फिफा विश्वकप २०२६ मा इराकमाथि नर्वेको शानदार जित - Chaitanya News
  • 2026-06-17
  • 10:32:11
  • बुधबार,आषाढ ०३, २०८३
  • फिफा विश्वकप २०२६ मा इराकमाथि नर्वेको शानदार जित

    फिफा विश्वकप २०२६ मा इराकमाथि नर्वेको शानदार जित

    काठमाडौँ– फिफा विश्वकप २०२६ मा हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले विजयी सुरुवात गरेको छ।

    अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्‍यो।

    २५ वर्षीय हालाण्डले विश्वकप डेब्यु खेलमै चम्कँदै राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ५१ खेलमा ५७ पुर्‍याए। २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले यससँगै सुखद सुरुआत गरेको हो।

    ४० वर्षपछि विश्वकपमा पुनरागमन गरेको इराकले खेलको सुरुआती चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नर्वेलाई कडा चुनौती दिएको थियो।

    तर पहिलो हाफको हाइड्रेसन ब्रेकपछि ५८ सेकेन्डमै नर्वेले अग्रता लियो। बायाँ विंगबाट डेभिड मोलर वुल्फेले दिएको लो–क्रसलाई हालाण्डले स्लाइड गर्दै जाली चुमाए।

    इराकले ३९औँ मिनेटमा खेल बराबरीमा ल्यायो। आमिर अल–अम्मारीको क्रसमा अयमेन हुसेनले शक्तिशाली हेडरमार्फत गोल गर्दै स्कोर १–१ बनाए।

    हुसेनले मार्चमा बोलिभियाविरुद्धको अन्तरमहादेशीय प्लेअफ फाइनलमा निर्णायक गोल गर्दै इराकलाई विश्वकपमा पुर्‍याएका थिए।

    तर इराकको खुसी धेरै बेर टिकेन। बराबरी गोलको चार मिनेटपछि गोलकिपर जलाल हसनले ब्याकपास क्लियर गर्न ढिलाइ गर्दा हालाण्डले दबाब सिर्जना गरे। उनको प्रयासपछि बल हसनलाई लागेर जालीमा पुगेपछि नर्वेले पुनः अग्रता लियो।

    पहिलो हाफको अन्त्यतिर भने इराकले लगातार अवसर सिर्जना गर्‍यो। इब्राहिम बायेसको भली डिफ्लेक्ट हुँदै बाहिरियो भने अली अल–हमादीलाई नर्वेली डिफेन्डर क्रिस्टोफर आयरले पेनाल्टी क्षेत्रभित्र रोक्न सफल भए।

    यस्तै अकाम हाशिमको २० यार्ड टाढाबाट प्रहार गरिएको शानदार भली बारमाथिबाट थोरैले बाहिरियो।

    दोस्रो हाफमा इराकका वैकल्पिक खेलाडी जिदान इकबाल मैदान प्रवेश गरेसँगै पुरुष विश्वकपमा खेल्ने पाकिस्तानी मूलका पहिलो खेलाडी बने।

    ७६औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डको कर्नरमा वैकल्पिक डिफेन्डर लियो ओस्टिगार्डले हेडरमार्फत गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए।

    इन्जुरी समयमा हालाण्डको हेडरलाई रोक्ने क्रममा हुसेनबाट आत्मघाती गोल भएपछि नर्वेले ४–१ को सहज जित सुनिश्चित गर्‍यो। यो जितसँगै नर्वेले विश्वकपमा विजयी सुरुआत गरेको छ भने इराकको पहिलो विश्वकप अंकको प्रतीक्षा अझै कायम रहेको छ।