विश्व शान्ति दिवसका अवसरमा विद्यालय, समाज र नेपालबाट विश्वका लागि एउटा आत्मचिन्तन
शान्ति: सुन्दा सरल, तर बुझ्न खोज्दा अत्यन्त गहिरो शब्द हो।
शान्ति युद्ध नहुनु मात्र होइन। शान्ति मानिसको मनमा द्वन्द्व कम हुनु हो; परिवारमा विश्वास र प्रेम हुनु हो; विद्यालयमा बालबालिका सुरक्षित र सम्मानित हुनु हो; कार्यस्थलमा सहकार्य र मर्यादा हुनु हो; समाजमा न्याय र सहअस्तित्व हुनु हो; राष्ट्रमा नागरिकको गरिमा सुरक्षित हुनु हो; र विश्व समुदायमा संवाद, सहयोग तथा पारस्परिक सम्मानको संस्कृति विकास हुनु हो।
हरेक वर्ष २१ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघले सन् १९८१ मा यो दिवस स्थापना गरेको थियो र सन् २००१ मा २१ सेप्टेम्बरलाई अहिंसा तथा युद्धविरामका लागि विशेष दिवसका रूपमा सर्वसम्मतिले तोकेको थियो।
सन् २०२६ को अन्तर्राष्ट्रिय शान्ति दिवसको नाराः “Invest in Peace : For Everyone, Everywhere, Every Day” अर्थात् “सबैका लागि, सबै ठाउँमा, हरेक दिन शान्तिमा लगानी गरौँ।” संयुक्त राष्ट्रसंघले यस वर्ष शान्तिका “everyday architects” दैनिक जीवनमै शान्ति निर्माण गर्ने मानिसहरूलाई विशेष रूपमा सम्झिएको छ। शान्ति, ठूला-ठूलासम्मेलनका सभाहरू मात्र निर्माण हुँदैन; यो घर, विद्यालय, समुदाय र दैनिक व्यवहारबाट निर्माण हुन्छ।
यहीँबाट एउटा महत्वपूर्ण जिज्ञासा जन्मिन्छ:
विश्वशान्ति निर्माणको सबैभन्दा प्रभावकारी र दीर्घकालीन केन्द्र कहाँ हो?
मेरो विचारमा यसको सहि उत्तर हो: विद्यालय।
किनकि आजको विद्यार्थी नै भोलिको परिवारको अभिभावक, शिक्षक, उद्यमी, कर्मचारी, प्रशासक, वैज्ञानिक, पत्रकार, नेता, कूटनीतिज्ञ र विश्व नागरिक बन्नेछ।यदि विद्यालयले बालबालिकालाई केवल परीक्षा पास गर्न सिकायो भने हामी दक्ष जनशक्ति उत्पादन गर्न सक्छौँ। तर यदि विद्यालयले उनीहरूलाई सहृदयता, करुणा, सहिष्णुता, आत्मसंयम, न्याय, जिम्मेवारी र सहअस्तित्व सिकायो भने हामी शान्तिपूर्ण समाज निर्माण गर्ने नागरिक तयार गर्न सक्छौँ।त्यसैले विश्वशान्तिको दीर्घकालीन लगानी हतियारमा भन्दा शिक्षा, संस्कार र चेतनामा हुनुपर्छ।
शान्तिको पहिलो भूगोल : आफ्नै अन्तर्मन:
हामी विश्वमा युद्ध भएको देख्छौँ र शान्तिको कुरा गर्छौँ। तर प्रत्येक भयानक द्वन्द्वको सुरुवात कतै न कतै मानिसको सोच, स्वार्थ, डर, घृणा, अहंकार वा असहिष्णुताबाट भएको हुन्छ। घृणा मनबाट सुरु हुन्छ। भेदभाव सोचबाट सुरु हुन्छ। हिंसा व्यवहारमा देखिनुअघि चेतनामा जन्मिन्छ। र शान्ति पनि त्यहीँबाट सुरु हुन्छ। आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्ने व्यक्तिले एउटा सम्भावित द्वन्द्व रोक्छ। आफ्नो अहंकारलाई नियन्त्रण गर्न सक्ने व्यक्तिले एउटा सम्बन्ध जोगाउँछ। गल्ती स्वीकार गर्न सक्ने व्यक्तिले एउटा विवाद छोट्याउँछ। अर्काको कुरा धैर्यपूर्वक सुन्न सक्ने व्यक्तिले एउटा दूरी घटाउँछ। त्यसैले शान्तिको पहिलो पाठ कुनै अन्तर्राष्ट्रिय सन्धिमा होइन, आफ्नै अन्तर्मनमा पढिन्छ।
