चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-05
  • 02:59:22
  • आइतबार,आश्विन १८, २०८३

About Author

आचरणमा नैतिकता, चिन्तनमा सकारात्मकता: युवाको नवजागरण    

तोमनाथ उप्रेती: समाजको रूपान्तरणका लागि मानिसको चेतना, चरित्र र आचरणमा पनि परिवर्तन आवश्यक हुन्छ। कुनै पनि राष्ट्रको भविष्य त्यसका संस्थाहरूमा जति निर्भर हुन्छ, त्यति नै त्यसका युवाको मूल्यबोध, नैतिक अनुशासन र सिर्जनात्मक ऊर्जामा निर्भर हुन्छ। युवा जनशक्ति परिवर्तनको सम्भावना, सामाजिक गतिशीलताको वाहक र भविष्य निर्माणको निर्णायक शक्ति हो। त्यसैले युवाको सशक्तीकरणलाई सीप, रोजगारी र अवसरमा मात्र सीमित गर्नु पर्याप्त हुँदैन। त्यससँगै नैतिक चरित्र, सकारात्मक चिन्तन, सामाजिक उत्तरदायित्व र सार्वजनिक हितप्रतिको प्रतिबद्धता विकास गर्नु आवश्यक हुन्छ। नैतिकता मानिसको बाह्य व्यवहारलाई नियन्त्रण गर्ने नियमको मात्र नाम होइन; यो सही र गलतबीच विवेकपूर्ण निर्णय गर्न सक्ने आन्तरिक चेतना हो। इमानदारी, अनुशासन, सहिष्णुता, न्यायबोध, उत्तरदायित्व, करुणा र अरूको सम्मानजस्ता मूल्यहरू व्यक्तिको चरित्र निर्माणका आधार हुन्। युवा पुस्तामा यी मूल्यहरू बलियो भएमा सामाजिक विश्वास बढ्छ, सार्वजनिक संस्थाप्रतिको भरोसा सुदृढ हुन्छ र नागरिक सम्बन्धमा जिम्मेवारीको संस्कार विकसित हुन्छ। यसको विपरीत अवसरवाद, हिंसा, असहिष्णुता, भ्रष्ट आचरण र तत्काल लाभको मानसिकताले व्यक्तिको मात्र होइन, संस्थागत जीवनकै नैतिक आधार कमजोर बनाउँछ। यसैगरी सकारात्मक चिन्तनको अर्थ कठिन परिस्थितिभित्र पनि सम्भावना पहिचान गर्ने, असफलताबाट सिक्ने र समस्यालाई समाधानतर्फ रूपान्तरण गर्ने मानसिक क्षमता हो। आजको डिजिटल युगमा युवाहरू सूचना, विचार र प्रभावको अभूतपूर्व प्रवाहबीच बाँचिरहेका छन्। सामाजिक सञ्जालले ज्ञान र अभिव्यक्तिका नयाँ अवसर सिर्जना गरे पनि गलत सूचना, घृणा, निराशा, तुलना र आक्रोशको संस्कृतिले मानसिक तथा सामाजिक वातावरणलाई प्रभावित गर्न सक्छ। यस्तो अवस्थामा आलोचनात्मक विवेकसहितको सकारात्मक चेतना झन् आवश्यक हुन्छ। मानव जीवनको सार भौतिक उपलब्धि र सांसारिक सुखमा मात्र सीमित छैन। वास्तविक जीवनको मूल्य तब मात्र उजागर हुन्छ, जब मानवीय सद्गुण, नैतिकता र जीवन दर्शनको जेन जी समन्वय प्राप्त हुन्छ। मानवको आचरण, सोच र कर्म नै उसको व्यक्तित्वको आधारशिला हुन्। जीवन दर्शनले मानिसलाई मात्र नभएर सम्पूर्ण समाजलाई नै मार्गदर्शन गर्दछ, जसले सद्गुणपूर्ण जीवनको मार्गप्रशस्त गर्दछ। जब व्यक्ति आफ्नो आचरणमा मानवता, दया, सहिष्णुता, इमानदारी र सेवा भाव समाहित गर्दछ, तब उसले समाजमा स्थायी सकारात्मक प्रभाव पार्न सक्षम हुन्छ। मानव जीवनमा नैतिकता र जीवन दर्शनको मेलले व्यक्तिलाई दिगो र स्थायी मूल्यप्राप्त जीवनतर्फ अग्रसर गराउँछ। जीवनको प्रत्येक क्षणमा निर्णय, व्यवहार र प्रतिक्रिया नैतिकता र दर्शनको आधारमा निर्धारण हुन्छ। उदाहरणस्वरूप, जब व्यक्ति व्यापार, शिक्षा, प्रशासन वा कुनै पनि पेशागत क्षेत्रमा कार्य गर्दा