चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1108
  • 2026-10-08
  • 12:50:37
  • बिहिबार,आश्विन २२, २०८३

About Author

कृषि अनुसन्धानमा पुनर्संरचना, केन्द्र मर्जरदेखि ‘स्पीड ब्रिडिङ’सम्मको तयारी

काठमाडौँ– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि बालीका नयाँ जात विकासमा लाग्ने लामो समय घटाउन ‘स्पीड ब्रिडिङ’ प्रविधिमा जोड दिने भएको छ। हाल एउटा नयाँ जात विकास गर्न करिब १२ वर्ष लाग्ने गरेकोमा त्यसलाई ५–६ वर्षमै सीमित गर्ने लक्ष्यसहित नार्कले विशेष स्पीड ब्रिडिङ सेन्टर स्थापना गर्ने तयारी गरेको हो। सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले कृषि अनुसन्धानलाई प्रविधिमैत्री बनाउँदै अनुसन्धानको समय र लागत दुवै घटाउने योजना अघि सारिएको जानकारी दिए। उनका अनुसार जुट अनुसन्धान केन्द्रमा स्पीड ब्रिडिङ सेन्टर स्थापना गरी नयाँ जात विकासको प्रक्रिया तीव्र बनाइनेछ। कृषि उत्पादनलाई आत्मनिर्भर हुँदै निर्यातमुखी बनाउन अनुसन्धान प्रणालीमै परिवर्तन आवश्यक रहेको उनको भनाइ छ। नार्कले अनुसन्धानको प्रभावकारिता बढाउन देशभर रहेका अनुसन्धान केन्द्र तथा स्टेशनहरूको संरचना पनि पुनर्संरचना गर्ने भएको छ। दोहोरो काम गर्ने तथा आवश्यकता नरहेका संरचनालाई गाभ्ने, केही केन्द्रलाई सुदृढ गर्ने र कतिपय व्यावसायिक बाली अनुसन्धान केन्द्र खारेज गर्ने योजना अघि सारिएको छ। यसअन्तर्गत नार्गे र नार्सेलाई मर्जर गर्ने तथा जुम्लाका चार वटा अनुसन्धान केन्द्रलाई एकीकृत गर्ने तयारी छ। पंक्षी तथा मत्स्य अनुसन्धानका केही केन्द्रलाई भने थप सुदृढ बनाउने योजना नार्कको छ। यस्तो पुनर्संरचनाबाट अनुसन्धानमा देखिएको दोहोरोपन हटाउनुका साथै सीमित स्रोतबाट बढी उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ। नार्कले अनुसन्धान प्रणालीलाई डिजिटल प्रविधिमा समेत जोडेको जनाएको छ। पहिलोपटक देशभरको अनुसन्धान योजनालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै गाउँ तहदेखि राष्ट्रिय तहसम्म किसान, निजी क्षेत्र, विश्वविद्यालय, उद्यमी तथा अन्य सरोकारवालाको सहभागितामा अनुसन्धानको खाका तयार गरिएको डा. श्रेष्ठले बताए। नार्कले सातै प्रदेशमा निजी क्षेत्रसँग सहकार्य गरी बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गर्ने योजना पनि अघि सारेको छ। उत्पादनसँगै प्रशोधन र व्यवसायीकरणलाई प्रोत्साहन गर्दै कृषि अनुसन्धानको प्रतिफल बजारसम्म पुर्‍याउने उद्देश्य राखिएको छ। त्यसैगरी मानित विश्वविद्यालय स्थापना गरी कृषि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तथा अनुसन्धान स्रोत विकास गर्ने र विभिन्न कृषि–पारिस्थितिक क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना गरी स्थानीय तहसम्म प्रविधि पुर्‍याउने योजना रहेको नार्कले जनाएको छ। कृषि अनुसन्धानको प्राथमिकतामा खाद्य सुरक्षा, दूध, माछा तथा प्रोटिनजन्य उत्पादनमा आत्मनिर्भरता, पहाडी क्षेत्रको बाँझो जमिनको उपयोग र युवामैत्री कृषि प्रविधि रहेका छन्। कफी, चिया, अलैँची, अदुवा, फलफूल तथा बेमौसमी तरकारीजस्ता तुलनात्मक लाभका वस्तुको उत्पादन तथा निर्यात बढाउनेतर्फ पनि अनुसन्धान केन्द्रित गरिनेछ। जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै जलवायु अनुकूलित प्रविधि विकास, कृषि यान्त्रीकरण तथा रोजगारी सिर्जनालाई समेत अनुसन्धानको प्राथमिकतामा राखिएको छ। पहाडी क्षेत्रको बाँझो जमिन उपयोग गरी बसाइँसराइ रोक्ने र स्थानीय स्तरमै कृषि उद्यमको अवसर सिर्जना गर्ने लक्ष्यसमेत नार्कले अघि सारेको छ।

News by कृषि अनुसन्धानमा पुनर्संरचना, केन्द्र मर्जरदेखि ‘स्पीड ब्रिडिङ’सम्मको तयारी :