आजको डिजिटल युगमा यो झन् महत्वपूर्ण भएको छ। हामी मोबाइलको एउटा स्क्रिनबाट हजारौँ मानिससम्म पुग्न सक्छौँ। एउटा जिम्मेवार शब्दले आशा जगाउन सक्छ; एउटा गलत सूचना, अपमानजनक टिप्पणी वा घृणात्मक अभिव्यक्तिले तनाव बढाउन सक्छ। त्यसैले डिजिटल सचेतना पनि आजको शान्ति शिक्षाको हिस्सा बन्नुपर्छ।
विद्यालय : विश्वशान्तिको पहिलो प्रयोगशाला:
विद्यालयलाई हामी प्रायः निश्चित पाठ्याक्रमिय ज्ञान दिने संस्था भनेर बुझ्छौँ। तर विद्यालय वास्तवमा विश्व समाजको भविष्य निर्माण गर्ने प्रयोगशाला हो। विद्यालयमा बच्चाले गणित मात्र सिक्दैन। उसले अरूसँग मिलेर बस्न सिक्छ।पालो पर्खन सिक्छ। हार स्वीकार्न सिक्छ। जित्दा विनम्र हुन सिक्छ। अर्काको कुरा सुन्न सिक्छ।आफ्नो गल्ती स्वीकार्न सिक्छ। समूहमा काम गर्न सिक्छ। नियम पालना गर्न सिक्छ। फरक पृष्ठभूमिका साथीलाई स्वीकार्न सिक्छ। यिनै सामान्य व्यवहारहरू नै भविष्यको विश्व शान्तिका आधार हुन्। त्यसैले शान्ति शिक्षा छुट्टै एउटा विषय थपेर मात्र सम्भव हुँदैन। शान्ति विद्यालयको समग्र संस्कृतिमा देखिनुपर्छ।
कक्षाकोठाको व्यवहारमा, शिक्षकको बोलीमा, विद्यार्थीको सहभागितामा, खेलकुदमा, अतिरिक्त क्रियाकलापमा, मूल्याङ्कन प्रणालीमा, विद्यालय नेतृत्वमा र समुदायसँगको सम्बन्धमा शान्तिको अभ्यास हुनुपर्छ। त्यसैले संयुक्त राष्ट्रसंघले पनि २०२६ को सन्देशमा विद्यालय र समुदायलाई शान्ति निर्माणका महत्वपूर्ण स्थानका रूपमा प्रस्तुत गरेको छ।
ग्रामीण नेपालको विद्यालय : शान्तिको वास्तविक सुरुवाती बिन्दु:
विश्वशान्तिको चर्चा गर्दा हामी प्रायः न्यूयोर्क, जेनेभा वा ठूला अन्तर्राष्ट्रिय सम्मेलन सम्झन्छौँ। तर नेपालको वास्तविक शान्ति यात्रा कहाँबाट सुरु हुन्छ? सायद डोटीको कुनै गाउँको विद्यालयबाट। सायद दार्चुलाको कुनै कक्षाकोठाबाट। सायद रुकुमको पहाडी बस्तीबाट।सायद सप्तरीको कुनै सामुदायिक विद्यालयबाट। सायद कर्णालीको एउटा ग्रामिण स्थानको सानो विद्यालयबाट। जहाँ एउटै कक्षामा फरक जात, भाषा, आर्थिक अवस्था र पारिवारिक पृष्ठभूमिका बालबालिका सँगै बस्छन । त्यहीँ सहअस्तित्वको पहिलो प्रयोग भइरहेको हुन्छ। ग्रामीण क्षेत्रको विद्यालय केवल पाठ पढाउने ठाउँ होइन; त्यो गाउँको सामाजिक केन्द्र पनि हो।
विद्यालयले एउटा परिवारलाई अर्को परिवारसँग जोड्न सिकाउछ। बालबालिकालाई अभिभावकसँग जोड्न प्रेरित गर्दछ। स्थानीय सरकारलाई समुदायसँग जोड्ने अवसर सृजना गर्दछ।र नयाँ पुस्तालाई पुरानो पुस्ताको अनुभवसँग जोड्ने सुखद संयोग सृजना गर्दछ। त्यसैले ग्रामीण विद्यालयमा शान्ति निर्माणको अर्थ ठूलो बजेटको कार्यक्रम आवश्यक पर्छ भन्ने होईन। सानो थालनिवाट पनि प्रभावकारी काम गर्न सकिन्छ। जस्तै : एउटा Peace Circle बनाउन सकिन्छ।
महिनामा एकपटक विद्यार्थी, शिक्षक, अभिभावक र समुदायका प्रतिनिधि बसेर स्थानीय समस्या र समाधानबारे यसरी संवाद गर्न सक्छन:
“हाम्रो गाउँमा सबैभन्दा ठूलो समस्या के हो?”
