चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 4 of 1108
  • 2026-10-08
  • 12:42:57
  • बिहिबार,आश्विन २२, २०८३

About Author

एनपिएलको तयारी अन्तिम चरणमा, दर्शक सुविधामा विशेष जोड

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणलाई अघिल्ला संस्करणभन्दा व्यवस्थित र दर्शकमैत्री बनाउने तयारी तीव्र पारिएको छ। प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार यस पटक मैदानमा दर्शक क्षमता बढाउनेदेखि प्रवेशद्वार, आवतजावत र अन्य आधारभूत सुविधामा सुधार गरिँदैछ। एनपिएलको प्रत्येक संस्करणसँगै दर्शकको आकर्षण बढ्दै गएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै थप दर्शकलाई मैदानमा खेल हेर्ने वातावरण बनाउने तयारी भइरहेको उनले बताए। “तयारीको अन्तिम चरणमा छौँ। प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ,” सचिव खड्काले भने, “दसैँसम्म सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने योजना छ।” गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यस पटक मैदान परिसरमा केही नयाँ संरचना थपिँदैछन्। दर्शकको चापलाई ध्यानमा राखेर थप दर्शक अटाउन सकिने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको क्यानले जनाएको छ। मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा समेत सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर सुधारको पहल भइरहेको छ। टिकट लिएर मैदान पुगेका दर्शकलाई प्रवेशदेखि खेल सकिएर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा ध्यान दिइएको सचिव खड्काले बताए। गत संस्करणमा दर्शकले शौचालय तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोगेका थिए। यस पटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक तयारी गरिएको क्यानको भनाइ छ। दसैँ–तिहारबीच एनपिएल, दर्शकको उत्साहमा क्यान विश्वस्त: तेस्रो संस्करण दसैँ र तिहारको बीचमा आयोजना हुन लागे पनि दर्शकको उपस्थितिमा ठूलो असर नपर्ने क्यानको विश्वास छ। नेपाली क्रिकेटको ‘फ्यान बेस’ बलियो भएकाले चाडपर्वको समय भए पनि खेल हेर्न दर्शकको उत्साह कायम रहने सचिव खड्काले बताए। एनपिएलको मिति तय गर्दा अन्तर्राष्ट्रिय क्रिकेट तथा अन्य फ्रेन्चाइज लिगको तालिका र विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको उनले जानकारी दिए। ती पक्षलाई हेर्दा यस वर्ष दसैँ–तिहारबीचको समय प्रतियोगिताका लागि उपयुक्त देखिएको उनको भनाइ छ। तेस्रो संस्करणका लागि सहभागी टोलीहरूले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रमसमेत तीव्र पारेका छन्। विदेशी खेलाडीको उपस्थितिले एनपिएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ। सचिव खड्काले टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुर मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म ल्याउने विश्वास व्यक्त गरे। “यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन्। टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ,” उनले भने। एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।

News by एनपिएलको तयारी अन्तिम चरणमा, दर्शक सुविधामा विशेष जोड :