चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 26 of 1151
  • 2026-11-21
  • 11:35:47
  • शनिबार,मंसिर ०६, २०८३

About Author

‘डिजिटल वित्तीय सेवाको विकासका लागि राष्ट्र बैंकले नवप्रवर्तनलाई प्राथमिकता दिएको छ’ : गभर्नर पौडेल

काठमाडौँ– नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको विकास र विस्तारका लागि नयाँ रणनीतिक पहल अघि बढाएको छ । डिजिटल वित्तीय सेवालाई थप प्रभावकारी बनाउँदै नवीन प्रविधिमा आधारित सेवा तथा व्यावसायिक मोडेल विकास गर्न बैंकले नियामकीय व्यवस्था सुदृढ पार्नुका साथै नवप्रवर्तनमैत्री वातावरण निर्माण गरिरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले फिनटेक क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा सुपरिवेक्षकीय व्यवस्था मिलाउँदै आएको बताएका छन् । सोमबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले वित्तीय प्रविधिको विकासले परम्परागत बैंकिङ तथा वित्तीय सेवा प्रवाहको शैली परिवर्तन गरिरहेको उल्लेख गरे । उनका अनुसार कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा परिवर्तन ल्याउनेछ । यस्ता प्रविधिले वित्तीय समावेशिता बढाउनुका साथै वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा समेत योगदान पुर्‍याउने उनको विश्वास छ । गभर्नर पौडेलले नेपालको डिजिटल वित्तीय सेवाको यात्रा विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट सुरु भएर अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा अन्य नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको बताए । राष्ट्र बैंकले पछिल्लो समय भुक्तानी प्रणालीमा मात्र नभई समग्र वित्तीय सेवाको रूपान्तरणमा सहयोग पुग्ने फिनटेक नवप्रवर्तनलाई प्राथमिकता दिएको उनको भनाइ छ । यसका लागि राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, रेगुलेटरी स्यान्डबक्स कार्यान्वयन तथा सन् २०२६/२७ देखि २०३०/३१ सम्मका लागि फिनटेक रणनीति तर्जुमा र कार्यान्वयन अघि बढाएको छ । यी कार्यक्रमले बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधिको प्रयोग, नवीन वित्तीय सेवा र व्यावसायिक मोडेलको विकास तथा प्रविधिमा आधारित नवप्रवर्तक र वित्तीय सेवा प्रदायकबीचको सहकार्य विस्तार गर्ने पौडेलले बताए । उनले फिनटेक क्षेत्रको दिगो विकासका लागि राष्ट्र बैंकको प्रयास मात्रै पर्याप्त नहुने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी, नवप्रवर्तक र सरकारी निकायबीच निरन्तर समन्वय तथा सहकार्य आवश्यक रहेको बताए । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवाको विकास, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा समेत काम गरिरहेको छ । आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारी विस्तार गर्दै वित्तीय प्रविधिको विकासलाई थप गति दिने सम्भावना रहेको गभर्नर पौडेलले बताए।

News by ‘डिजिटल वित्तीय सेवाको विकासका लागि राष्ट्र बैंकले नवप्रवर्तनलाई प्राथमिकता दिएको छ’ : गभर्नर पौडेल :