“बालबालिकाको विद्यालय छोड्ने कारण के हो?”
“जातीय वा सामाजिक विभेद कहाँ देखिन्छ?”
“हामी कसरी एकअर्कालाई सहयोग गर्न सक्छौँ?”
“प्रकृति र संसंकृतिको संरक्षणमा विद्यार्थीको भूमिका के हुन सक्छ?”
यस्ता प्रश्नबाट सुरु भएको संवाद नै स्थानीय समुदायमा शान्तिको दिगो अभ्यास बन्न सक्छ।
विद्यालयले शान्ति कसरी अभ्यास गर्न सक्छ?
१. कक्षाकोठामा “सुन्ने संस्कार”
शान्ति संवादबाट सुरु हुन्छ। शिक्षकले बोल्ने र विद्यार्थीले सुन्ने मात्र होइन; विद्यार्थीले पनि प्रश्न गर्न, असहमति व्यक्त गर्न र आफ्नो विचार राख्न पाउने वातावरणको सुनिश्चतता हुनु पर्छ।
कसैका विचारमा सहमति नहुन सक्दाः “म असहमत छु, तर म तिमीलाई सम्मान गर्छु।” यो एउटा वाक्यले लोकतन्त्रिक संस्कार, शान्ति र सभ्य संवादको आधार निर्माण गर्दछ।
विद्यार्थीलाई बहस, वक्तृत्व र वादविवाद सिकाउँदा “को जित्यो?” भन्दा पनि “कसरी राम्रोसँग सुन्न सकियो?” भन्ने आशय महत्वपूर्ण हुन सक्छ।
२. विद्यालयमा Peer Mediation
विद्यार्थीबीच सामान्यतय: द्वन्द हुनु अस्वाभाविक होइन।
तर हरेक विवादलाई दण्ड वा सजायावाट समाधान गर्ने संस्कृतिले समस्या समाधान गर्ने भन्दा थप समस्या सृजना पनि गर्न सक्दछ। यस्ता खालको परिस्थितिको सार्थक समाधानको लागि
विद्यालयले प्रशिक्षित विद्यार्थीहरूको Peer Mediation Team बनाउन सक्छ। दुई विद्यार्थीबीच विवाद भयो भने उनीहरूले संवाद गराउने, दुवै पक्षको कुरा सुन्ने, समस्याको पहिचान गर्ने र समाधान खोज्ने अभ्यास गर्न सक्छन्। यसले विद्यार्थीलाई एउटा महत्वपूर्ण जीवन जिउने कला सिकाउँछ। जसले उनिहरूलाई द्वन्द्वबाट भाग्ने होइन, द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्नु पर्छ भन्ने गहिरो सिकाई अनुभुत गराउन सक्छ।
३. “Peace Club” वा शान्ति क्लब
हरेक विद्यालयमा विद्यार्थीको नेतृत्वमा Peace and Harmony Club बनाउन सकिन्छ।
यसले:
●शान्ति संवाद,
●सहपाठी सहयोग,
●वुलिंग विरुद्ध अभियान,
●डिजिटल शिष्टाचार,
●जातीय तथा लैङ्गिक विभेदविरुद्ध सचेतना,
●वृक्षारोपण,
●समुदाय सेवा,
●वृद्ध तथा असहाय व्यक्तिलाई सहयोग,
●स्थानीय संस्कृति संरक्षण,
●अन्तरविद्यालयीय शान्ति संवाद जस्ता कार्यक्रम सञ्चालन गर्न सक्छ।
यसरी विद्यार्थी शान्तिको “विषय पढ्ने” मात्रै होइन, शान्तिका स्वयंसेवक र अभ्यासकर्ता बन्न सक्छन्।
४.खेलकुदबाट शान्ति सिकाउने
खेलकुद शान्ति शिक्षाको अत्यन्त प्रभावकारी माध्यम हो।
खेलले बच्चालाई धेरै कुरा सिकाउँछ छ। जस्तैः
नियम मान्नुपर्छ। प्रतिस्पर्धा गर्नुपर्छ।
हार स्वीकार्नुपर्छ। जित्दा सम्मान गर्नुपर्छ।
साथीसँग सहकार्य गर्नुपर्छ।समूह गतिशिलताको महत्व छ।
त्यसैले विद्यालयमा आयोजना हुने खेलकुद कार्यक्रमको मूल्याङ्कन केवल विजेता घोषणा गरेर समाप्त हुनु हुँदैन। Fair Play Award, Team Spirit Award, Best Supporter, Respect Award जस्ता सम्मानले खेलको माध्यमबाट शान्ति र चरित्र निर्माणको प्रेरणा जागृत गर्न सकिन्छ।
