चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-04
  • 12:47:21
  • आइतबार,आश्विन १८, २०८३

About Author

अर्थमन्त्री वाग्लेको अमेरिका दौडधुप, भोटेकोशी पुनर्निर्माणदेखि लगानीसम्म आर्थिक एजेन्डा

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अमेरिका भ्रमण नेपालका लागि थप अन्तर्राष्ट्रिय आर्थिक सहायता र लगानी जुटाउने विषयमा केन्द्रित हुने भएको छ। दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका वाग्लेले अमेरिकी सरकार, विश्व बैंक तथा निजी क्षेत्रका प्रतिनिधिसँग नेपालको आर्थिक सुधार, पुनर्निर्माण र लगानी विस्तारबारे छलफल गर्नेछन्। वासिङ्टन डी.सी. पुगेका अर्थमन्त्री वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्। भ्रमणका क्रममा वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री एवं ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट तथा विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाल–अमेरिका आर्थिक सम्बन्ध विस्तारसँगै पुनर्निर्माणका लागि आवश्यक स्रोत, बृहत् आर्थिक सुधार र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुनेछ। हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त सडक, विद्युत् प्रसारण लाइनलगायत पूर्वाधारको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयलाई अर्थमन्त्रीले प्राथमिकताका साथ उठाउनेछन्। विपद्पछि पुनर्निर्माणसँगै भविष्यमा यस्ता जोखिम सामना गर्न सक्ने उत्थानशील पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने सरकारको तयारी छ। त्यसैगरी नेपाललाई वित्तीय कारबाही कार्यदलको ‘ग्रे सूची’बाट बाहिर निकाल्न भइरहेका प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा पनि अमेरिकी अधिकारी र विश्व बैंक नेतृत्वसँग छलफल हुनेछ। नेपालमा विदेशी लगानी विस्तार र रोजगारीका अवसर सिर्जना गर्ने विषय पनि भ्रमणको अर्को महत्त्वपूर्ण एजेन्डा रहेको छ। सडक, विद्युत् प्रसारण तथा अन्य ठूला पूर्वाधारमा विकास साझेदारसँगै निजी क्षेत्रको लगानी भित्र्याउने सम्भावनाबारे वाग्लेले छलफल गर्नेछन्। अर्थमन्त्रीले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। अमेरिकी निजी क्षेत्रका लगानीकर्तासँग हुने भेटमा नेपालमा लगानीका सम्भावित क्षेत्र, अवसर र लगानी विस्तारका लागि आवश्यक सहजीकरणबारे छलफल गरिनेछ। यसरी अर्थमन्त्री वाग्लेको अमेरिका भ्रमण कूटनीतिक भेटघाटमा मात्र सीमित नरही विपद्पछिको पुनर्निर्माणका लागि स्रोत जुटाउने, वित्तीय सुधारलाई अघि बढाउने र अमेरिकी निजी लगानी नेपालमा आकर्षित गर्ने प्रयासमा केन्द्रित हुने देखिएको छ।

News by अर्थमन्त्री वाग्लेको अमेरिका दौडधुप, भोटेकोशी पुनर्निर्माणदेखि लगानीसम्म आर्थिक एजेन्डा :