आज ११ देखि २ बजेसम्म मलेखु–मुग्लिङ सडकमा गाडी चलाउन नपाइने - Chaitanya News
  • 2026-11-02
  • 09:31:43
  • सोमबार,कार्तिक १७, २०८३
  • आज ११ देखि २ बजेसम्म मलेखु–मुग्लिङ सडकमा गाडी चलाउन नपाइने

    आज ११ देखि २ बजेसम्म मलेखु–मुग्लिङ सडकमा गाडी चलाउन नपाइने

    चितवन– पृथ्वी राजमार्गअन्तर्गत व्यस्त मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलमा गर्डर राख्ने काम गर्नुपर्ने भएपछि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो ।

    नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका अनुसार पुलमा यात्रु आवतजावत गर्ने भाग (गर्डर) राख्ने क्रममा सुरक्षाका दृष्टिले सडक बन्द गर्नुपर्ने भएको हो ।

    आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रले निर्धारित समयमा मलेखु–मुग्लिङ सडकखण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिने जानकारी दिए ।

    सडक बन्द भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालक प्रभावित हुनेछन् । विशेषगरी लामो दूरीका सवारीसाधनले आफ्नो यात्रा समय व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

    आयोजनाले सडक बन्द रहने अवधिमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक आ–आफ्नो स्थानमा रहन, लेन अनुशासन कायम गर्न र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ ।

    निर्माण कार्यका क्रममा हुन सक्ने असुविधाप्रति आयोजनाले क्षमासमेत मागेको छ ।