एक छिन कल्पना गरौँ: कर्णालीको एउटा विद्यालयमा विद्यार्थीले शान्ति क्लब बनाउँछन्। वुटवलको एउटा विद्यालयले विविधतामा सहअस्तित्वको परियोजना चलाउँछ। डोटीको एउटा विद्यालयले स्थानीय वृद्धहरूको जीवनकथा संकलन गर्छ। धनगढीको एउटा विद्यालयले विद्यार्थीलाई डिजिटल शिष्टाचार र संवाद सिकाउँछ। काठमाडौँको विद्यालयले विभिन्न विद्यालयबीच शान्ति संवाद आयोजना गर्छ।
लुम्बिनीका विद्यालयले विश्वका विद्यार्थीहरूसँग बुद्ध र शान्तिबारे संवाद गर्छन्। यी सबै परियोजना जोडिए भने एउटा राष्ट्रिय School Peace Network बन्न सक्छ। त्यसपछि नेपालले विश्वका विद्यालयहरूसँग डिजिटल माध्यमबाट जोडिएर “From Nepal to the World: Students for Peace” जस्तो अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्न सकिन्छ।
भारत, अमेरिका, जापान, फिनल्यान्ड, सिंगापुर, भुटान, दक्षिण अफ्रिका, युरोप र अन्य देशका विद्यार्थीबीच संवाद हुन सक्छ। विद्यार्थीहरूले एउटै प्रश्नमा आफ्ना अनुभव बाँड्न सक्छन्।“मेरो विद्यालयले मेरो समुदायलाई कसरी शान्त बनाउन सक्छ?” यहीँबाट विश्वनागरिकताको नयाँ अध्याय सुरु हुन सक्छ।
शान्तिमा लगानी भनेको के?
संयुक्त राष्ट्रसंघले २०२६ को सन्देशमा “शान्तिमा लगानी” गर्न आह्वान गरेको छ। यसको अर्थ केवल शान्ति सम्मेलनका लागि पैसा खर्च गर्नु होइन; शिक्षा, स्वास्थ्य, पोषण, सामाजिक सुरक्षा, मानवअधिकार, विश्वासयोग्य संस्था र दिगो विकासमा लगानी गर्नु पनि शान्तिमा लगानी हो।
नेपालको सन्दर्भमा यसको सरल अर्थ हुन सक्छ:
एउटा सुरक्षित विद्यालयमा लगानी = शान्तिमा लगानी।
एउटा सक्षम शिक्षकमा लगानी = शान्तिमा लगानी।
एउटा छोरीलाई गुणस्तरीय शिक्षा दिनु = शान्तिमा लगानी।
एउटा ग्रामीण विद्यालयलाई प्रविधिसँग जोड्नु = शान्तिमा लगानी।
एउटा विद्यार्थीलाई संवाद गर्न सिकाउनु = शान्तिमा लगानी।
एउटा बालबालिकालाई हिंसाबाट सुरक्षित राख्नु = शान्तिमा लगानी।
एउटा वृक्ष रोप्नु र प्रकृति संरक्षण गर्नु = भविष्यको शान्तिमा लगानी।
अब विद्यालयको नयाँ परिभाषा आवश्यक छ हामीले विद्यालयलाई केवल:
विद्यालय = परीक्षा + प्रमाणपत्र + रोजगारी का रूपमा बुझ्ने दृष्टिकोणलाई विस्तार गर्नुपर्छ।
अब विद्यालय = ज्ञान + संस्कार + सीप + चेतना + सहअस्तित्व + सेवा + शान्ति। विद्यार्थीले विज्ञान पढोस्, तर विज्ञानको प्रयोग मानव कल्याणका लागि होस्। प्रविधि सिकून्, तर प्रविधिको जिम्मेवार प्रयोग पनि सिकून्। प्रतिस्पर्धा गरून्, तर प्रतिस्पर्धामा मानवीयता नहराओस्। नेतृत्व सिकून्, तर नेतृत्वमा सेवा र उत्तरदायित्व जोडियोस्। सफल बनून्, तर आफ्नो सफलतालाई समाजसँग बाँड्न सिकून्। यही शिक्षा अन्ततः शान्तिको शिक्षा हो।
एउटा व्यावहारिक “School for Peace” कार्ययोजना:
नेपालका विद्यालयहरूले आगामी दिनदेखि नै सरल रूपमा निम्न कार्यक्रम लागू गर्न सक्छन्
