काठमाडौँ– गत (बधबार) रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएकामध्ये १२ देशका ३१५ विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। हालसम्म भारतका १८७, चीनका १०८, माल्टाका चार, जर्मनीका चार, रुस, टर्की र अमेरिका र इटालीका दुईरदुई स्वीट्जरल्यान्ड, बुल्गेरियाका, ओमान, पोर्चुगलका एकरएक जनाको उद्धार गरिएको छ।
यस्तै, विभिन्न देशका ५८३ पर्यटक अझै सम्पर्कविहीन छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य पर्यटन क्षेत्रका सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।
घाइते तथा अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ। बोर्डले जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४५५ मा सम्पर्क गर्न आग्रह गरेको छ।