‘टनेल रेस्क्युमा काम भइरहेको छ, प्रगति हुन सकेको छैन’ : परराष्ट्र मन्त्रालय - Chaitanya News
  • 2026-09-01
  • 17:09:56
  • मंगलबार,भाद्र १६, २०८३
  • ‘टनेल रेस्क्युमा काम भइरहेको छ, प्रगति हुन सकेको छैन’ : परराष्ट्र मन्त्रालय

    ‘टनेल रेस्क्युमा काम भइरहेको छ, प्रगति हुन सकेको छैन’ : परराष्ट्र मन्त्रालय

    काठमाडौँ– रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    आज (मंगलबार) परराष्ट्र मन्त्रालयले मंगलवार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले टनेल रेक्स्युमा प्रगति हुन नसकेको बताएका हुन् । उनकाअनुसार टनेल रेस्क्यूको लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका टनेल विशेषज्ञहरूले काम गरिरहेका छन्।

    उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उनले बताए। उनकाअनुसार भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन्।

    उनले भने, ‘टनेल रेक्स्युको लागी हाम्रो टिम पहिले देखी नै खटिई राखेको छ, भारत र चीनबाट आएका टनेल विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेको छ । त्यहाँको भूगोलको असहज अवस्था र कठिनाइलाई पन्छाउँदै उहाँहरूले दिनरात नभनी काम गरिरहनुभएको छ। तर केही बेर अगाडीसम्मको हाम्रो जानकारीमा कुनै त्यस्तो प्रोसेस भएको भन्ने कुरा आएको छैन। उहाँहरू प्रयासरत नै हुनुहुन्छ।’

    भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ए आयोजना क्षेत्रमा खोजी गरिरहेको छ ।

    दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको उनले जानकारी दिए। बाढी गएको ७ दिनसम्म पनि चिलिमे र लाङटाङ, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी लगायतका आयोजनामा फसेकाहरूको उद्धार गर्न सकिएको छैन।