१.प्रत्येक विद्यालयमा Peace Corner
शान्ति, करुणा, सहअस्तित्व, बुद्ध, विश्वबन्धुत्व र मानवअधिकारका सन्देशसहितको सिकाइ क्षेत्र।
२.प्रत्येक कक्षामा साप्ताहिक Peace Circle
१०–१५ मिनेट विद्यार्थीले आफ्ना भावना, समस्या र समाधानबारे संवाद गर्ने।
३.विद्यार्थी Peer Mediation Team
विद्यार्थीबीचका सामान्य विवादलाई संवादबाट समाधान गर्ने अभ्यास।
४.Peace & Service Club
समुदाय सेवा, वृक्षारोपण, वृद्ध सहयोग, सरसफाइ र सामाजिक सद्भावका कार्यक्रम।
५.Digital Peace Campaign
घृणा, अफवाह, cyberbullying र misinformation विरुद्ध डिजिटल नागरिकता शिक्षा।
६.शिक्षक Peace Leadership Training
भावनात्मक व्यवस्थापन, संवाद, restorative practice र बाल संरक्षणसम्बन्धी प्रशिक्षण।
७.परिवार-विद्यालय शान्ति संवाद
हरेक त्रैमासिकमा अभिभावक र विद्यार्थीबीच “परिवारमा संवाद र सम्मान” विषयमा कार्यक्रम।
८.स्थानीय शान्ति परियोजना
हरेक विद्यालयले आफ्नो गाउँ वा समुदायको एउटा वास्तविक समस्या पहिचान गरेर समाधानको परियोजना सञ्चालन गर्ने।
९.अन्तरविद्यालयीय Peace Dialogue
विभिन्न विद्यालयका विद्यार्थीबीच संवाद, बहस र सांस्कृतिक आदानप्रदान।
१०.वार्षिक Peace Impact Report
विद्यालयले वर्षभरिमा कति विद्यार्थीले सेवा गरे, कति विवाद संवादबाट समाधान भए, कति समुदाय परियोजना सञ्चालन भए, कति परिवार सहभागी भए भन्ने तथ्याङ्क राख्ने।
यसरी शान्ति नारा होइन, मापन गर्न सकिने जिवन्त शैक्षिक अभ्यास बन्न सक्छ।
अन्ततः प्रश्न हामीसँगै छ हामीले आफ्ना सन्तानलाई कस्तो संसार दिने? अझ धेरै प्रविधि भएको संसार? अझ ठूलो अर्थतन्त्र भएको संसार? अझ शक्तिशाली राष्ट्र भएको संसार? यी सबै आवश्यक छन्। तर त्यससँगै हामीले उनीहरूलाई बस्न योग्य, सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण संसार पनि दिनुपर्छ। त्यसका लागि विद्यालयलाई बदल्नुपर्छ। किनकि आजको विद्यालयमा बसिरहेको एउटा बच्चा नै भोलिको समाज हो।
आज उसले साथीलाई कसरी व्यवहार गर्छ, भोलि उसले सहकर्मीलाई त्यसरी नै व्यवहार गर्नेछ।
आज उसले असहमतिलाई कसरी लिन्छ, भोलि उसले समाजको मतभिन्नतालाई त्यसरी नै लिनेछ।
आज उसले कमजोर साथीलाई सहयोग गर्छ कि हेप्छ । भोलि उसले शक्तिको प्रयोग कसरी गर्छ भन्ने कुरामा त्यसको प्रभाव पर्न सक्छ। त्यसैले शान्तिपूर्ण विश्व निर्माणको सबैभन्दा दीर्घकालीन रणनीति शान्तिपूर्ण नागरिक निर्माण गर्नु हो। र शान्तिपूर्ण नागरिक निर्माण गर्ने सबैभन्दा प्रभावकारी संस्था विद्यालय हो।
निष्कर्ष : शान्तिको यात्रा मबाट, परिवर्तन विद्यालयबाट:
२१ सेप्टेम्बर विश्व शान्ति दिवस केवल युद्धरत राष्ट्रहरूलाई युद्ध रोक्न आग्रह गर्ने दिन होइन। यो आफ्नै जीवनतर्फ फर्केर हेर्ने दिन पनि हो। आज हामी आफैँलाई एउटा प्रश्न गरौँ: “मेरो कारणले आज संसारमा शान्ति बढ्यो कि अशान्ति?”
