कैलाली बहुमुखी क्याम्पस र चैतन्य एकेडेमीबिच सहकार्य, १२० विद्यार्थीले पाउनेछन् लोकसेवा तयारीको अवसर - Chaitanya News
  • 2026-08-31
  • 17:25:12
  • सोमबार,भाद्र १५, २०८३
  • कैलाली बहुमुखी क्याम्पस र चैतन्य एकेडेमीबिच सहकार्य, १२० विद्यार्थीले पाउनेछन् लोकसेवा तयारीको अवसर

    कैलाली बहुमुखी क्याम्पस र चैतन्य एकेडेमीबिच सहकार्य, १२० विद्यार्थीले पाउनेछन् लोकसेवा तयारीको अवसर

    धनगढी– कैलाली बहुमुखी क्याम्पस, धनगढी र चैतन्य एकेडेमी, धनगढीबिच विद्यार्थीको शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत विकासमा सहकार्य गर्ने समझदारी भएको छ ।
    विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि अवसर उपलब्ध गराउने, सीप तथा क्षमता विकास गर्ने र शैक्षिक क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले दुई संस्थाबिच समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको हो ।

    वि.सं. २०८३ साल भदौ १५ गते सम्पन्न समझदारीअनुसार कैलाली बहुमुखी क्याम्पसका आर्थिक तथा शैक्षिक रूपमा आवश्यकतामा रहेका जेहेन्दार तथा योग्य विद्यार्थीलाई लक्षित गरी लोकसेवा तयारी कक्षा सञ्चालन गरिनेछ । चैतन्य एकेडेमीले आपसी सहमतिमा निर्धारण गरिएका मापदण्डका आधारमा २० जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा उपलब्ध गराउनेछ । त्यस्तै, थप १०० जना विद्यार्थीका लागि विशेष छात्रवृत्ति वा सहुलियतपूर्ण शुल्कमा तयारी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

    समझदारीले विद्यार्थीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ । तयारी कक्षामार्फत विद्यार्थीलाई आवश्यक शैक्षिक सहयोग, मार्गदर्शन तथा परामर्श उपलब्ध गराउने उद्देश्य राखिएको छ । तयारी कक्षाको विषय, समय तालिका, अवधि र सञ्चालन विधि भने दुवै संस्थाको आपसी सहमतिमा निर्धारण गरिने समझदारीमा उल्लेख छ ।

    चैतन्य एकेडेमीबाट उपलब्ध गराइने सहयोग लोकसेवा तयारीमा मात्र सीमित रहने छैन । समझदारीअनुसार लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक संस्थान तथा सार्वजनिक निकाय, सुरक्षा सेवा तथा अन्य सरकारी तथा गैरसरकारी प्रतिस्पर्धात्मक परीक्षाका लागि समेत तयारी, मार्गदर्शन र प्रशिक्षणसम्बन्धी सहयोग उपलब्ध गराउन सकिने चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । विद्यार्थीको करियर तथा व्यावसायिक विकासमा योगदान पुग्ने अन्य तालिम तथा कार्यक्रमसमेत सञ्चालन गर्न सकिने व्यवस्था गरिएको समेत उनले बाताए ।

    त्यसै गरी विद्यार्थीको शैक्षिक विकासका लागि दुवै संस्थाले संयुक्त रूपमा तालिम, कार्यशाला, गोष्ठी, अभिमुखीकरण कार्यक्रम, अतिथि व्याख्यान लगायतका कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । चैतन्य एकेडेमीले आवश्यकताअनुसार योग्य प्रशिक्षक, विषय विज्ञ, स्रोत व्यक्ति, अध्ययन सामग्री तथा शैक्षिक मार्गदर्शन उपलब्ध गराउनेछ भने कैलाली बहुमुखी क्याम्पसले कार्यक्रम सञ्चालनका लागि आवश्यक स्थान, विद्यार्थी समन्वय तथा सूचना सम्प्रेषणमा सहयोग गर्नेछ ।

    दुवै संस्थाबिच अनुसन्धान तथा शैक्षिक क्षेत्रमा समेत सहकार्य गरिने भएको छ । अनुसन्धान गतिविधि, शैक्षिक परियोजना, ज्ञान आदान–प्रदान, नवप्रवर्तन तथा अनुसन्धानमा आधारित कार्यक्रम सञ्चालनमा आवश्यकता अनुसार सहकार्य गर्ने समझदारी भएको छ । दुवै संस्थाका शिक्षक, प्राध्यापक, विषय विज्ञ तथा स्रोत व्यक्तिले संयुक्त अनुसन्धान, तालिम, गोष्ठी तथा कार्यशालामा सहभागिता जनाउन सक्नेछन् ।

    समझदारी पत्र दुई वर्षका लागि लागू हुनेछ । आपसी लिखित सहमतिमा यसको अवधि नवीकरण वा थप गर्न सकिने व्यवस्था गरिएको छ ।

    समझदारी पत्रमा कैलाली बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. लोकेन्द्रबहादुर बिस्ट र सह–प्राध्यापक डा. राजेन्द्रवीर चन्द तथा चैतन्य एकेडेमीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशी र प्राचार्य प्रेमनिधि ओझाले हस्ताक्षर गरेका छन् ।

    दुवै संस्थाबिचको यो सहकार्यले विशेष गरी आर्थिक तथा शैक्षिक रूपमा आवश्यकतामा रहेका विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा पहुँच बढाउने तथा उनीहरूको शैक्षिक, सीप र करियर विकासमा सहयोग पु¥याउने आधार तयार गरेको छ ।