इमानदारी, न्याय, करुणा र सहिष्णुता अपनाउँछ, तब उसको क्रियाकलाप समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। जीवन दर्शनले उसलाई केवल आफ्नो भलाइमा सीमित नराखी, अरूको हित, समाजको कल्याण र राष्ट्रको प्रगतिको विचार गर्न प्रेरित गर्छ। सकारात्मक सोच जीवन दर्शनको अर्को महत्वपूर्ण पक्ष हो। जब व्यक्ति आफ्नो सोचमा सकारात्मक दृष्टिकोण राख्छ, तब उसले जीवनका कठिनाइ र चुनौतीहरूलाई सहजतापूर्वक सामना गर्न सक्छ। सकारात्मक सोचले मानिसको मानसिक स्थिरता बढाउँछ र विभिन्न समस्याहरूको समाधान खोज्न उत्प्रेरित गर्दछ। यदि सोच र दृष्टिकोण मानवीय सद्गुणसँग जोडिन्छ भने, त्यसले व्यक्तिको सामाजिक र व्यक्तिगत जीवनमा उत्कृष्टता ल्याउँछ। यसरी सकारात्मक सोच र नैतिक आचरणको मिश्रणले मानिसलाई मात्र होइन, समाज र राष्ट्रलाई पनि लाभ पुर्याउँछ। मानवीय सद्गुण र जीवन दर्शनको सुन्दर मिलनले व्यक्ति र समाजबीचको सम्बन्धलाई सशक्त बनाउँछ। यसले व्यक्तिलाई सामाजिक उत्तरदायित्व, पारस्परिक सम्मान र दायित्वबोधका माध्यमबाट समृद्ध बनाउँछ। व्यक्तिले आफ्नो कर्ममा न्याय, सच्चाइ र करुणाको आधार अपनाउँदा, समाजमा विश्वास र सद्भावना बढ्छ। यसरी नैतिक र दर्शनपूर्ण जीवनले सम्पूर्ण मानव समाजलाई स्थायित्व र शान्ति प्रदान गर्दछ। प्राचीन धर्मग्रन्थ र दार्शनिक शिक्षाहरूले पनि यस विषयको महत्वलाई बल दिएका छन्। भगवद्गीता, उपनिषद्, बुद्धका उपदेश र विभिन्न धार्मिक तथा दार्शनिक ग्रन्थहरूले जीवनको वास्तविक मूल्य र मानव सद्गुणको महत्व स्पष्ट पारेका छन्। ती ग्रन्थहरूले देखाउँछन् कि आफ्नो इच्छाहरू, क्रोध, लोभ, मोह र अन्य नकारात्मक प्रवृत्तिहरूलाई नियन्त्रणमा राखेर मात्र व्यक्ति सत्य, ज्ञान र शान्तिमा पहुँच प्राप्त गर्न सक्छ। जब व्यक्ति आत्म–नियन्त्रण र मानवीय सद्गुणको अभ्यास गर्दै आफ्नो जीवन दर्शनलाई अवलम्बन गर्छ, तब उसले आन्तरिक सुख, आत्म–सन्तोष र मानसिक शान्ति अनुभव गर्दछ। मानवीय सद्गुण र जीवन दर्शनको मेलले नेतृत्व र समाजमा पनि उत्कृष्ट प्रभाव पार्दछ। यस्तो व्यक्ति केवल आफ्नै हितमा सीमित रहँदैन, बरु अरूको भलाइमा सक्रिय योगदान पुर्याउँछ। उसले समाजको उत्थान, शिक्षा, स्वास्थ्य, न्याय र समानताका लागि पहल गर्छ। यो मेल व्यक्तिलाई नैतिक, सामाजिक र आध्यात्मिक दृष्टिले सक्षम बनाउँछ। नेतृत्वमा यस्ता गुणहरूको अभ्यासले अनुयायीहरूलाई मात्र प्रेरणा प्रदान गर्दैन, बरु समाजमा नैतिकता र मानवताको पुनःस्थापनामा ठूलो योगदान पुर्याउँछ। मानव जीवनको सच्चा सार तब मात्र प्रकट हुन्छ, जब मानवीय सद्गुण, सकारात्मक सोच र जीवन दर्शनको सुन्दर मिलन अवलम्बन गरिन्छ। यसले व्यक्तिलाई आत्मसाक्षात्कार, मानसिक शान्ति, सामाजिक उत्तरदायित्व र स्थायी मूल्यको मार्ग प्रदान गर्दछ। जीवन अस्तित्वको नाममा सीमित नराखी, यसको उद्देश्य, दायित्व र नैतिकता प्रकट गर्ने माध्यम बन्न सक्छ। यसरी, जीवन दर्शन र मानवीय सद्गुणको कुसल मिलनले व्यक्तिलाई मात्र होइन, सम्पूर्ण मानव समाजलाई दिगो शान्ति, समृद्धि र आनन्दप्रद जीवनतर्फ अग्रसर गराउँछ। मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।