काठमाडौँ– बडादशैंको टीकाको साइत नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीका लागि पनि स्थानअनुसार फरक–फरक तय गरिएको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न २३ देशका लागि टीकाको उत्तम साइत सार्वजनिक गरेको हो।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष नेपालमा बडादशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा निर्धारण गरेको छ।
विदेशमा बसोबास गर्ने नेपालीलाई स्थानीय समयअनुसार टीका लगाउने सुविधा मिलाउन अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सम्बन्धित देशका लागि छुट्टाछुट्टै साइत निर्धारण गरेको समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए।
उनका अनुसार टीकाको साइत निर्धारण गर्दा सम्बन्धित स्थानको सूर्योदयको समय र दशमी तिथिलाई आधार बनाइन्छ। यही कारण नेपालमा तय भएको साइत विदेशमा पनि एउटै समयमा लागू नहुने र देशअनुसार मिति तथा समय फरक पर्ने गरेको हो।
यस वर्ष पनि विभिन्न देशमा रहेका नेपालीले स्थानीय समयअनुसार निर्धारण गरिएको साइतमा बडादशैंको टीका लगाउने व्यवस्था गरिएको समितिले जनाएको छ।