काठमाडौँ– भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीले सडक, पुल र घरबस्तीमा मात्र क्षति पुर्याएको छैन, स्थानीय तहमा स्वास्थ्य सेवा र बालबालिकाको शिक्षासमेत गम्भीर रूपमा प्रभावित भएको छ। स्वास्थ्य संस्था क्षतिग्रस्त हुनुका साथै स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् भने विद्यालयमा क्षति पुग्दा हजारौँ विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ।
बाढीपछि १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। रसुवामा कार्यरत ११ र नुवाकोटमा कार्यरत एक स्वास्थ्यकर्मी सम्पर्कविहीन छन्। स्वास्थ्यकर्मी नै सम्पर्कमा नहुँदा दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा आधारभूत उपचार सेवा सञ्चालनमा चुनौती थपिएको छ।
बाढीले रसुवाका चार स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। स्याफ्रुबेसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, रसुवागढी हेल्प डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य इकाईमा क्षति पुगेपछि सेवा ठप्प भएको छ।
धादिङको चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्र र बैरेनी अस्पतालको तल्लो तला बाढीमा डुबेर आंशिक क्षति भएको छ। रसुवा र नुवाकोटका स्वास्थ्य शाखा तथा स्टोरमा समेत क्षति पुगेकाले औषधि र स्वास्थ्य सामग्री व्यवस्थापनमा समस्या देखिएको छ।
स्वास्थ्य संस्थाको क्षतिसँगै अस्पतालसम्म पुग्ने पहुँच पनि अवरुद्ध भएको छ। बाढीले सडक तथा पुल बगाएपछि रसुवा र नुवाकोटबाट त्रिशूली तथा धादिङ अस्पतालसम्म बिरामी पुग्न कठिन भएको छ। यसले उपचार सेवा लिनुपर्ने नागरिकका लागि थप जोखिम सिर्जना गरेको छ।
विद्यालय खुले पनि विद्यार्थी पुग्ने अवस्था छैन:
बाढीको अर्को ठूलो असर शिक्षा क्षेत्रमा परेको छ। प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङका २३ विद्यालयमा क्षति पुगेको छ। रसुवामा सात तथा नुवाकोट र धादिङमा आठ–आठ विद्यालय प्रभावित भएका छन्।
विद्यालयका भवनसँगै छात्रावास, फर्निचर, प्रयोगशाला लगायतका संरचना तथा सामग्रीमा क्षति पुगेको छ। केही विद्यालयमा पूर्ण क्षति, केहीमा आंशिक र केहीमा सामान्य क्षति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
तर विद्यालयको भौतिक संरचनाभन्दा ठूलो चुनौती अहिले विद्यार्थी र शिक्षकको अवस्थाबारे जानकारी प्राप्त गर्नु बनेको छ। मन्त्रालयका अनुसार २३० विद्यार्थी र १० शिक्षक गरी २४० जना सम्पर्कविहीन छन्।
शिक्षा मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीका अनुसार प्रभावित २३ विद्यालयमा करिब ६ हजार ९ सय विद्यार्थी अध्ययनरत थिए। प्रभावित क्षेत्रमा प्राविधिकसहितको टोली पठाएर वास्तविक क्षतिको विवरण संकलन गर्ने तयारी भइरहेको छ।
१७ हजार बालबालिका प्रभावित भएको प्रारम्भिक अनुमान:
बाढीबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा परेको प्रभाव अझ ठूलो हुन सक्ने देखिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार प्रारम्भिक अनुमानमा करिब १७ हजार बालबालिका प्रभावित भएको हुन सक्ने देखिएको छ।
एकीकृत विवरण भने अझै तयार भइसकेको छैन। परिषद्ले विपद् संकटग्रस्त घोषणा गरिएका १५ स्थानीय तहसँग बालबालिकाको अवस्थाबारे विवरण मागेको छ। अभिभावक तथा आफन्त गुमाएका, विद्यालय क्षति भएका तथा अस्थायी संरक्षण आवश्यक पर्ने बालबालिकाको विवरण संकलन भइरहेको छ।
उद्धारपछि अब पुनर्स्थापनाको चुनौती:
बाढी प्रभावित क्षेत्रमा तत्कालको प्राथमिकता खोज, उद्धार र जीवनरक्षा भए पनि त्यसपछि स्वास्थ्य सेवा र शिक्षालाई सामान्य अवस्थामा फर्काउने चुनौती देखिएको छ।
प्रभावित बालबालिका आफन्त, घर तथा विद्यालय गुमाएको पीडामा रहेकाले उनीहरूलाई तत्काल मनोसामाजिक सहयोग आवश्यक रहेको शिक्षा मन्त्रालयले जनाएको छ। त्यसपछि मात्रै नियमित सिकाइमा फर्काउने योजना अघि बढाउने तयारी छ।
विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा अस्थायी सिकाइ केन्द्र स्थापना गर्ने विकल्पमा समेत छलफल भइरहेको छ। यसका लागि विद्यालयको क्षति, विद्यार्थीको अवस्था र स्थानीय परिस्थितिको थप अध्ययन आवश्यक पर्ने मन्त्रालयको भनाइ छ।
सरकारले रसुवाको भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।
यससँगै अबको चुनौती राहत वितरणमा मात्र सीमित नभई क्षतिग्रस्त स्वास्थ्य संस्था पुनः सञ्चालन, विद्यालय पुनर्निर्माण, बालबालिकाको संरक्षण र उनीहरूको सिकाइलाई निरन्तरता दिनु बनेको छ।