स्वार्थ, लोभ, लालसा, आसक्ति, आग्रह आदिलाई दबाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीं सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ । किनकि, सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ। सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ । जब युवा आफैंमा नैतिक मूल्यको पालन गर्छन्, तब उनीहरूले अरूसँगको सम्बन्धमा सहानुभूति, न्याय र सम्मानको वातावरण सिर्जना गर्छन् । नैतिक आचरणले मात्र होइन, यसले युवालाई सामाजिक जिम्मेवारी बुझ्न र नागरिकताको सही अभ्यास गर्न प्रेरित गर्छ । उदाहरणस्वरूप, विद्यालय वा सामाजिक संस्था मा स्वयंसेवा गर्ने, असमानता विरुद्ध आवाज उठाउने, र समुदायको भलोमा योगदान पुर्याउने गतिविधिहरू नैतिक आचरणको प्रत्यक्ष उदाहरण हुन् ।जब युवा सकारात्मक ऊर्जा लिएर अगाडि बढ्छन्, उनीहरूले चुनौतीलाई अवसरमा बदल्ने क्षमता पाउँछन् । सकारात्मक सोचले सामाजिक र राजनीतिक चेतनामा पनि योगदान पुर्याउँछ । उदाहरणका लागि, विद्यार्थी आन्दोलनमा भाग लिँदा, सामाजिक परियोजनामा सक्रिय भएर, वा वातावरणीय संरक्षण अभियानमा योगदान दिएर युवा समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । युवाको नवजागरणको अर्थ मूल्य, विचार र कर्मको पुनर्जागरण हो। शिक्षाले प्रमाणपत्र मात्र होइन, चरित्र निर्माण गर्नुपर्छ। परिवारले नियन्त्रण मात्र होइन, नैतिक संवादको वातावरण बनाउनुपर्छ। विद्यालय र विश्वविद्यालयले ज्ञानसँगै नागरिक उत्तरदायित्व, अनुसन्धान, सिर्जनशीलता र सामाजिक सेवाको संस्कार विकास गर्नुपर्छ। राज्यले युवालाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता, उद्यमशीलता, रोजगारी र नेतृत्वका अवसर उपलब्ध गराउनुपर्छ। समाजले पनि युवालाई समस्याको स्रोतका रूपमा होइन, समाधानका साझेदारका रूपमा हेर्नुपर्छ। युवा सशक्तीकरणको अन्तिम उद्देश्य शक्तिशाली व्यक्ति निर्माण गर्नु मात्र होइन; जिम्मेवार नागरिक निर्माण गर्नु हो। नैतिकता बिना शक्ति स्वार्थको साधन बन्न सक्छ र सकारात्मक चिन्तन बिना प्रतिभा दिशाहीन हुन सक्छ। तर जब आचरणमा नैतिकता, चिन्तनमा सकारात्मकता र कर्ममा सामाजिक उत्तरदायित्व जोडिन्छ, त्यहाँ युवा शक्ति राष्ट्रनिर्माणको रचनात्मक ऊर्जा बन्न पुग्छ। यस अर्थमा युवाको नवजागरण दीर्घकालीन सामाजिक संस्कार निर्माणको प्रक्रिया हो। राष्ट्रको भविष्य युवाको हातमा छ भन्ने सामान्य कथनलाई सार्थक बनाउन युवाको हातमा अवसरसँगै विवेक, स्वतन्त्रतासँगै उत्तरदायित्व र ऊर्जासँगै नैतिक दिशा दिनुपर्छ। नैतिक चरित्रले युवाको शक्तिलाई दिशा दिन्छ, सकारात्मक चिन्तनले त्यसलाई गति दिन्छ र सामाजिक उत्तरदायित्वले त्यसलाई राष्ट्रनिर्माणसँग जोड्छ। यही समन्वयबाट जन्मिने युवा चेतना नै समुन्नत, न्यायपूर्ण र मानवीय समाजको आधार बन्न सक्छ। (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)

News by आचरणमा नैतिकता, चिन्तनमा सकारात्मकता: युवाको नवजागरण     :