समितिमा अल्झिएका विधेयक छिटो टुङ्ग्याउन शाह र पाठकबीच छलफल - Chaitanya News
  • 2026-10-30
  • 18:06:56
  • शुक्रबार,कार्तिक १४, २०८३
  • समितिमा अल्झिएका विधेयक छिटो टुङ्ग्याउन शाह र पाठकबीच छलफल

    समितिमा अल्झिएका विधेयक छिटो टुङ्ग्याउन शाह र पाठकबीच छलफल

    धनगढीः सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकबीच समितिमा विचाराधीन विधेयकहरूलाई शीघ्र टुङ्ग्याएर प्रदेशसभामा पेश गर्ने विषयमा छलफल भएको छ।

    लामो समयदेखि सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकहरूलाई छिटो टुङ्ग्याएर प्रदेशसभामा पेश गर्ने र ऐन निर्माणको प्रक्रिया अघि बढाउने विषयमा उनीहरूबीच छलफल तथा सहमति भएको हो।

    निवर्तमान मुख्यमन्त्री शाह नेतृत्वको सरकारले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २०८१ चैत ३ गते र ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २०८२ जेठ २१ गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।

    तर, लामो समयसम्म ती विधेयक सदनको प्रक्रियामा अगाडि नबढेपछि २०८३ वैशाख १७ गते नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले विधेयकहरू अविलम्ब सदनमा पेश गरी छलफल प्रक्रिया अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएको थियो।

    प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा जेठ ११ गते दुवै विधेयक टेबल गरिएको थियो। जेठ २० गते प्रदेशसभामा सामान्य छलफल भएपछि जेठ २६ गते दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको थियो।

    समितिमा पठाइएपछि छलफलका क्रममा रहेका यी दुई विधेयकसँगै अन्य विचाराधीन विधेयकहरूलाई समेत शीघ्र टुङ्ग्याएर प्रदेशसभामा पठाउनुपर्नेमा शाह र सभापति पाठकले जोड दिएका छन्।

    लामो समयसम्म विधेयकहरू समितिमै अड्किँदा प्रदेशसभाको विधायिकी कार्यसम्पादन र संसदीय प्रक्रियामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुने भएकाले जनसरोकार तथा प्रदेशको दीर्घकालीन विकाससँग जोडिएका विधेयकलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनीहरूको धारणा रहेको छ।