यस प्रश्नको उत्तर हाम्रो व्यवहारमा खोजौँ। एक मधुर शब्द शान्तिमा लगानी हो। एक क्षमाशील व्यवहार शान्तिमा लगानी हो।एक सत्य सूचना शान्तिमा लगानी हो। एक सहयोगी हात शान्तिमा लगानी हो। एक बालबालिकालाई सुरक्षित वातावरण दिनु शान्तिमा लगानी हो। एउटा ग्रामीण विद्यालयलाई गुणस्तरीय शिक्षा दिनु शान्तिमा लगानी हो। एउटा शिक्षकलाई शान्ति निर्माणको क्षमता दिनु शान्तिमा लगानी हो।
एउटा विद्यार्थीलाई संवाद, करुणा र सहअस्तित्व सिकाउनु शान्तिमा लगानी हो। र बुद्धको जन्मभूमि नेपालबाट संसारलाई शान्तिको सन्देश दिनु हाम्रो साझा सांस्कृतिक जिम्मेवारी हो। हामी भाग्यमानी छौँ: हाम्रो भूगोलमा सगरमाथा छ।हामी गौरवान्वित छौँ: हाम्रो भूमिमा लुम्बिनी छ।
तर हाम्रो सबैभन्दा ठूलो गौरव त्यतिबेला हुनेछ, जब हाम्रो शिक्षा, हाम्रो व्यवहार र हाम्रो सामाजिक संस्कारले पनि शान्तिको उचाइ निर्माण गरोस्।नेपालले संसारलाई केवल हिमालको उचाइ होइन, चेतनाको उचाइ पनि देखाउन सकोस्। विद्यालयहरूले केवल परीक्षामा सफल विद्यार्थी होइन, मानवतामा सफल नागरिक उत्पादन गरून्। ग्रामीण नेपालको एउटा सानो विद्यालयमा बालिएको शान्तिको दीप गाउँ हुँदै शहरमा पुगोस, नेपाल हुँदै विश्वमा फैलियोस्। त्यस दिन विश्व शान्ति दिवस केवल पात्रोको एउटा दिवस रहने छैन; यो हाम्रो जीवनको संस्कार बन्नेछ।
शान्ति राष्ट्रबाट मात्र सुरु हुँदैन।
शान्ति समाजबाट मात्र सुरु हुँदैन।
शान्ति परिवारबाट मात्र सुरु हुँदैन।
शान्ति मबाट सुरु हुन्छ। र विश्वशान्तिको दीर्घकालीन यात्रा विद्यालयबाट सुरु हुन्छ।
आजको हाम्रो स्वसंकल्प: मनमा शान्ति, व्यवहारमा करुणा,
सम्बन्धमा सम्मान, विद्यालयमा सहअस्तित्व, समाजमा सेवा,
र विश्वमा मानवताको विजय।
बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई एउटा सन्देश दिऔँ:
“शान्ति बाहिर होइन, आफ्नै चेतनामा शान्तिको दीप बालौँ।
विद्यालयबाट शान्तिको संस्कार सुरु गरौँ, र नयाँ पुस्ताबाट शान्तिपूर्ण विश्व निर्माण गरौँ।
२१ सेप्टेम्बर; विश्व शान्ति दिवसको हार्दिक शुभकामना।
सर्वेभवन्तु सुखिन: