काठमाडौँ– देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ५,२३८ जनामा डेंगु सङ्क्रमण देखिएको हो।
२०८२ पुस १७ देखि २०८३ भाद्र ३० गते (जनवरी १ देखि सेप्टेम्बर १५, २०२६) सम्मको पाक्षिक विश्लेषण अनुसार देशका ७४ जिल्लाबाट यो सङ्ख्यामा डेंगु सङ्क्रमण तथ्याङ्क सार्वजनिक भएको हो।
महाशाखाले हाल विशेष गरी वर्षा र वर्षापछिको समयमा डेंगु सङ्क्रमण थप बढ्न सक्ने चेतावनी दिँदै निरन्तर अवस्थाको विश्लेषण, रोकथाम तथा नियन्त्रणका सुझाव जारी गरिरहेको छ।
देशका विभिन्न भागमा सङ्क्रमण देखिए पनि झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लाहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। स्थानीय तहको तथ्याङ्क हेर्दा बागलुङ नगरपालिकामा सबैभन्दा बढी १,०१७ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसैगरी पोखरा महानगरपालिकामा १८५ जना, इटहरी नगरपालिकामा ११९ जना र भद्रपुर नगरपालिकामा १०७ जना डेंगु रोगी भेटिएका छन्।
सङ्क्रमण बढी देखिएका क्षेत्रहरूमा नियन्त्रणका क्रियाकलापहरू तीव्र पारिएको छ। खास गरी अति प्रभावित बागलुङ नगरपालिकामा महाशाखाबाट किटविज्ञ (इन्टिमोलोजिस्ट्), रोग अनुसन्धान विज्ञ ९फिल्ड इपिडेमियोलोजिस्ट० र प्रयोगशाला कर्मीहरूको टोली परिचालन गरी विशेष निगरानी तथा खोज–अनुसन्धान भइरहेको छ।