झापा — झापाका किसानले उत्पादन गरेको धान सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा बिक्री गर्न पाउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी मङ्सिर १५ गतेदेखि जिल्लामा धान खरिद प्रक्रिया सुरु गर्ने भएको छ । यस वर्ष झापाबाट १२ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएको छ । जसअनुसार सोना मन्सुली (मध्यम) आठ हजार क्विन्टल र रञ्जित मन्सुली चार हजार क्विन्टल खरिद गरिनेछ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बिहान बसेको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले धान खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सरकारले दुवै जातका धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ तोकेको छ । किसानबाट खरिद गरिने धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत संकलन गरिनेछ । कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् र स्वदेशी कृषि उपजको बजार सुनिश्चित होस् भन्ने उद्देश्यले सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने व्यवस्था गरेको हो । धान खरिद प्रक्रियालाई प्रभावकारी बनाउन प्रजिअ पोखरेलले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई पनि धान खरिदबिक्रीमा स्वस्फूर्त सहभागिता जनाउन आग्रह गरेका छन् ।


