चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-01
  • 22:38:35
  • बिहिबार,आश्विन १५, २०८३

About Author

वैद्यखानाबाट औषधि उत्पादन बढाउने तयारी, तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौँ– सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको संख्या बढाउँदै नेपाली औषधिलाई विदेशी बजारसम्म पुर्‍याउने गरी विकासको कार्ययोजना तयार गरिने भएको छ। वैद्यखानाको उत्पादन तथा व्यवस्थापन सुधारका लागि कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय भएसँगै यस्तो योजना अघि बढाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगका विषयमा भएको छलफलपछि वैद्यखानाको समग्र विकासका लागि कार्यदल गठन गर्ने निर्णय गरिएको हो। कार्यदलले तीन महिनाभित्र कार्यान्वयनयोग्य विकास कार्ययोजना तयार गर्नेछ। कार्ययोजनामा नेपालमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गर्दै आयुर्वेदिक औषधिको उत्पादन बढाउने, आवश्यक कच्चा पदार्थको दिगो संकलन तथा संरक्षण गर्ने र जडीबुटीको प्रशोधन तथा उपयोगलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइनेछ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा वैद्यखानाको विकासका लागि तत्काल कार्यदल गठन गरी तीन महिनाभित्र स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिइएको थियो। अग्रवालले नेपालमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउनुपर्ने बताए। नेपाली आयुर्वेदिक औषधिलाई आगामी दिनमा विदेशी बजारसम्म पुर्‍याउने लक्ष्यसहित उत्पादन र व्यवस्थापनको योजना बनाउनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थका रूपमा प्रयोग हुने जडीबुटी संकलनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले जडीबुटी उत्पादन, संकलन र उपयोगका लागि विद्यमान कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको उल्लेख गर्दै औषधिजन्य वनस्पतिको खेतीदेखि संकलन र उपभोगसम्म स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने बताए। गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेदिक औषधिका लागि आवश्यक कच्चा पदार्थ संकलन तथा उपयोगमा मन्त्रालयबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी संकलनमा सरोकारवाला निकायबीच समन्वय र कानुनी स्पष्टता आवश्यक रहेको बताए। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउन किसानसँग सहकार्य गरी व्यावसायिक खेती विस्तार गर्नुपर्ने बताए। उनले जडीबुटी क्षेत्रमा काम गरिरहेका कम्पनीसँग समेत सहकार्य बढाउनुपर्ने सुझाव दिए। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी निमित्त महाप्रबन्धक उषा रिजाल (जोशी)ले आयुर्वेदिक औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता मुख्य चुनौती रहेको बताइन्। ठूलो परिमाणमा जडीबुटी उत्पादन गर्न सके मात्रै कम्पनीको विकास सम्भव हुने भन्दै उनले कच्चा पदार्थको मूल्य समर्थन निर्धारण गरिए संकलनमा सहज हुने धारणा राखिन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा रहेका जडीबुटीको संकलन तथा उपयोगलाई सहज बनाउन कानुनी व्यवस्था सुधार गर्नुपर्ने बताए। वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले जडीबुटी उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत केही कानुन परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। छलफलमा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक तथा कार्यदलका प्रस्तावित संयोजक डा. प्रदीप केसीले समितिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए। सहभागीहरूले जडीबुटीको उत्पादन, संकलन, संरक्षण तथा प्रशोधनदेखि औषधि उत्पादनसम्मको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा सुझाव दिएका थिए।

News by वैद्यखानाबाट औषधि उत्पादन बढाउने तयारी, तीन महिनाभित्र कार्ययोजना बनाइने :