चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-26
  • 17:43:05
  • बिहिबार,मंसिर ११, २०८३

About Author

नेपाली उद्योगको उत्पादन क्षमता खुम्चिँदै, ५१ बाट ४८ प्रतिशतमा झर्‍यो उपयोग

काठमाडौं– देशभित्रै उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने बहस चलिरहे पनि नेपालको औद्योगिक क्षेत्रले उपलब्ध उत्पादन क्षमताको आधा पनि उपयोग गर्न सकेको छैन। उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा मुलुकको औद्योगिक उत्पादन कमजोर अवस्थामा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदनअनुसार नेपालका उद्योगहरूको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा सीमित भएको छ। अर्थात् उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको आधाभन्दा पनि कम मात्र उपयोग गरिरहेका छन्। अझ चिन्ताजनक पक्ष के छ भने अघिल्लो आर्थिक वर्षको तुलनामा उद्योगहरूको क्षमता उपयोग थप घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा उद्योगहरूको औसत क्षमता उपयोग ५१.४३ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर ४८.१३ प्रतिशतमा झरेको हो। यसले उद्योगमा लगानी भए पनि त्यसअनुसार उत्पादन हुन नसकेको र औद्योगिक क्षेत्रले अपेक्षित गति लिन नसकेको संकेत गर्छ। राष्ट्र बैंकको अध्ययनअनुसार उद्योगअनुसार उत्पादन क्षमताको उपयोगमा ठूलो अन्तर देखिएको छ। भटमास तेल उद्योगले सबैभन्दा बढी ९२.४१ प्रतिशत क्षमता उपयोग गरिरहेको छ। यसको विपरीत वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग २.३६ प्रतिशतमा सीमित छ। समीक्षा अवधिमा केही उद्योगले उत्पादन क्षमता उपयोग बढाएका छन् भने धेरै उद्योगमा गिरावट आएको छ। भटमास तेल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चिनी, चाउचाउ, प्रशोधित चिया, मदिरा, बियर, हल्का पेय पदार्थ, धागो, पश्मिना, गार्मेन्ट, गलैँचा, काठ चिरान, रोजिन, रङ, इँटा, सिमेन्ट, कंक्रिट, घरेलु धातुका सामान, आल्मुनियम, ट्रान्सफर्मर र कपडाको जुत्ता उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ। तर वनस्पति घिउ, तोरी तेल, प्रशोधित दूध, चामल, चकलेट, चुरोट, सिन्थेटिक कपडा, जुटका सामान, प्लाइउड, कागज, औषधि, साबुन, प्लास्टिकका सामान, पोलिथिन पाइप, फलामे छड, स्टिलजन्य उत्पादन, जीआई तार तथा पाइप, बिजुलीका तार र केबल, टायर तथा ट्युब, छालाका जुत्ता र चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ। प्रदेशगत अवस्था हेर्दा पाँच प्रदेशमा औद्योगिक क्षमता उपयोग बढेको छ भने दुई प्रदेशमा घटेको छ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका उद्योगको औसत क्षमता उपयोग बढ्दा बागमती र कर्णाली प्रदेशमा भने गिरावट आएको राष्ट्र बैंकले जनाएको छ। औद्योगिक उत्पादनमा बाधक अनेक समस्या: उद्योगको क्षमता उपयोग घट्नुमा उत्पादन र बजारसँग सम्बन्धित समस्या मात्र नभई नीतिगत तथा संरचनागत कमजोरी पनि जिम्मेवार रहेको राष्ट्र बैंकको निष्कर्ष छ। उद्योग स्थापना तथा सञ्चालनमा प्रक्रियागत जटिलता, राजनीतिक अस्थिरता, कमजोर औद्योगिक पूर्वाधार, दक्ष जनशक्तिको अभाव र न्यून उत्पादकत्वलाई औद्योगिक क्षेत्रका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ। त्यस्तै निर्यातयोग्य वस्तुको विविधीकरण हुन नसक्नु, सडक पूर्वाधार समयमै पुनर्निर्माण नहुँदा कच्चापदार्थ ढुवानी तथा उत्पादित वस्तुको बजारीकरणमा समस्या आउनु र युवा जनशक्ति विदेश पलायन हुँदा श्रमिक अभाव हुनु पनि उद्योगका समस्या हुन्। स्वदेशमै लगानी गर्ने वातावरण निर्माण हुन नसक्नु, गैरभन्सारजन्य अवरोधका कारण निर्यात प्रभावित हुनु र सरकारले पर्याप्त पुँजीगत खर्च गर्न नसक्नुले समेत औद्योगिक विकासमा अवरोध सिर्जना गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। सम्भावना हुँदाहुँदै उपयोग हुन सकेन औद्योगिक क्षेत्र: चुनौतीका बाबजुद नेपालमा औद्योगिक विकासको सम्भावना भने प्रशस्त रहेको राष्ट्र बैंकको विश्लेषण छ। प्राकृतिक स्रोतसाधनको उपलब्धता, बैंकिङ पहुँच विस्तार, ब्याजदरमा आएको गिरावट, स्वदेशी वस्तुको उत्पादन तथा प्रयोगलाई सरकारले दिएको प्राथमिकता र आधुनिक प्रविधिको प्रयोगले औद्योगिक क्षेत्र विस्तारको अवसर सिर्जना गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ। प्राकृतिक प्रकोप तथा अन्य विपत्तिका कारण क्षतिग्रस्त पूर्वाधार र आयोजना पुनर्निर्माण गर्नुपर्ने आवश्यकताले पनि औद्योगिक उत्पादनको माग बढाउन सक्ने सम्भावना छ। विशेषगरी सिमेन्ट, स्टिल, चिया, जस्तापाता, पेन्ट, विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गर्ने उद्योग आत्मनिर्भरताको दिशामा अघि बढिरहेका छन्। यस्ता उद्योगको उत्पादन क्षमता र प्रतिस्पर्धात्मकता बढाउन सके आयात प्रतिस्थापनसँगै निर्यात प्रवर्द्धनको अवसरसमेत सिर्जना हुन सक्छ। तर उपलब्ध उत्पादन क्षमता नै पूर्ण रूपमा उपयोग हुन नसकिरहेको वर्तमान अवस्थाले औद्योगिक विकासका सम्भावनालाई व्यवहारमा उतार्न लगानीमैत्री वातावरण, पूर्वाधार सुधार, दक्ष जनशक्ति व्यवस्थापन र नीतिगत स्थिरता आवश्यक रहेको देखाएको छ।

News by नेपाली उद्योगको उत्पादन क्षमता खुम्चिँदै, ५१ बाट ४८ प्रतिशतमा झर्‍यो उपयोग :