बिरुडा भिजाउँदै सुरु भयो गौरा, सुदूरपश्चिममा चहलपहल - Chaitanya News
  • 2026-09-01
  • 08:56:04
  • मंगलबार,भाद्र १६, २०८३
  • बिरुडा भिजाउँदै सुरु भयो गौरा, सुदूरपश्चिममा चहलपहल

    बिरुडा भिजाउँदै सुरु भयो गौरा, सुदूरपश्चिममा चहलपहल

    डडेल्धुरा– सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै यस वर्षको गौरा पर्व सुरु भएको हो।

    गौरा पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर बिरुडा राख्ने चलन छ। मास, कलौँ, गहत, गहुँ र गुरुसलाई तामाको भाँडामा भिजाएर बिरुडा तयार गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइने भएकाले गौरा पर्वभरि यसको विशेष धार्मिक महत्त्व रहने गर्दछ।

    परम्पराअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ। त्यसपछि त्यसमा पञ्च अन्न तथा गेडागुडी भिजाइन्छ। बिरुडा भिजाउने क्रममा महिलाले डोटेली भाषामा सगुन तथा फाग गाउने गर्छन्।

    आलिताल, डडेल्धुराका ७८ वर्षीय खगेस्वरी भट्टका अनुसार गौरा पर्व सुरु हुनुअघि नै शुद्ध शाकाहार र ब्रह्मचर्य पालना गर्ने परम्परा छ। “बिरुडा पञ्चमीका दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउने गर्छन्,” उनले भने, “बिरुडा भिजाउँदा माङ्गलकी सगुन फाग गाउँछौँ।”

    संस्कृतिका जानकार मुरलीधर अवस्थीका अनुसार बिरुडा भिजाउने परम्परासँगै गौरा पर्वका विभिन्न लोककथा र सांस्कृतिक पक्ष जोडिएका छन्। महिलाले गौरा पर्वको व्रत लिने तयारी गरेको र त्यसका लागि आवश्यक अन्न तथा गेडागुडी जुटाउने प्रसङ्गबाट फागको कथा अघि बढ्ने उनी बताउँछन्।

    बिरुडा पञ्चमीका दिन भिजाइएको बिरुडा षष्ठीका दिन पखाल्ने चलन छ। त्यसपछि सप्तमी र अष्टमीका दिन गौरा पर्वका मुख्य धार्मिक तथा सांस्कृतिक गतिविधि हुने गर्छन्।

    सप्तमीका दिन धान खेतमा उम्रिएको साउँ घाँसबाट गौराको प्रतिमा बनाएर गौराघरमा भित्र्याउने परम्परा छ। अष्टमीका दिन भने गौराको विशेष पूजा गरिन्छ। यस दिन महिलाले दुबधागो धारण गर्ने गर्छन्। संस्कृतिका जानकारहरूका अनुसार महिलाले धारण गर्ने दुबधागोलाई पुरुषले यज्ञोपवीत धारण गर्ने परम्परासँग तुलना गरिन्छ।

    व्रतालु सरस्वती अवस्थी गौरा पर्वलाई महिलाको धार्मिक आस्था र पारिवारिक सुख–समृद्धिसँग जोडिएको पर्वका रूपमा लिन्छिन्। उनका अनुसार गौराको पूजा गरेमा श्रीमान् तथा परिवारका सदस्य निरोगी र दीर्घायु हुने तथा घरपरिवारमा सुख–समृद्धि कायम हुने विश्वास छ।

    गौराष्टमीका दिन गौराको पूजा अर्चनासँगै मङ्गलगान गाएर गौरा नचाउने गरिन्छ। गौराघरको आँगनमा गौरालाई राखेर अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथासहितका गीतमा नचाउने परम्परा छ। यही अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा खेल्ने क्रमसमेत सुरु हुन्छ।

    गौरा पर्वलाई भगवान् शिवकी अर्धाङ्गिनी पार्वती अर्थात् गौरीको पूजा गर्ने पर्वका रूपमा लिइन्छ। पर्वतराज हिमालय र मेनकाकी पुत्री पार्वतीलाई शक्तिस्वरूपा गौरीका रूपमा पूजा गर्ने प्राचीन परम्परा स्थानीय लोकरीतिसँग जोडिएर गौरा पर्वका रूपमा विकसित भएको संस्कृतिविद्हरू बताउँछन्।

    अगस्ति ताराको उदयका आधारमा गौरा शुक्ल वा कृष्ण पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षमा पर्ने गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा पर्ने गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ। दुवै प्रकारका गौरालाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्व दिने परम्परा छ।

    गौरा पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। देउडा, डुस्को, धमारीलगायतका स्थानीय लोकसंस्कृति र परम्परागत गतिविधिले पर्वको रौनक थपिएको छ।