निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी, १२ सयभन्दा बढी विपन्न नागरिक लाभान्वित - Chaitanya News
  • 2026-06-16
  • 19:37:56
  • मंगलबार,आषाढ ०२, २०८३
  • निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी, १२ सयभन्दा बढी विपन्न नागरिक लाभान्वित

    निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी, १२ सयभन्दा बढी विपन्न नागरिक लाभान्वित

    काठमाडौँ– सरकारले विपन्न तथा असहाय नागरिकलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ प्रभावकारी बन्दै गएको छ। गत वैशाख ३ गतेदेखि सञ्चालनमा आएको उक्त पोर्टलमार्फत हालसम्म एक हजार २०० भन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी संवैधानिक हकको प्रभावकारी कार्यान्वयनका लागि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना उपलब्ध गराउने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो। पोर्टलमार्फत देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शैय्या तथा सेवाबारे अद्यावधिक जानकारी सार्वजनिक गरिँदै आएको छ।

    मन्त्रालयका अनुसार देशभरका अस्पतालमा हाल कुल २३ हजार ४५६ शैय्या उपलब्ध छन्। तीमध्ये १० प्रतिशत अर्थात् दुई हजार ३५६ शैय्या निःशुल्क उपचारका लागि छुट्याइएका छन्। हाल ३५४ शैय्यामा बिरामी उपचाररत रहेका छन् भने दुई हजार दुई शैय्या तत्काल प्रयोगका लागि उपलब्ध छन्।

    पोर्टलमा कुल शैय्या संख्या, निःशुल्क शैय्या, प्रयोगमा रहेका शैय्या तथा खाली रहेका शैय्याको विवरण नियमित अद्यावधिक गरिने व्यवस्था गरिएको छ। मन्त्रालयले आगामी दिनमा अस्पतालबाट उपलब्ध हुने अन्य सेवासम्बन्धी जानकारी पनि पोर्टलमार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानुनले विपन्न वर्गलाई सुनिश्चित गरेको स्वास्थ्य सेवाको पहुँच व्यवहारमै स्थापित गर्न पोर्टल सञ्चालनमा ल्याइएको बताइन्।

    उनले भनिन्, “विगतमा लक्षित वर्गले निःशुल्क सेवा पाउने–नपाउने अवस्था अस्पतालको अभ्यासमा निर्भर हुने गरेको थियो। पोर्टलमार्फत अब सेवाको उपलब्धता पारदर्शी र पहुँचयोग्य बनेको छ।”

    नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। त्यस्तै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत शैय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था छ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार निःशुल्क उपचार सेवा प्रभावकारी, पारदर्शी र सहज बनाउन पोर्टल विकास गरिएको हो। उनका अनुसार कार्यविधि लागू भएपछि निःशुल्क उपचारअन्तर्गत समेटिने सेवाबारेको अन्योल पनि हटेको छ।

    कार्यविधिअनुसार अस्पतालहरूले निःशुल्क शैय्यासम्बन्धी सम्पूर्ण जानकारी पोर्टल तथा सूचना पाटीमार्फत सार्वजनिक गर्नुपर्नेछ। साथै निःशुल्क शैय्यामा भर्ना भएका बिरामीलाई अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

    मन्त्रालयले पोर्टलको प्रभावकारी कार्यान्वयन तथा अस्पतालहरूको अनुगमनका लागि छ वटा समिति गठन गरी ११ वटा संघीय अस्पतालमा परिचालन गरिसकेको जनाएको छ।