रसुवा बाढी: ९८७ जनाको शव फेला, करिव ४ हजार अझै सम्पर्कविहीन - Chaitanya News
  • 2026-09-01
  • 11:48:53
  • मंगलबार,भाद्र १६, २०८३
  • रसुवा बाढी: ९८७ जनाको शव फेला, करिव ४ हजार अझै सम्पर्कविहीन

    रसुवा बाढी: ९८७ जनाको शव फेला, करिव ४ हजार अझै सम्पर्कविहीन

    काठमाडौँ– गत (बुधबार) रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्।

    आज (मंगलबार) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ९ बजेसम्मको तथ्यांकअनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ। प्राधिकरणकाअनुसार बाढीमा परी ज्यान गुमाउनेहरूको शव विभिन्न जिल्लाबाट संकलन गरिएको छ। जसअनुसार चितवनमा सबैभन्दा बढी ३२१ (विभिन्न मानव अंगसहित), नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ।

    यसैगरी नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन्। नेपाली सेनाले मात्रै २ हजार ७४० जनालाई स्वास्थ्य उपचार प्रदान गरेको छ।

    सम्पर्कविहीन रहेका ३ हजार ९१६ जनामध्ये ५८३ जना विदेशी नागरिक र उनीहरूसँगै भ्रमणमा रहेका १६४ जना नेपाली रहेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत केही व्यक्तिहरू सम्पर्कविहीन भएको बताइएको छ। बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मीहरू निरन्तर परिचालन गरिएका छन्। विपद् व्यवस्थापनका लागि कुल २१ हजार ११ सुरक्षाकर्मी मैदानमा उत्रिएका छन्। यसमा नेपाली सेनाका ८ हजार ८९६, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सहभागी छन्।

    हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले ५७३ पटक हवाई उडान गरी ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको छ। यस्तै, निजी क्षेत्रबाट २९ वटा र सशस्त्र प्रहरी बलमार्फत ५० वटा उडान गरी राहत र उद्धार कार्यमा सहयोग पुर्‍याइएको छ।

    सरकारले प्रभावित क्षेत्रका लागि आर्थिक र भौतिक राहत घोषणा गरेको छ। रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ र प्रभावित १५ वटा पालिकालाई कुल ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री स्थलगत मार्गबाट पठाइएको छ भने ९ वटा हवाई उडानमार्फत पनि सामग्री ढुवानी गरिएको छ। हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरहरूमा हजारौँ प्रभावित व्यक्तिहरूलाई आश्रय दिइएको छ।

    प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। सञ्चारतर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ वटा टावर पुनः सञ्चालनमा आएका छन्। पहिचान हुन नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको छ।