पीआर विवादमा तानिएका राजदूत थापाको भविष्य आज तय हुँदै, सुनुवाइ समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-11-02
  • 10:16:35
  • सोमबार,कार्तिक १७, २०८३
  • पीआर विवादमा तानिएका राजदूत थापाको भविष्य आज तय हुँदै, सुनुवाइ समितिको बैठक बस्दै

    पीआर विवादमा तानिएका राजदूत थापाको भविष्य आज तय हुँदै, सुनुवाइ समितिको बैठक बस्दै

    काठमाडौं– जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नियुक्ति प्रक्रिया अघि बढ्ने वा रोकिने भन्ने विषयमा आज निर्णय हुने सम्भावना छ । जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा विवाद भएपछि रोकिएको उनको संसदीय सुनुवाइ प्रक्रिया टुंग्याउन संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

    समितिको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थापाको पीआरसम्बन्धी विवाद र त्यसबारे परराष्ट्र मन्त्रालयबाट प्राप्त विवरणका आधारमा समितिले निर्णय गर्ने तयारी गरेको छ ।

    गत असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा सांसदहरूले थापाको जापानको पीआर रहेको विषय उठाएका थिए । त्यसपछि थप अध्ययन आवश्यक रहेको भन्दै समितिले उनको नाम अनुमोदन गर्ने प्रक्रिया स्थगित गरेको थियो ।

    सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ ले विदेशी स्थायी आवासीय अनुमतिसम्बन्धी विषयमा गरेको व्यवस्थासँगै पीआर त्यागेको समयावधिबारे सांसदहरूले प्रश्न उठाएका थिए ।

    विवादको निरूपण गर्न समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागेको थियो । परराष्ट्र मन्त्रालयले पनि नेपाली राजदूतावासमार्फत जापान सरकारलाई पत्र पठाएको थियो । तर, हालसम्म जापान सरकारबाट उक्त पत्रको जवाफ प्राप्त भएको छैन ।

    जापान सरकारको जवाफ नआइसकेकै अवस्थामा समितिको बैठक बोलाइएपछि थापाको नामबारे आजै निर्णय हुने वा थप प्रक्रिया अघि बढ्ने भन्ने चासो बढेको छ ।

    यसअघि सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १३ राजदूतमध्ये १० जनाको नाम समितिले अनुमोदन गरिसकेको छ । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो । जापानका लागि प्रस्तावित थापाको नाममात्र थप अध्ययनका लागि रोकिएको थियो ।

    समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ् थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरु जोशीको नाम अनुमोदन गरिसकेको छ ।

    त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि डा. मञ्चला कुमारी झाको नाम पनि सर्वसम्मतिले अनुमोदन भएको छ ।

    थापाको नियुक्तिबारे समितिले यही कात्तिक १९ गतेभित्र निर्णय गरिसक्नुपर्नेछ । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ को उपनियम २ अनुसार सम्बन्धित निकायबाट नाम प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ सम्पन्न गरी निर्णयसहित सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था छ ।

    निर्धारित ४५ दिनभित्र समितिले निर्णय दिन नसके प्रस्तावित व्यक्तिको नाम स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ । त्यसैले समयसीमा सकिनुअघि नै थापाको नामबारे निर्णय लिनुपर्ने दबाब समितिमाथि छ ।

    जापान सरकारको जवाफ नआएको र संवैधानिक व्यवस्थाबारे प्रश्न कायमै रहेको अवस्थामा समितिले आज कस्तो निर्णय लिन्छ भन्ने विषयले थापाको राजदूत नियुक्तिको भविष्य निर्धारण गर्नेछ ।