चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 229 of 1153
  • 2026-11-22
  • 17:09:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर)विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसंघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ। विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्‍याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको । यस वर्षको दिवसका अवसरमा आइडिएफआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्त्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य लाभान्वित छन्। विगत एक दशकमा आप्रवासीहरूले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा करिब पाँच खर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन्। जुन वैदेशिक विकास सहायता रकमभन्दा बढी तथा प्रत्यक्ष वैदेशिक लगानीसरह रहेको उल्लेख गरिएको छ। तीमध्ये एकतिहाइभन्दा बढी रकम ग्रामीण क्षेत्रमा पुगेको अनुमान छ। अभियानले विश्वका करिब ४४ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने र अत्यधिक गरिबीमा रहेका झण्डै ८० प्रतिशत मानिस पनि यिनै क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रहरू जलवायुजन्य विपद्, बजार अस्थिरता र आर्थिक जोखिमको सामना गरिरहेका भए पनि विकासका अपार सम्भावना बोकेको जनाएको छ। हाल न्यून तथा मध्यम आय भएका मुलुकहरूमा वार्षिक करिब ७०० अर्ब अमेरिकी डलर बराबरको विप्रेषण भित्रिने गरेको छ। सन् २०३० सम्म थप ४.४ खर्ब अमेरिकी डलर विप्रेषण यस्ता मुलुकहरूमा प्रवाह हुने अनुमान गरिएको छ। दिगो विकासका लागि सन् २०३० को कार्यसूचीअन्तर्गत रहेको दिगो विकास लक्ष्य १० (सी)ले आप्रवासी विप्रेषणको कारोबार लागत तीन प्रतिशतभन्दा कममा झार्ने तथा पाँच प्रतिशतभन्दा बढी लागत लाग्ने मार्गहरू हटाउने लक्ष्य लिएको छ। विप्रेषणले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा आर्थिक स्थायित्वलगायत विभिन्न दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्‍याउने बताइएको छ। अभियानले निजी क्षेत्रलाई सस्तो, पहुँचयोग्य तथा प्रतिस्पर्धी विप्रेषण सेवा विस्तार गर्न, विप्रेषणसँग आबद्ध वित्तीय उत्पादन विकास गर्न तथा प्रवासी समुदायको पूँजी र उद्यमशीलतालाई ग्रामीण बजार सुदृढीकरणमा परिचालन गर्न आग्रह गरेको छ। त्यसैगरी सार्वजनिक क्षेत्रलाई डिजिटल वित्तीय समावेशीकरण, लगानीमैत्री नीति तथा ग्रामीण बजार एकीकरणका लागि आवश्यक पूर्वाधार विकास गर्न सुझाव दिइएको छ। हाल विप्रेषणको करिब ७५ प्रतिशत हिस्सा परिवारका तत्कालीन आवश्यकतामा खर्च हुने गरेको र बाँकी २५ प्रतिशत अर्थात् वार्षिक १०० अर्ब अमेरिकी डलरभन्दा बढी रकम बचत तथा लगानीका लागि उपयोग हुन सक्ने अनुमान गरिएको छ। उपयुक्त वित्तीय सेवा र लगानीका अवसर उपलब्ध गराउन सके विप्रेषणलाई दीर्घकालीन आर्थिक विकास, उद्यम विस्तार तथा रोजगारी सिर्जनाको आधार बनाउन सकिने अभियानले जनाएको छ। विश्वका ८० भन्दाबढी मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा कम्तीमा तीन प्रतिशत रहेको तथा ३० वटा मुलुकमा यो हिस्सा १० प्रतिशतभन्दा बढी रहेको तथ्यांकले विप्रेषण सामाजिक–आर्थिक रूपान्तरणको महत्त्वपूर्ण आधार बनेको देखाएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा विप्रेषणले आर्थिक गतिविधि विस्तार, जीविकोपार्जन सुधार तथा समुदायको उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरिएको छ।

News by आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै :