काठमाडौं– जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति लिएका छन्।
जसमा ५३ हजार ६ सय ९८ जना पुरूष र ७ हजार ३ सय ७४ महिला रहेका छन्। वैशाख महिनामा भने ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।
वैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार ३ सय ५७ ले कमी आएको हो। जेठ महिनामा म्यानपावर कम्पनीहरूमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमार्फत ११ हजार ५ सय ३ जना, जी–टु–जी मार्फत ६ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन्।
एक महिनाको अवधिमा २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने विभिन्न देशमा विना कागजात बनेका ९१ जना वैधानीकरण भएका छन्।
जेठ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन्। मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै यूएईका लागि ५ हजार ३ सय ९४ जना, कतारका लागि २ हजार ८ सय ८३ जना, साउदीका लागि २ हजार ५ सय ९८ जना, रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन्।