चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 59 of 1107
  • 2026-10-07
  • 19:14:20
  • बुधबार,आश्विन २१, २०८३

About Author

विपद्मा राजनीतिक दलका युवा संगठनको ‘ग्राउन्ड एक्टिभिटी’

काठमाडौँ– रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीपछि राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरू तत्कालीन राहत वितरणसँगै प्रभावित क्षेत्रको पुनःस्थापनामा केन्द्रित हुन थालेका छन्। बाढीले विद्यालय, अस्पताल, सार्वजनिक भवन तथा बस्तीमा क्षति पुर्‍याएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीनिकट युवा तथा विद्यार्थी संगठनहरू प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, स्वास्थ्य सेवा, राहत वितरण र शैक्षिक गतिविधि पुनःसञ्चालनका लागि काम गरिरहेका छन्। एमालेनिकट अनेरास्ववियुले बाढी गएको दोस्रो दिनदेखि नै प्रभावित क्षेत्रमा टोली परिचालन गरेको जनाएको छ। अध्यक्ष दीपक धामीको नेतृत्वमा रहेको टोलीले नुवाकोट र रसुवामा खाद्यान्न, लत्ताकपडा तथा औषधिसहित करिब ७ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। अनेरास्ववियुले नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्नुका साथै आयुर्वेद अस्पतालमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। धादिङको बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयको सरसफाइमा समेत टोली खटिएको छ। अब विद्यालय र क्याम्पसको पुनःस्थापनालाई प्राथमिकतामा राखिएको अध्यक्ष धामीले बताए। उनका अनुसार बालबालिकाका लागि दूध, लिटो तथा विद्यार्थीका लागि स्कुल ब्यागलगायत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी पनि राहतसँगै खोज तथा उद्धारमा सक्रिय छ। अध्यक्ष विजयप्रकाश सापकोटा र उपमहासचिव अर्जुन पौडेलसहितको टोली रसुवा, नुवाकोट र धादिङमा परिचालित छ। संगठनले बेपत्ता भएकाहरूको शव सङ्कलनका लागि चितवनसम्म टोली पठाएको जनाएको छ। अखिल क्रान्तिकारीका अनुसार रसुवामा २०, नुवाकोटमा ११ र धादिङमा १७ जनाको टोली प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। चितवनमा बाढीले बगाएर ल्याएका शव सङ्कलनका लागि थप २५ जनाको टोली खटाइएको छ। बालबालिकाका लागि आवश्यक सामग्रीसहितको एक ट्रक राहतसमेत प्रभावित क्षेत्रमा पठाइएको छ। सोही पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) पनि रसुवामा केन्द्रित छ। अध्यक्ष पुष्प ओलीको नेतृत्वमा खटिएको टोली उत्तरगयासम्म पुगेर खाद्यान्न, खाना पकाउने ग्यास तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिरहेको छ। उता, नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले दुर्गम प्रभावित क्षेत्रमा विद्युत्को वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिएको छ। अध्यक्ष करुणा कटुवालको नेतृत्वमा पुगेको टोलीले २५ थान सोलार सेट र ५० थान लाइट वितरण गरेको छ। खाद्यान्न, औषधि तथा पानी शुद्धीकरण गर्ने ट्याब्लेटसमेत वितरण गरिएको संघले जनाएको छ। नेविसंघले नुवाकोटमा बाढीले पुरिएका क्षेत्रको सरसफाइ पनि गरिरहेको छ। प्रभावित होल्डिङ सेन्टरमा रहेका व्यक्तिका लागि मनोपरामर्श सेवा सञ्चालन गर्ने तयारीसमेत गरिएको अध्यक्ष कटुवालले बताइन्। कांग्रेसकै युवा संगठन नेपाल तरुण दलले भने धादिङको सरसफाइलाई प्राथमिकतामा राखेको छ। अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा परिचालित टोलीले बैरेनी अस्पतालमा जमेको हिलो तथा फोहोर सफा गरिरहेको छ। नुवाकोट, धादिङ र रसुवाका विभिन्न क्षेत्रमा टेन्ट, सोलार लाइट तथा पानी शुद्धीकरण गर्ने ट्याब्लेटसमेत वितरण गरिएको छ। बाढीपछि राहतको पहिलो चरणमा खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा केन्द्रित भएका दलनिकट युवा तथा विद्यार्थी संगठनहरू अहिले भने विद्यालय, अस्पताल र सार्वजनिक संरचना सफा गर्ने तथा शैक्षिक गतिविधि पुनःसञ्चालनका लागि वातावरण बनाउने काममा सक्रिय देखिएका छन्। विपद्को तत्कालीन असर कम गर्न राहत वितरणसँगै दीर्घकालीन पुनःस्थापनाको चुनौती थपिँदै जाँदा राजनीतिक दलका युवा संगठनहरूको सक्रियता अब ‘राहतबाट पुनःस्थापनातर्फ’ केन्द्रित हुँदै गएको छ।

News by विपद्मा राजनीतिक दलका युवा संगठनको ‘ग्राउन्ड एक्टिभिटी’ :