राहतपछि पुनर्निर्माणमा जुट्यो जलजला, क्षतिको लगत संकलन अन्तिम चरणमा - Chaitanya News
  • 2026-11-02
  • 09:23:20
  • सोमबार,कार्तिक १७, २०८३
  • राहतपछि पुनर्निर्माणमा जुट्यो जलजला, क्षतिको लगत संकलन अन्तिम चरणमा

    राहतपछि पुनर्निर्माणमा जुट्यो जलजला, क्षतिको लगत संकलन अन्तिम चरणमा

    म्याग्दी– मनसुनजन्य विपद्ले ठूलो क्षति पुर्‍याएको पर्वतको जलजला गाउँपालिकामा बाढीपहिरो प्रभावित निजी आवासको क्षति मूल्यांकन अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोले गाउँपालिकाका सयौँ घर प्रभावित भएका छन् ।

    बाढीपहिरोबाट क्षति पुगेका घरको पुनर्निर्माण, प्रबलीकरण र पुनःस्थापनाका लागि गाउँपालिकाले जनप्रतिनिधि तथा प्राविधिक सम्मिलित टोली परिचालन गरेर क्षतिको विवरण संकलन र मूल्यांकन गरिरहेको छ ।

    गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार वडा नं १, २, ३, ४, ५, ६ र ९ मा स्थलगत निरीक्षण, क्षति मूल्यांकन र निस्सा वितरणको काम सम्पन्न भइसकेको छ । सबैभन्दा बढी प्रभावित वडा नं ७ धाइरिङ र नाग्लीवाङमा पनि एक–दुई दिनभित्र मूल्यांकन तथा निस्सा वितरणको काम सकिने उनले बताए ।

    उनका अनुसार विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने चरणपछि अहिले अस्थायी आवास व्यवस्थापन र पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

    गाउँपालिकाको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण ३१६ घरमा क्षति पुगेको छ । त्यसमध्ये १२६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ५० घरमा आंशिक क्षति पुगेको छ । थप १४० घर जोखिममा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप लामिछानेले जानकारी दिए ।

    क्षतिको विवरण संकलनपछि प्रारम्भिक लेखाजोखा तयार गरी सूचना प्रणालीमा प्रविष्ट गरिनेछ । त्यसपछि प्रभावित परिवारको पहिचान गरी लाभग्राहीको सूची जिल्लामा पठाइनेछ । क्षतिको अवस्थाअनुसार कुन घर प्रबलीकरण गर्नुपर्ने, कुन पुनर्निर्माण गर्नुपर्ने र कुन स्थानमा पुनःस्थापना आवश्यक पर्ने हो भन्ने वर्गीकरण गरी जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिने उपाध्यक्ष आचार्यले बताए ।

    जलजलामा सबैभन्दा ठूलो क्षति वडा नं ८ स्थित फर्सेमा पुगेको छ । कालीगण्डकी नदीको बाढीले त्यहाँ ७५ घर बगाएको छ भने थप २७ घर जोखिममा परेका छन् । वडा नं ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं ४ को लामाखेतमा समेत बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ । ताङवाङ र खानीगाउँका ३५ परिवार पहिरोका कारण विस्थापित भएका छन् ।

    विपद्ले निजी आवासमा मात्र नभई खाद्य उत्पादन र भौतिक पूर्वाधारमा समेत गम्भीर असर पारेको छ । कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन बगाएको छ । सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका लागि निर्माण गरिएका संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

    बाढीपहिरोबाट प्रभावितमध्ये अन्यत्र घर नभएका र आफैँ आवासको व्यवस्था गर्न नसक्ने परिवारलाई अस्थायी शिविरमा राखिएको छ । गाउँपालिकाले प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्री उपलब्ध गराउनुका साथै अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाएको अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

    उनका अनुसार तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा निर्माण गरी प्रभावित परिवारको बसोबास व्यवस्थापन गर्ने योजना छ । दीर्घकालीन रूपमा भने सरकारी नीतिअनुसार क्षतिग्रस्त निजी आवास र भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ ।

    निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवनको पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण पनि चुनौतीका रूपमा रहेको अध्यक्ष आचार्यले बताए । बाढीपहिरो नियन्त्रण र पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन संघीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए ।