घोषणा गर्नुका साथै उद्धार कार्यमा सहकार्य गरेको स्मरण गराए। उनका अनुसार चीनले नेपाललाई नगद सहायता र पाँच खेप आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो। त्यसैगरी सुरुङ उद्धार तथा विधि विज्ञान पहिचानमा विशेषज्ञता भएका २० भन्दा बढी विज्ञ नेपाल पठाएको थियो। चीनले विपद्का बेला मौसम, जल तथा भूगर्भसम्बन्धी तथ्याङ्कसमेत निरन्तर आदानप्रदान गरेको जनाएको छ। यसबाट विपद्को जोखिम पहिचान र पूर्वतयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसका अतिरिक्त चीनका विभिन्न क्षेत्रका नागरिकले पनि व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग जुटाएर नेपाली जनताप्रति सद्भाव र समर्थन प्रकट गरेको प्रवक्ता गुओले बताए।


